सामाजिक संरक्षण र किसान अधिकारका लागि विश्व सामाजिक मञ्च : ओम थपलिया [भिडिओसहित]

हिमाल प्रेस १५ माघ २०८० १७:०२
342
SHARES
सामाजिक संरक्षण र किसान अधिकारका लागि विश्व सामाजिक मञ्च  : ओम थपलिया [भिडिओसहित]

आगामी फागुन ३ देखि ७ गतेसम्म काठमाडौँमा विश्व सामाजिक मञ्च आयोजना हुँदैछ। विश्व सामाजिक मञ्चको इतिहासमा यो १६ औँ शृंखला हो। मञ्चमा विश्वभरिबाट करिब ५० हजार सहभागिता हुनेछ। तीमध्येबाट झन्डै १५ सयभन्दा बढी संघसंस्थाहरू सहभागी भई विभिन्न दुई सयभन्दा बढी ससाना सत्रहरू सञ्चालन हुनेछन्। साथै हामी करिब ५० वटाजति ठूलाठूला फोरमहरू आयोजना गर्ने तयारीमा छौँ। विश्व शान्ति मञ्चको आयोजक समिति र अन्तर्राष्ट्रिय आयोजक समितिले यसका विभिन्न मूल मुद्दामध्ये १३ वटा मुद्दालाई छाताका रूपमा लिएको छ।

विश्व सामाजिक मञ्च कसका लागि भन्ने प्रश्न आउन सक्छ। यो विश्वमा मान्छे भएर बाँचिरहँदा उसले मानव अधिकार पाएको छैन। उसले पेटभरि खान पाएको छैन। उसले मान्छे भएर सुरक्षित रूपमा बाँच्न पाएको छैन। उसको आवाज सुनिएको छैन। ऊमाथि शोषण भएको छ। ऊमाथि हिंसा भएको छ। यस्तो अवस्थामा मान्छेले यस्तो महसुस गरिरहेको छ कि यो विश्वमा मेरा लागि कुनै ठाउँ छैन। ती मान्छेहरूले विभिन्न माध्यमबाट, विभिन्न प्रस्तुतिबाट र विभिन्न अभिव्यक्तिबाट मलाई अर्को विश्व चाहियो भनेर माग गरिरहेका छन्। यस्तो अवस्थामा यो विश्व सामाजिक मञ्चको मूल मुद्दा भनेको अर्को विश्व सम्भव छ भन्नु हो।

अर्को विश्वको परिकल्पना किन गरियो त? जहाँ मानिसबीच अब भेदभाव हुने छैन। जातीय भेदभाव हुने छैन। लैंगिक हिंसा हुने छैन, धनी र गरिबबीचको खाडल निमिट्यान्न भई उसले मान्छे भएर बाँच्न पाउनेछ। उसले आफ्ना आवाज राख्न पाउनेछ। मञ्चमा यिनै विषयमा भन्ने विषयमा केन्द्रित हुनेछ।

मानिसले जलवायु परिवर्तनका मुद्दाहरूमा, श्रमिकका मुद्दाहरूमा र पुँजीवादविरुद्ध आवाज उठाउन सक्ने ठाउँ खोजिरहेको छ। खासगरी अहिले पुँजीवाद बलियो भएर आइरहेको छ। पुँजीवादले मान्छेलाई पुँजी संकलन गर्ने साधन र यन्त्रका रूपमा प्रयोग गरिरहेको छ। मान्छेको भावना, मान्छेको अधिकार, मान्छेको अभिव्यक्ति गर्ने स्वतन्त्रताहरू खुम्चिएर गएका छन्।

त्यसैले अर्को विश्व सम्भव छ भन्ने नाराका साथ आन्दोलनहरूको पनि आन्दोलन र अभियानहरूको पनि अभियान नेपालमा आयोजना हुँदैछ। यसभित्रका १३ वटा मुद्दामध्ये दुई वटाबारे म अलिक स्पष्ट पार्दछु।

पहिलो कुरा हो, सामाजिक संरक्षण, एउटा बालक वा बालिकाले आमाको पेटमा आएको बेलादेखि मृत्युसम्म विभिन्न अधिकार पूरा हुनुपर्छ। उसले संविधानले दिएको सामाजिक संरक्षणको अधिकार पाउनुपर्छ। विश्वभर मौलिक हकका रूपमा घोषणा गरिएका प्रतिबद्धताहरू जस्तै- गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायतका अधिकार, स्वतन्त्र भई बाँच्न पाउने अधिकार, सिप र रोजगारीमा संलग्न हुन पाउने अधिकार निःसर्त रूपमा पाउनुपर्छ। ती अधिकारहरू अहिले खुम्चिँदै गएका छन्। धनीले मात्रै सेवासुविधा पाउने र गरिबले वञ्चित हुनुपर्ने अवस्था छ। यसै भएर सामाजिक संरक्षणको विशेष मुद्दा विश्व सामाजिक मञ्चमा उठ्नेछ।

अर्को कुरा, खाद्य सुरक्षाको विषय छ। बाँच्नका लागि खान पाउने अधिकार हाम्रो मौलिक हक हो भने खाद्य सुरक्षा कहाँबाट सुरक्षित हुन्छ? किसानले खेती गर्न छाडेको दिनमा अवस्था के हुन्छ होला? किसानले आफूलाई चाहिने मात्रै उत्पादन गर्‍यो भने बाँकी मान्छेले के खाला? हामी सबैका माझमा यस्तो गम्भीर प्रश्न आएको छ। नेपालमा कृषि पेसा धराशयी बन्दै गएको छ। किसानहरू कृषि पेसाबाट अन्यत्र गइरहेका छन्। विदेशीले अन्न र खाद्य पदार्थ नपठाएको खण्डमा हामी भोकै हुने अवस्थामा छौँ। यो अवस्था रोक्नका लागि कृषि कर्मको जागरण ल्याउनुपर्ने आवश्यकता छ।

किसानहरूको भावना, किसानहरूको अधिकार, किसानहरूको सुरक्षा, किसानहरूका लागि प्रवर्धनका कार्यक्रम ल्याउन आवश्यक छ। यस्तो खतरा बढ्दै गएको छ कि हामीले हाम्रा किसानलाई व्यावसायिक रूपमा प्रवर्धन गर्न सकेनौँ भने अबका दिनमा कृषि पेसा पूरै पुँजीपतिको हातमा गएर हाम्रा स्वरोजगार किसानहरू आफ्नो कृषि पेसाका मालिकहरू कृषि श्रमिकमा परिणत हुन बेर लाग्दैन।

जलवायु परिवर्तनको सबैभन्दा मारमा किसान परेका छन्। यसबाट किसानहरूलाई कसरी जोगाउने, कृषि पेसामा देखापरेको जोखिमलाई कसरी निराकरण गर्ने भन्ने समस्या बढ्दै छ। नेपालले जलवायु परिवर्तनसँग सम्बन्धित अधिकारहरू अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेको छ। हामी विश्व सामाजिक मञ्चमा त्यसलाई कसरी मलजल गर्ने, साथ दिने र ऐक्यबद्धता जनाउने भन्ने कुरामा आवाज उठानेछौँ।

संसारभरबाट सहभागी हुन आउने किसानहरू, अनौपचारिक क्षेत्रका श्रमिकहरू र विभिन्न विधामा काम गर्ने श्रमिकहरू, यस क्षेत्रमा लागेका अभियन्ताहरू सबैमाझ हामीले के आवाज उठाउँदैछौँ भने हामी ऐक्यबद्ध भएर विश्व सामाजिक मञ्चको माध्यमबाट अर्को विश्व सम्भव छ, जुन विश्वमा हिंसा हुने छैन, जुन विश्वमा धनीले गरिबलाई अन्याय गर्ने छैन, शोषण गर्ने छैन। जुन विश्वमा आधुनिक दासता रहनेछैन, जुन विश्वमा सबै मानिसले न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नेछन्। जुन विश्वमा मान्छेले मान्छे भएर बाँच्न पाउने परिवेश हुनेछ। यिनै उद्देश्यका साथ हामी विश्व सामाजिक मञ्च सफल पार्न लागिपरेका छौँ।

[होमनेट नेपालका कार्यकारी निर्देशक थपलिया विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिका सदस्य हुन्।]

वैकल्पिक विश्व खोजीको एउटा प्रयास, विश्व सामाजिक मञ्च : डा. नेत्र तिमिल्सिना [भिडिओसहित]

प्रकाशित: १५ माघ २०८० १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =