जल्दाजल्दैको शव बगाएपछि…

हिमाल प्रेस १३ माघ २०८० २२:२७
42
SHARES
जल्दाजल्दैको शव बगाएपछि… लिखु ‘२’ जलविद्युत् आयोजना।

सल्लेरी (सोलुखुम्बु)- लिखु ‘२’ जलविद्युत् आयोजनाको विद्युत् मेसिन एक्कासि बन्द भएर खोलामा पानीको बहाव बढ्दा जलाउँदै गरेको शव बगाएको छ।

सोलुखुम्बु र रामेछापको सिमानामा पर्ने उक्त आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ नै फर्किदा शनिबार लिखु खोलामा जलाउँदै गरेको रामेछापको उमाकुण्ड गाउँपालिका-१ का ३२ वर्षीय झपडबहादुर थापाको शव बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शनिबार साँझ आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासि रोकिएर पानी खोलातर्फ नै फर्किँदा खोलामा जलाउँदै गरेको शव बगाएको हो।
उनले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार मेसिन ट्रिप खाएर, बाँधको पानी खोलातर्फ फर्किँदा खोलामा जलाउँदै गरेको शव बगाएर बेपत्ता भएको रहेछ। यस विषयमा हामी अनुसन्धान गर्दैछौँ।’ उनले घटनास्थल टाढा भएकाले जिल्लाबाट खटिएका प्रहरी पुग्न बाँकी रहेको बताए। सोलुको किन्जा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

आधा जलिसकेको शव खोलाले बगाएर बेपत्ता बनाएको छ भने मलामीले भागेर ज्यान जोगाएको लिखुपिकेका राजेन्द्र बस्नेतले बताए। उनले भने, ‘यो आयोजनाको लापरबाही हो, मलामी गएका केही मानिस पनि सम्पर्कमा आएका छैनन्, यो विषयमा हामी जानकारी लिँदैछौँ।’ घटनास्थल रामेछापमा पर्ने भए पनि सोलुखुम्बुको सिमाना भएकाले प्रहरी चौकी किन्जाबाट प्रहरी टोली खटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
आयोजनाका सम्पर्क अधिकृत दीपक नेपालका अनुसार विद्युत् मेसिन एक्कासि बन्द भएर बाँधतर्फको पानी खोलामा नै फर्किदा उक्त घटना भएको हो। कुल ५५ मेगावाट क्षमताको सो आयोजनाले अहिले पानी पर्याप्त नहुँदा आठ मेगावाट मात्रै विद्युत् उत्पादन गर्दै आएको उनको भनाइ छ।

एमभी दुगडद्वारा प्रवर्द्धित उक्त आयोजना ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेडले निर्माण गरेको हो। रासस

प्रकाशित: १३ माघ २०८० २२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =