समुदायमा कांग्रेस अभियान : आसनग्रहण र भाषणमा प्रतिबन्ध, श्रम वा सामाजिक कार्यमा अनिवार्य सहभागी हुनुपर्ने

हिमाल प्रेस १२ माघ २०८० १५:१०
8
SHARES
समुदायमा कांग्रेस अभियान : आसनग्रहण र भाषणमा प्रतिबन्ध, श्रम वा सामाजिक कार्यमा अनिवार्य सहभागी हुनुपर्ने कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले शनिबारबाट सुरु हुने ‘समुदायमा कांग्रेस’ अभियानको तयारी पुरा भएको जनाएको छ। कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अभियानअन्तर्गत देशभरका ६ हजार ७४३ वडासम्म पुग्ने नेताहरूले जनताको कुरा सुनेर सोहीअनुसार पार्टीको आगामी कार्यक्रम तथा नीति तय गरिनेछ।

यो अभियानमा सहभागी हुन पुगेका प्रतिनिधिलाई औपचारिक रुपमा आसनग्रहण र भाषण गर्न बन्देज लगाइएको छ।

उनले भने, ‘यहाँ नेताले भाषण गर्ने काम हुँदैन। नेताको भाषण धेरै सुनिसकेका जनताको कुरा सुन्ने र सोही कुरालाई कार्यान्वयनमा लैजान कसरी सकिन्छ भन्ने रणनीति तय गर्न अभियान सुरु गरिएको हो।’

पार्टीले अभियानका लागि केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा वडा प्रतिनिधिबाहेक केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरूलाई आफू क्रियाशील सदस्य रहेको वडामा अनिवार्य पुग्न भनिएको छ।

‘अभियानमा वडा तहसम्म पुगेका प्रतिनिधिहरूले वडामा कुनै श्रम वा सामाजिक कार्यमा सहभागी अनिवार्य हुनुपर्नेछ,’ मुख्यसचिव पौडेलले भने।’

शनिबारदेखि सुरु हुने अभियानको पहिलोचरणको औपचारिक सुरुवातका लागि माघ १६ गते सहिद दिवसको दिन कांग्रेसले विशेष कार्यक्रम गर्दैछ। उक्त अभियानको पहिलोचरणको समापन भने माघ २६ गते सुशील कोइराला स्मृति दिवसको दिन हुनेछ।

अभियानअन्तर्गत वडामा पुगेर कांग्रेसले जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने पौडेलको भनाइ छ।

अभियानका लागि खटाइएका प्रतिनिधिहरू माघ १५ गतेसम्म सबै वडामा पुग्नेछन्।

प्रकाशित: १२ माघ २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =