कवि बर्तौलाको ‘भ्रमित सत्य’भित्रको सत्य

हिमाल प्रेस ६ माघ २०८० ८:५६
78
SHARES
कवि बर्तौलाको ‘भ्रमित सत्य’भित्रको सत्य

काठमाडौँ- लामो समय कूटनीतिक सेवामा बिताएका राजाराम बर्तौला अचेल देशभित्रका विभिन्न ठाउँको यात्रामा रमाउन थालेका छन्। कहिलेकाहीँ राजनीतिक गतिविधिमा पनि देखापर्ने बर्तौलाको रुचिको विषयचाहिँ लेखन बनेको छ।

विगत दुई वर्षभित्र उनले लेखेका यात्रा निबन्धले पनि यही स्पष्ट हुन्छ। ती नियात्राले चाँडै नै ग्रन्थको रूपमा लिने निश्चित छ। त्यसो त बर्तौला यात्रा निबन्धको संग्रह ‘मेरा पाइला’ र लघु निबन्ध संग्रह ‘अल्छी ढुंगो’ प्रकाशित गरेर निबन्धकार/नियात्राका रूपमा पहिचान बनाइसकेका व्यक्तित्व हुन्।

साहित्यकार राजाराम बर्तौलाको तेस्रो कृति ‘भ्रमित सत्य’ बजारमा आएको छ। ‘भ्रमित सत्य’ प्रकाशन भएपछि उनको पहिचानमा काव्य व्यक्तित्व थपिएको छ। काव्यकृतिको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार तुलसी भट्टराई, प्राध्यापक सुरेन्द्र केसी र कवि स्वयंले विमोचन गरे।

‘भ्रमित सत्य’मा ५३ वटा कविता संकलित छन्। यसमा संकलित ‘इमान’, ‘स्वतन्त्रता’, ‘शूलेमान’, ‘हिमाल’, ‘सिउडी रहेछ जिन्दगी’, चारहरफे कविता र ‘महँगी’, ‘राजनीति’, ‘जागिर’ जस्ता मुक्तकका माध्यमबाट बर्तौलाले आफ्ना भावनालाई लघुत्तम कवितामार्फत व्यक्त गरेका छन्। ‘हात्ती आयो हात्ती आयो फुस्सा’, ‘हठ’, ‘तिमी कहाँको’ जस्ता कविता संरचनागत आयामका दृष्टिले केही लामा छन्।

बर्तौलाका कविताका विषयगत आयाम राजनीति, सामाजिक विकृति, निराशा, मायाप्रेम, देशप्रेम, प्रकृतिप्रेम, नीति चेतना, कर्तव्यबोध, ईश्वरभक्ति, विश्व परिवश हुन्। केही कविताहरू वेदान्त दर्शनबाट प्रभावित छन्।

अद्वैत वेदान्तले भन्छ, ‘ब्रह्म सत्य हो, जगत् मिथ्या हो।’ यसको आशय मिथ्या वा भ्रमले पर्दा ढाकेका कारण हामी सत्यमा पुग्न सकेका छैनौँ भन्ने हो। संग्रहका ‘कहाँ बस्छन् राम?’, ‘समय’, ‘भ्रमित सत्य’ जस्ता कविताले कविको वेदान्त दर्शनप्रतिको झुकावलाई देखाएको छ। सत्यको खोजी गर्दागर्दै भ्रममा जीवन गुजार्नुपर्ने मानवीय चरित्रलाई आधार बनाएर लेखिएका यी कविता अध्यात्म चेतनाबाट निर्देशित छन्।

‘मान्छेको भाउ’, ‘बुलबुल चरी’ जस्ता कविताले नेपाली समाजबाट मानवता हराएको सन्दर्भलाई अभिव्यक्त गरेका छन्। ‘कुर्सी’, ‘सर्वसत्तावाद’, ‘सहरमा आज’, ‘कुराले चिउरा भिज्दैन’, ‘हठ’, ‘जुन जोगी आए पनि कानै चिरेका’, ‘हात्ती आयो हात्ती आयो फुस्सा’, ‘कार्यकर्ता’ जस्ता कविताले वर्तमान राजनीतिक नेतृत्वमा रहेको सत्तामोह, नातावाद, भ्रष्टाचार र गैरजिम्मेवार चरित्रलाई स्पष्ट पारेका छन्।

कुनैकुनै कविताको शीर्षक उस्तै छन्। यस्ता कविता कुनैमा समान विषय छन् भने कुनैमा भिन्नभिन्न विषयलाई लयात्मक रूप दिएर कविले आफ्नो कौशल प्रस्तुत गरेका छन्।

विमोचन समारोहमा सम्बोधन गर्दै साहित्यकार तुलसी भट्टराईले बर्तौलाका कविता पढ्दा सत्यबाट भ्रमित भएको आभास हुने बताए। उनले भने, ‘हामीले यहाँ वस्दा आफ्नो पहिचान थाहा पाउँदैनौँ। बरु ससना पहिचानका टुक्राहरूमा कुस्ती खेलिरहेका हुन्छौँ। बाहिर गएपछि सबैथोक हराएर नेपालीपन मात्रै बाँकी रहन्छ।’

भट्टराईले बर्तौलाका कवितामा नेपालीको पहिचान खोजिएको बताए। कवितासंग्रहमा चयन भएका शब्दहरू दर्शन र अध्यात्मसँग सम्बन्धित रहेको भनाइ भट्टराईको छ। मानिस सत्य भए पनि उसको व्यवहार भ्रमपूर्ण रहेको सन्दर्भ जोडेर कवितामा नयाँ प्रयोग गरिएको उनले बताए।

अर्का वक्ता प्राध्यापक केसीले विगतमा कविता पढ्दा नैतिकताको पाठ र सामाजिक अवस्थाको विस्तृत चित्रण हुने गरे पनि पछिल्ला कवितामा त्यस्तो भाव कमैमात्रै पाइने बताए।

कवि बर्तौलाले आफूलाई लागेका अभिव्यक्तिलाई लयात्मक रूपमा लेख्दै जाँदा कविताको रूप लिएको र संग्रहको जन्म भएको बताए। उनले भने, ‘भावनामा बगेर लेखिएका सिर्जना हुन् मेरा।’ यसको मूल्यांकन गर्ने जिम्मेवारी पाठकको काँधमा आएको भनाइ उनले राखे।

पुस्तक प्राज्ञिक बुक्स, बागबजारले प्रकाशन गरेको हो।

प्रकाशित: ६ माघ २०८० ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =