बालकोटको बार्दली र झापाको झ्याल

राजाराम बर्तौला १६ वैशाख २०८० १९:३२
108
SHARES
बालकोटको बार्दली र झापाको झ्याल

कन्यामको चिया बगानलाई पछाडि छोडेर हामी चुरेको फेदीमा आइपुग्यौँ। त्यहाँ अर्को ठूलो चिया बगानले स्वागत गर्‍यो। एकातिर पूर्वराजाको र अर्कोतिर सरकारी चिया कम्पनीको। झापाको रैथाने भएको हुँदा ऋतु सरलाई यो बगानको विषयमा धेरथोर ज्ञान रहेछ।

सरकारी स्वामित्वको जमिनमा लगाएको सयौँ बिघा जमिनको यो चिया बगान कुनै निजी कम्पनीलाई सिद्राको भाउमा दिएर निजीकरण गरिएको छ रे! कबुल गरिएको रकम पनि सरकारी ढुकुटीमा आउन सकेको छैन रे! नेपालमा सरकारी सम्पत्तिको अवस्था र लुटतन्त्र देखेर दुःख लाग्यो।

झापा पुगेपछि कचनाकलन नहेरी के फर्कनु भनेर हामी भद्रपुरतर्फ लाग्यौँ। कचनाकलन, जहाँ श्रीकृष्णले किच्चकको वध गरेका थिए। यो ठाउँ धार्मिक मिथकले भन्दा पनि नेपालको सबैभन्दा कम उचाइमा रहेको ठाउँ भनेर दर्ज भएको छ। समुद्री सतहबाट ६८ मिटर उचाइमा छ। हामी ३७९४ मिटर उचाइबाट झरेर ६८ मिटर उचाइको स्थानतर्फ यात्रा गर्दै थियौँ।
जीवन मान्छेले सोचेजस्तो, भनेजस्तो कहाँ हुन्छ र? यात्रामा पनि हामीले सोचजस्तो, भनेजस्तो भएन। यति लामो यात्रामा साथ दिँदै आएको बोलेरोले यहाँ आएर लत्तो छाड्यो। त्यसको चक्काले गुड्न मानेन। चारआली पनि छोडेर निकै भित्र आइसकेका थियौँ। गाडी मर्मत गर्ने वर्कसप कतै देखिएन। मोटरसाइकल मर्मत गर्ने वर्कसप देखिए तर ठूलो गाडी मर्मत गर्ने वर्कसप भेटाएनौँ। फर्कनु र अगाडि बढ्नुको दोमनमा क्षेत्रीय अस्पतालको अगाडि पुग्यौँ। संयोगले त्यहाँ एउटा गाडी मर्मत गर्ने ठाउँ रहेछ।
गाडी मर्मतमा तीन घण्टा बित्यो। चक्का फिटफाट गरेर हिँड्दा कम्ता खुसी लागेन। तर त्यो खुसी धेरै समय टिक्न सकेन। गाडीको समस्या ज्यूँका त्यूँ। फर्केर फेरि त्यही ठाउँमा आयौँ। यसपटक मुख्य मिस्त्रीले आफँै चलाएर हेरे। समस्या पत्ता लगाएर सही तरिकाले मर्मत गर्न गरे। फोर ह्विलले काम नगरेर दुःख दिएको रहेछ। त्यसको पूर्ण मर्मत गर्न हामीसँग समय थिएन। तराईमा उकालोओरालो गर्न पनि नपर्ने भएकोले फोर ह्विल पूरै झिकेर टू ह्विलमात्र राखेर चलाउने विचार गरियो। त्यसैअनुसार मर्मत गरियो।
गाडी मर्मतमै दिन बितेपछि हामी कचनाकलन जान नसक्ने भयौँ। त्यहाँबाट फर्किएर दमकतर्फ लाग्यौँ। जहाँ ऋतुसरको घरलगायत बेलडाँगीको भुटानी शरणार्थी शिविर र भ्यु–टावर छ। भ्याए केपी ओलीको निवास पनि हेर्ने विचार गर्‍यौँ। दमक आइपुग्दा साँझ पर्न थालेको थियो।


‘केपी बाको घर कता हो?’ भनेर जसलाई सोध्यौँ तिनी त उनैको भाञ्जी परिछन्। उनले केपी बाको बसाइबारे हामीलाई बेलिबिस्तार लगाइन्। ‘सारा सम्पत्ति राज्यलाई दान दिएँ’ भन्ने केपी बा एउटा सामान्य घरमा बस्दा रहेछन्। उनका दुइटा घर रहेछन्। जो भतिजाको नाममा रहेछन्। तिनै भाञ्जीले भनेअनुसार यी सबै सम्पत्ति भतिजाको हो तर वास्तविक मालिकचाहिँ उनै हुन्। नेपाली राजनीतिका शीर्ष पुरुष भएको कारणले उनको निवास हेर्ने रहरले तानिएकामात्र हौँ हामी। संयोग भन्नुपर्छ बालकोटमा पनि दुइटा भवन र दमकमा पनि दुइटा नै रहेछन्। त्यसैले ‘बालकोटको बार्दली र झापाको झ्याल’ नेपाली राजनीतिको एउटा बिम्ब बनेर रहेको छ। कोइराला परिवार हँुदा ‘विराटनगरको बिरौटो’ भन्थे। अहिले ‘झापाको झ्याल’ भएछ।
बेलडाँगी शरणार्थी शिविरमा अहिले केही घरमात्र छन्। अधिकांश भुटानी शरणार्थी तेस्रो मुलुकमा गएर व्यवस्थित भइसके। मुलुकको शासक कुनै एउटा जातिप्रति कठोर, निन्दक, अमानवीय र आततायी भएपछि नागरिकले नपाउनुपर्ने दुःख र हन्डर पाउँछ। भुटानी शासकको अतिशय जातीय वैमनश्य, घृणा र अमानवीय व्यवहारको कारणले आफ्नो थातथलो, सम्पत्ति र सम्मान छोडेर शरणार्थी बन्न विवश उनीहरू विश्वका धेरै मुलुकमा छरिएर बस्न बाध्य छन्।
बेलडाँगी शिविरसँगै रहेछ ऋतु सरको घर। एक हिसाबले जंगलको किनारैमा। त्यहाँ कहिलेकाहीँ हात्तीले दुःख दिन रहेछ। ‘हात्तीले कहिलेकाहीँ दुःख नदिए सबै राम्रै छ,’ ऋतु सरको भाउजूले भन्नुभयो। त्यहाँ एक कप चिया खाएर हामी बाटो लाग्यौँ। त्यतिखेर अँध्यारो भइसकेको थियो।


एक अर्बभन्दा बढी लगानीमा बन्दै गरेको ७२ मिटर अग्लो १८ तले भ्यु–टावरको दर्शन भयो। यो टावर बनिसकेपछि यसको प्रयोजन के हुने हो? अनुत्तरित नै छ। टावर सामान्य गहिरो स्थानमा बन्दै छ। यहाँबाट उत्तरतर्फ हेर्दा जंगल देखिन्छ। दक्षिण हेर्दा पूर्वपश्चिम राजमार्गमा चलेका सवारीसाधन। कुशल व्यवस्थापक र पर्यटकको चासोले नै यसको उपादेयताको जवाफ दिने छ भन्ने लाग्यो। नभए मचानमा बसेर बाँदर भगाएको जस्तो मात्र हुनेछ।
दमकभन्दा पर राजमार्गको उत्तरतिर अपायक ठाउँमा एउटा आधुनिक बंगलाहरूले भरिएको रेसिडेन्स कोलोनी छ। पाँच÷छ धुरमा बनेको यो रेसिडेन्सीमा बस्न को आउने होला? भन्ने जिज्ञासा ऋतु सरले मेटाउनु भयो। उहाँको जवाफले झनै अचम्मित बनायो। उहाँले भनेअनुसार कुनै एउटा कोअपरेटिभलाई गाडधन फेला परेछ। त्यो भनेको, कसैले जम्मा गरेको रकम निजको शेषपछि दाबी गर्न कोही पनि आएनछन् रे! त्यो रकमबाट यो रेसिडेन्सी बनाइएको हो। अब त्यो कोअपरेटिभका सदस्यलाई नै बिक्रीवितरण गर्ने योजना छ अरे!
यदि यो सत्य हो भने सहकारीको यो प्रवृत्ति र कार्य गैरकानुनी हो। जसलाई बेइमानी मान्नुपर्छ। दाबीमा नआएको रकम संस्थाले सम्पत्तिमा लेख्न सक्ला तर केही सीमित सदस्यलाई मात्र लाभ पुग्ने गरी अनुत्पादक क्षेत्रमा लगानी गर्न मिल्ने होइन भन्ने लाग्छ।
त्यो दिनको बास सुनसरीको इटहरीमा भयो। झपक्कै अँध्यारो भइसकेको थियो इटहरी पुग्दा। बासको खोजीमा लाग्दा बल्लतल्ल एउटा होटलमा कोठा पाइयो। यहाँ ठूलठूला होटल बन्दैछन्, अरू मध्यमस्तरीय पर्यटकीय होटल पनि प्रसस्तै छन्। तर पनि भनेको र खोजेको जस्तो बास पाउन कठिन नै रहेछ। भोलिपल्ट बराहक्षेत्र जाने योजना भएको हँुदा हामी यही बास बस्नुपर्ने भयो।

प्रकाशित: १६ वैशाख २०८० १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =