व्यवसायमा रमाइरहेका अवकाश प्राप्त ब्रिटिस लाहुरे

विजय नेपाल ८ माघ २०८० १६:४५
28
SHARES
व्यवसायमा रमाइरहेका अवकाश प्राप्त ब्रिटिस लाहुरे मुछेत्र तथा उनले खोजेको बेगनास एक्वा पार्क।

पोखरा- पोखरा सहरदेखि अल्लि पर बेगनास ताल किनारको माझीकुनामा वातावरण शान्त अनि सुन्दर छ। त्यही ठाउँमा केही महिनाअघि सुविधासम्पन्न बेगनास एक्वा पार्क सञ्चालनमा छ। त्यहाँ  १२ जनाले रोजगारी पाएका छन्। सञ्चालक हुन् एक जना भूतपूर्व ब्रिटिस लाहुरे।

१८ वर्षको उमेरमा ब्रिटिस गोर्खामा भर्ती भएका मुछेत्र गुरुङले १८ वर्ष सेवा गरे। अवकाशपछि चाहेको भए उनी बेलायतमै बस्न सक्थे। घरमा ब्रिटिस लाहुरे बनेका मुछेत्र एक्ला होइनन्। परिवारमा चार पुस्तादेखि ब्रिटिस सेनामा काम गर्दै आएको छ। उनका बा र हजुरबाले ब्रिटिस सेनाबाट अवकाश पाएका हुन्। मुछेत्रका छोरा समीर पनि ब्रिटिस गोर्खामा कार्यरत छन्।

लमजुङको गिलुङ पुर्ख्यौली  घर भएका गुरुङ परिवारको परिचय ‘लाहुरे’ हो। विदेश छाडेर किन नेपाल फर्किएको भन्ने प्रश्नमा उनले भने, ‘नेपालमै केही गरौँ भनेर सधैँका लागि फर्किएका हौँ। अब बेलायत जाँदैनौँ।’  विदेशी भूमिमा पेन्सन खाएर बस्न उनले चाहेनन्। अवकाशपछिको जीवनमा स्वदेशमै केही गर्न अठोट लिए। स्वदेशमै केही गर्ने हुटहुटी बोकेका उनी जीवनसंगीनी लक्ष्मीसहित फर्किएर एक्वा पार्क सञ्चालनमा ल्याएका हुन्।

एनआरएनए यूकेका पूर्वअध्यक्षसमेत रहेका गुरुङले भने, ‘अवकाशप्राप्त जीवन बिताउन पनि नेपालको हावापानी धेरै राम्रो छ।’ एक्वा पार्क मुछेत्रको पहिलो व्यवसाय भने होइन। उनले चार वर्षअघि लेकसाइडमा होटल ब्लु म्याग्नेटमा लगानी गरेका थिए। थप लगानीको क्षेत्र खोज्दै बेगनास पुगेको उनी बताउँछन्। ‘पर्यटनको विकास हुने र रोजगारी सिर्जना पनि हुने भएकाले बेगनास एक्वा पार्क सञ्चालनमा ल्याएका हौँ’, गुरुङले भने।

कञ्चन क्यापिटल ग्रुपसँग मिलेर खोलिएको बेगनास एक्वा पार्कको साजसज्जा हेर्दा ठूलै लगानी खर्चिएको पाइन्छ। उनले लगानी कति पुग्यो खुलाएनन्। ताल किनारको रेस्टुरेन्टमा रमाउन अचेल मानिसको आकर्षण बढेको छ। साथै स्विमिङ पुल र पर्याप्त पार्किङ सुविधा छ भने यहाँ बसेर ताल, हिमाल र जंगलको सुन्दरतामा रमाउन सकिन्छ। रिसोर्टमा बेगनासको स्वादिलो माछाका परिकार पनि पाइन्छ।

शान्त र सुन्दर वातावरणमा रमाउन चाहनेका लागि बेगनास एक्वा पार्कले भोलिका दिनमा बेगनास क्षेत्रकै पर्यटन क्षेत्रमा ठूलो महत्त्व राख्ने एनआरएनए यूकेका पूर्वअध्यक्ष डम्बर गुरुङ बताउँछन्। आगामी दिनमा स्काई साइकल एक्वा पार्क पनि सञ्चालनमा ल्याइने मुक्षेत्रको योजना छ। ब्रिटिस गोर्खामा सेवा गर्ने क्रममा बेलायत, हङकङ, जापान, ब्रुनाई, अमेरिका, अस्ट्रेलिया, कोरियालगायत थुप्रै देश घुमेका उनले नेपालमा पनि वाटर स्पोर्टस्‌को प्रशस्त सम्भावना देखेका छन्।

नेपालमै पहिलोपल्ट वाटर स्पोर्टस् सञ्चालनका लागि पोखरामा फेवाताल वा बेगनास उनको रोजाइ बन्यो।  सरकारी कामकाजमा झन्झटिलो हुँदा दिक्क छन् उनी। भन्छन्, ‘नेपालमा सरकारी प्रक्रिया झन्झटिलो देखेँ। सरकारको साझेदारीमा यस क्षेत्रमा लगानी गर्न खोजे पनि प्रक्रिया टुंगिएको छैन। फाइल बोकेर थुप्रै ठाउँमा गइयो। पोखरा महानगरसँग पनि सहमति टुंगिनै बाँकी छ।’

नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीका लागि तत्कालै प्रतिफल नभए पनि भविष्यमा राम्रो सम्भावना रहेको उनको भनाइ छ। समाजसेवामा समेत समर्पित मुक्षेत्रको आफैँमा फराकिलो परिचय छ। तमु धीं यूकेका पूर्वअध्यक्ष उनी भूपू खेलाडी मञ्च नेपालका सदस्य पनि हुन्। पोखराको चर्चित सहारा क्लब पोखराको भगिनी संस्था सहारा यूकेका संस्थापक उपाध्यक्ष हुन्। उनको समाजसेवाप्रतिको योगदानको कदर गर्दै उनलाई सहारा क्लब पोखराले मानार्थ सदस्यता दिएको छ।

सधैँ हाँसीखुुसी देखिने उनी विभिन्न सामाजिक काममा उत्तिकै क्रियाशील हुन्छन्। आहारारा पोखरा गोल्डकप हुँदा उनी टिम लिएर पनि बेलायतबाट फुटबल खेल्न पोखरा रंगशाला आए। सहारा एकेडेमीमा आश्रित बालकका लागि सहयोग गर्न उनी बेलाबेलामा गइरहन्छन्। ‘रिटायर्ड लाइफ बिताउन त नेपालभन्दा बाहिर जानु पर्दैन। अवकाश पाएर उतै बसेका भए मलाई कमैले चिन्थे।’ गुरुङले भने।

११ देशको सेना-प्रहरीमा नेपाली युवा, न सम्झौता न सेवासुविधाको टुंगो

प्रकाशित: ८ माघ २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =