सुरु तलब १८ रुपैयाँ, पेन्सन १ लाख ५० हजार रुपैयाँ

रमा केसी १९ माघ २०८० ७:३२
132
SHARES
सुरु तलब १८ रुपैयाँ, पेन्सन १ लाख ५० हजार रुपैयाँ

सुर्खेत– रत्नबहादुर गुरुङले ब्रिटिस गोर्खामामा भर्ती हुँदा मासिक तलब १८ रुपैयाँ पाउँथे। सुर्खेत राम्रीकाँडाका गुरुङ झन्डै आठ दशकअघि बेलायती सेनामा भर्ती भएका थिए। सेनामा भर्ती हुँदा आफ्नो उमेर १८ वर्षको रहेको उनी सुनाउँछन्।

९६ वर्षीय गुरुङ त्यति कान सुन्दैनन्। हिँडडुल पनि कमै गर्ने उनी झट्ट हेर्दा त्यति वृद्ध पनि देखिँदैनन्। पत्नी मानकुमारी भन्छिन्, ‘९६ वर्षको भनेर कसैले पत्याउँदैनन्। कागजपत्रमा त्यही छ।’ रत्नबहादुरले सिपाही, लेसनायक, नायक, हवल्दार, हवल्दार मेजर हुँदै २२ वर्ष पल्टनमा जागिर खाएका थिए।

साथीभाइसँग खेल्ने क्रममा लाहुरे हुन जाऔँ भनी गाउँका आठजना साथीको समूह बनाएर नेपालगन्ज हिँडेको सम्झँदा निकै आनन्द लाग्ने रत्नबहादुर बताउँछन्। उनलाई सेना बन्छु भन्ने लागेकै थिएन। भन्छन्,‘शरीरको चौडाइ र उचाइ राम्रो भएपछि भर्ती हुन पाइहालिन्थ्यो।’

त्यति बेला गाउँका आठजना र नेपालगन्जमा पुगेपछि थप चारजना गरी १२ जना भर्ती हुन गोरखपुर पुगेको उनी सम्झन्छन्। गुरुङ भन्छन्, ‘एकजना साथीको हातमा दाग देखिएको हुँदा ऊ लाहुरे हुने सपना त्यहीँ फालेर घर फर्कियो। ११ जनाचाहिँ गोरखपुर हुँदै देहरादुन पुग्यौँ। अनि भर्ती भइहाल्यौँ।’

रत्नबहादुर भर्ती भएको तीन वर्षपछि ६ महिनाको छुट्टी लिएर घरमा आएछन्। त्यही समयमा विवाह भएको रहेछ। घरमा बस्ने मन हुँदाहुँदा पनि बाबा, आमा र श्रीमतीलाई छोडेर फेरि पल्टनमा फर्किएको उनले बताए।  एक छोरा र एक छोरी जन्मिएपछि पहिलो पत्नीको निधन भएको रत्नबहादुर बताउँछन्। मानकुमारी उनकी दोस्री पत्नी हुन्। रत्नबहादुर मानकुमारीसँग वीरेन्द्रनगरमा बस्दै आएका छन्।

उनी भन्छन्, ‘सेनामा भएका कारण लडाइँ धेरै हुन्थ्यो। संघर्ष धेरै थियो। उनले जागिर अवधिमा मलेसियासहित, ब्रुनाई, हङकङ, बेलायतमा समय बिताएको बताए। पल्टनमा जागिर खाँदा मलेसियाको लडाइँमा सहभागी भएको उनले सम्झिए। उनले भने, ‘यात्रा लामो थियो कहाँनिर के हुन्छ भन्ने केही थाहा थिएन। लडाइँ गर्दै हिँड्दा समय बितेको थाहा भएन।’

बिस्तारै तलब बढ्न थालेपछि काममा उत्साह थपिएको उनी बताउँछन्। ‘पेसामा अझ गर्व लाग्न थाल्यो। केही नपढेको भए पनि पेसाले अझ मानसम्मान बढाएको थियो,’ पल्टनमा पढ्ने र नयाँ कुरा सिक्ने अवसर पनि पाएको उनी सुनाउँछन्।

मानकुमारी भन्छिन्, ‘२२ वर्ष काम गरेर छोड्नुभएको रे। अहिले महिनाको १ लाख ५० हजार रुपैयाँ आउँछ।’ जीवन सुखमय बितिरहेको उनको भनाइ छ। ‘पल्टनको दुःख र बन्दुकको गोलीको डरले भागेको भए कस्तो अवस्था हुन्थ्यो थाहा थिएन। अहिले ती दुःख भुलिसकेको छु।’ उनलाई कुनै पनि रोगले नच्यापेको पत्नी मानकुमारीले बताइन्।

प्रकाशित: १९ माघ २०८० ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =