प्रथम र द्वितीय दुवै विश्वयुद्धमा नेपाल ब्रिटिसको सहयोगी थियो। दुवै विश्वयुद्धमा नेपालले प्रत्यक्ष सहभागिता त जनाएन तर ब्रिटिसलाई आर्थिक सहायतादेखि लड्नका लागि लाखौँ युवा पठाएको थियो। सन् १८८५ पछि नेपालीहरू औपचारिक रूपमा ब्रिटिस सेनामा भर्ती हुन थालेका हुन्।
प्रथम विश्वयुद्धमा नेपालका तर्फबाट २ लाख युवा ब्रिटिस सेनामा भर्ती भएर युद्ध लडेका थिए। ब्रिटिस सरकारको अनुरोधमा चार पटक गरी १५ हजार ६ सय ५८ नेपाली फौजलाई भारत पठाइएको थियो।
नेपालले भौतिक सहायता पनि उपलब्ध गराएको थियो। तत्कालीन सरकारले ब्रिटिसको युद्ध कोषमा १ करोड ३७ लाख रुपैयाँ जम्मा गरिदिएको थियो। यस्तै ४० हजार पाउन्ड अलैँची, ८४ हजार ६ सय ९९ पाउन्ड चिया, २ सय थान ज्याकेट, १२ थान ओभरकोट, नेपाली र तिब्बती कम्बल, ३ सय ४० थान बन्दुक, २ लाख थान रेलको स्लिपर र २२० वटा सिसौका रुख ब्रिटिसलाई जिन्सी सहयोग उपलब्ध गराएको थियो। (इतिहासको पानाबाट, श्री ३ चन्द्रशमशेरको भाषण- धन्यवाद ज्ञापन, प्रा.डा. तीर्थप्रसाद मिश्र, हिमालय टाइम्स दैनिक २०७८-३-२१)
द्वितीय विश्वयुद्धमा पनि नेपालले प्रथम विश्वयुद्धको हाराहारीमा सहयोग गरेको थियो। विश्वयुद्ध सुरु हुनासाथ नेपालले ८ हजार नेपाली सेनालाई ग्यारेसन ड्युटीका लागि भारत पठायो। गाउँगाउँबाट नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन भारत गएका थिए। यस्तै नेपालले सहायता कोषहरूमा आर्थिक सहयोग प्रदान गरेको थियो। ब्रिटिस सेनाका विभिन्न बटालियनमा भर्ना भएका नेपाली युवाले युद्ध लडेका थिए। प्रस्तुत आलेखमा ब्रिटिस सेनामा भर्ती हुने गोर्खाली सैनिकलाई उपलब्ध गराइने रासनअन्तर्गत मासुका बारेमा चर्चा गरिएको छ।
नेपाली सामाजिक परम्पराअनुसार नेपालीलाई समुद्र पार गरेर विदेश जान बन्देजजस्तै थियो। समुद्रपार जाँदा ‘जात च्यूत’ भएको ठानिन्थ्यो। त्यसैले नेपाल फर्किएपछि ‘पानी पतिया’ गरी जात फिर्ता गरिन्थ्यो। राजकीय कार्यका लागि सरकारको अनुमतिमा समुद्रपार गरी फर्किएपछि पनि निश्चित प्रक्रिया पूरा गरेर मात्र जात फिर्ता हुने गर्दथ्यो।
आफ्नो पुरानै जातमा पुनः मिलनका लागि धर्माधिकारीको निर्देशनअनुसार शुद्धि गर्ने चलन थियो। जसलाई ‘पतिया प्रथा’ भनिन्थ्यो। सरकारबाट अनुमति नलिई आफूखुसी समुद्रपार गरेर फर्किनेका लागि पतिया दिइँदैन थियो। पतिया नपाएपछि उनीहरू जात च्यूत भएर तल्लो दर्जामा पुग्थे।
ब्रिटिस सेनामा भर्ती भएर युद्धमा लड्न जाने गोर्खाली सिपाहीलाई भारतीय हिन्दू धर्मबाहेकका अन्य धर्मावलम्बी र अंग्रेजहरूसँग बसेर खाने अनुमति थिएन। पल्टनमा पनि उनीहरूको धर्मरक्षाका लागि विशेष व्यवस्था गरिएको हुन्थ्यो। अन्य धर्मावलम्बीसँग छोइछोटो नहोस् भनेर अलग्गै भान्सा र हिन्दू भान्सेहरूको खटिएका हुन्थे। उनीहरूलाई उपलब्ध गराउने रासनमा हिन्दू धर्मसंस्कृतिले खानपिउन अनुमति दिएका चिजबिज मात्र हुन्थे।
गोर्खाली सैनिकलाई रासनका रूपमा खाद्यान्नसहित खसीबोकाको मासु उपलब्ध गराउने व्यवस्था थियो। गोर्खाली सैनिक भन्नाले नेपालबाट गएका नेपाली र ब्रिटिस भारतमा जन्म भएर त्यहीँ बसोबास गर्ने नेपाली मूलका नेपाली भाषी हिन्दू धर्मावलम्बी गनिन्थे। ती सबै गोर्खाली सैनिक ‘पानी पतिया’ लिन भने नेपाल आउनुपर्दथ्यो। उनीहरूले धर्मका मामिलामा नेपाल सरकारको नीति निर्देश मान्नुपर्दथ्यो।
द्वितीय विश्वयुद्धताका सातौँ इन्डियन डिभिजनका गोर्खाली सैनिकहरूलाई ब्रिटिस सेनाका तर्फबाट रासनमा खसीबोकाको सट्टा लामो पुच्छर भएको भेडा प्रदान गरिएको थियो। विश्वयुद्धका कारण खसीबोका अभाव भयो। खसीबोका नभएपछि विकल्पका रूपमा प्राप्त भेडाको मासु खान गोर्खाली सैनिकले इन्कार गरिदिए। त्यसपछि डिभिजन कमान्डरले नेपालस्थित ब्रिटिस मिनिस्टरमार्फत नेपालका श्री ३ महाराजलाई जानकारी गराएछन्। अनि खसीबोकाको ठाउँमा भेडाको मासु स्वीकृति प्रदान गरिदिन आग्रह गर्दै ब्रिटिस मिनिस्टर जर्ज फाल्कनरले श्री ३ लाई पत्र लेखेका थिए। २१ अगस्ट १९४४ का दिन मिनिस्टर फाल्कनरले श्री ३ महाराज जुद्धशमशेरलाई लेखेको पत्रमा भेडाको मासु खान स्वीकृति प्रदान गर्न अनुरोध गरिएको छ। (नेपालस्थित ब्रिटिस मिनिस्टर र नेपालका श्री ३ महाराजबीचको पत्राचार, राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)
श्री ३ महाराज सर्वशक्तिमान थिए। उनको निर्णय अन्तिम हुन्थ्यो। श्री ३ महाराजले निर्णयका लागि भारदारी सभा भने अनिवार्य डाक्ने गर्दथे। सभामा धर्म र संस्कृतिका कुरा आउँदा बडा गुरुज्यूसहितका विद्वान्हरूको महत्त्वपूर्ण भूमिका रहने गर्दथ्यो। राणा प्रधानमन्त्रीहरू जति सर्वशक्तिमान भए पनि उनीहरूले धर्मसंस्कृतिका विषयमा कुरा आउँदा भने बडो सुझबुझपूर्ण तरिकाले कदम चाल्ने गर्दथे।
राणा शासन कडा दण्डसंहिता, शक्ति र निरंकुशतामा मात्र नभई धर्मको आडमा समेत चलेको थियो। शासकविरुद्ध जनतासहित आफ्नै भाइभारदार उकास्ने एउटा महत्त्वपूर्ण हतियार धर्म थियो। धार्मिक रूढिवादी समाजमा प्रधानमन्त्रीले धर्मविरुद्ध केही गर्न लाग्यो भने शासन हत्याउन बसेका आफ्नै भाइहरूसहित नजिकका भारदारसमेत प्रतिकारमा उत्रन्थे। शासकमा धर्मलाई कसैले हतियारका रूपमा प्रयोग गर्यो भने सत्तामा गम्भीर धक्का पुग्छ भन्ने भय थियो।
बेलायत भ्रमणका क्रममा राणा शासनका संस्थापक जंगबहादुरले अंग्रेज युवतीहरूसँग बसेर खाने गरेको आरोप लगाएपछि उनका भाइ बद्रीनरसिंहसहितका भारदार विरोधी भएर निस्किएका थिए।
सामाजिक धार्मिक सुधारका विषयमा श्री ३ महाराजलाई निर्णय लिन कति सकस पर्दथ्यो भन्ने एउटा सानो प्रसंग नेपालस्थित ब्रिटिस मिनिस्टरले दिल्लीमा पठाएको गोप्य रिपोर्टमा उल्लेख गरेका छन्। त्यसमा उनले १९९७ सालमा राणा शासनविरोधी ४ सहिदलाई प्राणदण्डको सजाए दिएपछि तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले केही सामाजिक सुधार गर्न चाहेको र त्यतिबेला उनले भारदारी सभामा गुरुज्यू पण्डितलगायत अन्यको विरोध झेलेको विषय लेखेका छन्। सन् १९४१ ताका नेपालस्थित ब्रिटिस दूतावासमा मिनिस्टरको जिम्मेवारीमा केफ्टिनेन्ट कर्नेल जीएल बेथम थिए। बेथमले सोही अगस्टमा दिल्लीमा पठाएको एउटा गोप्य रिपोर्टमा आफूले पाएको जानकारी यसरी उल्लेख गरेका छन्-
त्यतिबेला भारदारी सभामा अबका दिनमा तल्लो जातका मानिसहरू जस्तो काठमाडौँमा मासुको व्यापार गर्नेहरूको हातबाट समेत पानी चलाउनुपर्छ भन्ने थियो। काठमाडौँमा पोडेहरूले दूध बिक्री गर्ने गर्दथे। श्री ३ महाराजको तर्क थियो- ‘पोडेहरूले वितरण गरेको पानी मिसाएको दूध खान हुने तर उनीहरूको हातको पानी खान नहुने भन्नु हास्यास्पद हो।’ श्री ३ महाराजको कुरालाई अनेक शास्त्रसँग जोड्दै बडागुरुज्यू र नायबगुरुज्यू यसको कडा विरोधमा उत्रिए। उनीहरूले आफ्नो लिखित निर्णय महाराजलाई सुम्पिए। त्यसपछि छोटा गुरुज्यू (बडागुरुज्यूका जेठा छोरा) र सुब्बा राममणि आदीसहितका दरबारमा नियमित भाग लिइरहने अन्य १५ जना भारदारहरूसमेत कडा रूपमा विरोधमा उत्रिए।’ (नेपालस्थित ब्रिटिस मिनिस्टर बेथमले दिल्लीमा पठाएको सन् १९४१ को गोप्य राजनीतिक रिपोर्ट, राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)
सर्वशक्तिमान श्री ३ महाराज भारदारी सभाको सहमतिविपरीत एक्लै निर्णय गरेर अगाडि बढ्न सक्दैनथे। यस्तो मामिलामा भारदारी सभा र गुरुज्यूको सल्लाहसुझावले विशेष अर्थ राख्दथ्यो। सभामा उनीहरूको मत निर्णायक हुन्थ्यो। उनीहरूको निर्णयलाई महाराजले स्वीकृत गर्दथे।
सातौँ इन्डियन डिभिजनका गोर्खाली सैनिकहरूलाई भेडाको मासु खानका लागि स्वीकृति दिलाउन ब्रिटिस पक्षले माग गरेपछि श्री ३ महाराज जुद्धशमशेरले पत्र पाएको भोलिपल्टै भारदारी सभा डाकेर छलफल गरे। युद्धभूमिमा खटिएका सैनिकको रासनसँग सम्बन्धित विषय भएकाले उनले महत्त्व दिएका रहेछन्।
लामो पुच्छर भएको हो या छोटो पुच्छर भएको भेडाको मासु खान हिन्दू धर्मावलम्बी नेपालीका लागि कुनै बन्देज थिएन। तर नेपालमा पाउने सानो आकारको भेडाको तुलनामा ठूलो सिङसहितको लामो पुच्छर भएको ठूलो भेडा देखेपछि गोर्खाली सैनिकले सायद त्यसलाई अर्कै ठानेर अस्वीकार गरे होलान्।
भारदारी सभामा बडागुरुज्यू र अन्य भारदारहरूसँग छलफल भयो। बडागुरूज्यूले युद्धको समयमा लडाइँको सबै मोर्चामा खटिएका गोर्खाली सिपाहीले लामो पुच्छर भएको भेडाको मासु खान हुन्छ भन्ने निर्णय सुनाएका थिए। भारदारी सभाको त्यही निर्णयअनुसार द्वितीय विश्वयुद्धमा ब्रिटिसका पक्षमा लडाइँका सबै मोर्चामा खटिएका गोर्खाली सैनिकलाई लामो पुच्छर भएको भेडाको मासु खाने स्वीकृति प्रदान गरिएको थियो। त्यसपछि गोर्खाली सैनिकले भेडाको मासु खान थालेका थिए। यो सबै व्यहोरा तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले नेपालस्थित ब्रिटिस मिनिस्टर जर्ज फाल्कनरको पत्रको जबाफमा जानकारी गराएका थिए। (नेपालस्थित ब्रिटिस मिनिस्टर र नेपालका श्री ३ महाराज बीचको पत्राचार, राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)
Unearthing hidden issues