एक लाखमै आयस्रोतको प्रमाण र नक्कली भिसा!

रमेश भारती ४ माघ २०८० १६:२८
124
SHARES
एक लाखमै आयस्रोतको प्रमाण र नक्कली भिसा!

काठमाडौँ- नक्कली भिसामा श्रम स्वीकृति लिएर नेपाली कामदारलाई मलेसिया र खाडी देश पठाउने गिरोह सक्रिय भएको छ। ती देशमा घरेलु कामदारमा महिलालाई प्रतिबन्ध लगाइएपछि गिरोहले नक्कली भिसा बनाई त्यसमा श्रम स्वीकृति दिलाउन सफल भएका हुन्।

यसरी नक्कली भिसा बोकेर वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई अध्यामगनले त्रिभुवन विमानस्थलबाट फर्काउन थालेको छ। पछिल्लोपटक पुस २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भिसामा कुवेत जान लागेका ५७ जनालाई अध्यागमन विभागले फर्काएको थियो। विभागका अनुसार तीमध्ये १७ जना महिला थिए। विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले भने, ‘भिसा नक्कली भए पनि उनीहरूले श्रम स्वीकृति लिएका थिए। भिसा नक्कली भएपछि कुवेत जान लागेका ५७ जनालाई फर्काइएको हो।’

मंसिर दोस्रो साता विभागले ११ जनालाई नक्कली भिसाका कारण फर्काएको थियो। कात्तिकमा पनि नक्कली भिसामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका २४ जनालाई विमानस्थलबाट फर्काइएको हमालले बताए।

‘वैदेशिक रोजगार कार्यालयका कर्मचारीसँग नक्कली भिसा हेर्ने सिस्टम नभएर पनि यस्तो भएको होला। यस विषयमा छानबिन गर्न विभागलाई पत्राचार गरेका छौँ। म्यानपावर कम्पनी पनि संलग्न छन्। तर पीडितले दिएको उजुरीमा म्यानपावरको नाम हुँदैन’, उनले भने। नक्कली भिसाका कारण फर्किएका व्यक्तिको आयस्रोतको कागतजात पनि फर्जी हुने गरेको दाबी उनले गरे।

भिजिटमा गएका नेपाली सम्बन्धित देशमा काम गर्ने उद्देश्यले गइरहेका छन्। यसलाई नियन्त्रण गर्ने प्रयास र भिजिट भिसाको काम गर्ने संस्थासँगै व्यक्तिलाई पनि नियन्त्रणमा लिने काम भइरहेको उनले जानकारी दिए।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले नक्कली भिसा कसरी र कसले श्रम स्वीकृति दिएको भन्ने विषयमा अध्ययन भइरहेको बताए। ‘नक्कली भिसामा श्रम स्वीकृतिका विषयमा छानबिन भइरहेको छ। यसमा सलंग्नहरूमाथि कारबाही हुन्छ’, उनले भने।

पछिल्लो समय भिजिट भिसा मात्र होइन, भिसा र आयस्रोतको बैंकिङ कागजात नक्कली हुने गरेको घिमिरे बताउँछन्। उनका अनुसार यस्तो कागतजात कहाँ बन्छ भनेर पीडितले सूचना नदिँदा कानुनी कारबाही गर्न समस्या भइरहेको छ। उनले भने,’नक्कली भिसाका कारण विदेश जान नपाएका पीडित दैनिक गुनासो लिएर आए पनि उनीहरूसँग कसले दिएको हो भन्ने प्रमाण हुँदैन।’

विभागको मुद्दा शाखामा नक्कली भिसाका कारण आर्थिक ठगीमा परेको भन्दै मासिक ५० जनाभन्दा बढीले उजुरी दिने गरेका छन्। शाखाका अनुसार चालु आर्थिक वर्षमा नक्कली भिसामा ठगिएको भनेर ७० वटाभन्दा बढी म्यानपावर र एजेन्टका नाममा उजुरी दर्ता भएका छन्।

नक्कली भिसा र आयस्रोतका कागजात बनाएको प्रतिव्यक्ति ९० देखि एक लाख रुपैयाँसम्म लिने गरेको पीडितले बताउने गरेको विभागका कर्मचारीहरू बताउँछन्। उनीहरूले उजुरीमा नक्कली भिसा र आयस्रोतका कागजात बनाउने गिरोहले नगदमै कारोबार गर्ने गरेको उल्लेख गर्ने गरेका छन्।

भिजिट भिसाको नक्कली कागजात बनाउने गिरोहले प्रतिव्यक्ति ३० देखि ६० हजारसम्म रकम लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कात्तिकमा गरेको भिजिट भिसा तस्करीसम्बन्धी अध्ययनमा अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति ४० देखि ५५ हजार लिने गरेको उल्लेख छ। भिजिट भिसामा जाने व्यक्तिसँग एजेन्टले देशअनुसार तीनदेखि ११ लाख रुपैयाँसम्म लिने गरेको वैदेशिक रोजगार विभागमा उजुरी पर्ने गरेको छ।

आर्थिक वर्ष २०७९/८० मा अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका चार हजार सात सय २० जनालाई फिर्ता गरेको थियो। हमालका अनुसार उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा अध्यागमन विभागले १५ सय जनाभन्दा बढीलाई भिजिट भिसा र नक्कली भिसा भएकै कारण फिर्ता गरेको छ। भिजिट भिसामा हुने मानव बेचबिखन रोक्न ब्युरोको टोली विमानस्थलमा दैनिक खटिँदै आएको छ। गत महिना प्रहरीले अध्यागमन अधिकृतसहितका गिरोहलाई पक्राउ गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या घटेको हमाल बताउँछन्।

सन् २०२२ मा एक लाख ७० हजार नेपाली विभिन्न देशमा भिजिट भिसामा गएको विवरण अध्यागमन विभागले उपलब्ध गराएको छ। विभागका अनुसार सन् २०२३ को करिब दुई लाख नेपाली नेपाली भिजिट भिसामा विभिन्न देश गएका छन्। जसमा ३० प्रतिशत नेपाली यूएई गएका छन्।

भिजिट भिसामा बिदेसिनेमध्ये ९० प्रतिशत नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेको गत वर्ष गृह मन्त्रालयले भिजिट भिसाको समस्या समाधानसम्बन्धी गरेको अध्ययनमा उल्लेख छ। यसो हुनुमा गृह मातहतकै अध्यागमन विभागका कर्मचारी संलग्न रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रश्न उठाउँदै आएको छ।

भिजिट भिसा र व्यक्तिगत भिसामा कामदार पठाउन एजेन्ट गाउँदेखि सम्बन्धित देशसम्म सक्रिय रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आप्रवासन अध्ययनमा उल्लेख छ। भिजिट भिसामा जाने ८० प्रतिशत नेपालीहरू रोजगारीका लागि यूएई, कतार, युरोप र अफ्रिकी देश श्रम मन्त्रालयको आप्रवासनसम्बन्धी प्रतिवेदनमा उल्लेख छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको उक्त अध्ययनमा भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीको कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको नक्कली भेटिएको थियो।

आयस्रोत पनि नक्कली

सरकारले वार्षिक ६ लाख आयस्रोत देखाउन सक्ने नेपालीलाई मात्र भिजिट भिसामा खाडीका देश र मलेसिया जान दिने प्रावधान छ। साथै खाडी देशबाहेक अन्य मुलुक भिजिट भिसामा बिदेसिने नेपालीले पर्यटकका रूपममा अन्य दुई देश भ्रमण गरिसकेको हुनुपर्ने व्यवस्था छ। तर यी देश सेटिङमा यति आयस्रोत नभएका नेपाली पनि गइरहेका छन्।

वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएको र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरू भिजिट भिसामा जान सक्ने व्यवस्था छ। तर दलालले नेपालीहरू नक्कली कागजातकै भरमा भिजिट भिसामा पठाइरहेका छन्। नक्कली भिसाका कारण फर्किएका व्यक्तिले आफनो आयस्रोतको कागतजात पनि एजेन्टले बनाइदिएको बताउने गरेको अध्यागमन कार्यालयका प्रमुख हमालले बताए।

प्रधानमन्त्रीको गम्भीर चासो

‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीले सास्ती भोग्नुपरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गम्भीर चासो व्यक्त गरेका छन्। ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीले सास्ती झेल्नुपरेको गुनासो आएपछि प्रधानमन्त्रीले त्यस्ता समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा। वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूलाई मंगलबार बालुवाटारमा बोलाएर त्यस्तो निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =