व्यंग्य गर्दै बालेनले सोधे : एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार?

हिमाल प्रेस १ माघ २०८० १५:२७
28
SHARES
व्यंग्य गर्दै बालेनले सोधे : एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार?

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यङ्ग गर्दै एउटा मन कतिपटक जित्नुहुन्छ भन्दै प्रश्न गरेका छन्। मेलम्ची खानेपानीको पटक-पटक उद्घाटन गरिएको बारे उनले व्यङ्ग्य गरेका हुन्।

‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर,’ बालेनले फेसबुकमा लेखेका छन्। मेलम्ची खानेपानीको हालसम्म पाँचपटक उद्घाटन भइसकेको बालेनले उल्लेख गरेका छन्।

‘मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसको दुई वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो। तर सुरूङ खन्न सुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो। त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरू नै फेरिएका थिए,’ बालेनले लेखेका छन्, ‘मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तीको सूची त झन् निकै लामो बन्ला। मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए। एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना। तर काठमाडौँमा पहिलोपटक पानी झर्न त्यसको ९ वर्षपछि मात्रै सम्भव भयो।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले कीर्तिमानका लागि २०७७ फागुनमा उद्घाटन गर्दा प्राविधिक पक्षलाई जोखिममा पारेको बालेनको टिप्पणी छ। र, त्यसको असर सोही वर्ष देखिएको उनले उल्लेख गरेका छन्। ‘कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउँने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो। त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौं लगानी मात्र जोखिमपूर्ण बनाइएन, काठमाडौंबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो,’ बालेनले लेखेका छन्, ‘देशव्यापी रूपमा नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गर्‍यो। अनि सँगसँगै, व्यक्तिगत किर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौं झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो। त्यसकै सिलसिलाको नयाँ संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो।’

अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको बालेनले दाबी गरेका छन्। मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा रहेको र त्यो झरेर मुहान कुनै पनि बेला थुनिन सक्ने उनको भनाइ छ। ‘बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैँछ। बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौं समय र अर्बौंको लागत लाग्न सक्छ,’ उनले लेखेका छन्।

प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टका लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै भएको बालेनको दाबी छ। ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुन: समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो। यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ,’ उनले भनेका छन्।

उनले आफूहरूले केन्द्र सरकारसँग सहकार्य गर्न चाहेको पनि बताएका छन्।

काठमाडौँमा झर्‍यो मेलम्ची [फोटो फिचर]

प्रकाशित: १ माघ २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =