सांस्कृतिक झाँकीसहित मनाइयो माघे संक्रान्ति [फोटो फिचर]

दिपेश श्रेष्ठ १ माघ २०८० १३:१०
10
SHARES
सांस्कृतिक झाँकीसहित मनाइयो माघे संक्रान्ति [फोटो फिचर]

काठमाडौँ- आज माघ १ गते देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ। देशका विभिन्न ठाउँमा जस्तै काठमाडौँमा पनि मगर तथा थारु समुदायले सांस्कृतिक झाँकीसहितको कार्यक्रम गरेर मनाएका छन्।

देशका विभिन्न भागमा बसोबास गर्दै आएका  यी समुदायकाले आफ्नो सांस्कृतिक र ऐतिहासिक महत्त्वका रूपमा यो पर्व मनाउँछन्। मगर समुदायमा आफ्ना छोरी चेलीको पूजा गरी आशीर्वाद तथा दक्षिणा दिने चाडका रूपमा समेत माघे संक्रान्ति मनाउने गर्छन्।

मगर समुदायको मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, भ्यउरे, टम्पा र सालैजोलगायतका नाच र झाँकीसमेत प्रस्तुत गरेका थिए। माघे संक्रान्तिका अवसरमा तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलागयतका परिकार पनि खाने गरिन्छन्।

मगर समुदायले जस्तै थारु समुदायले पनि माघे सक्रान्ति धुमधाम मनाइरहेका छन्। यसै क्रममा थारु समुदायले काठमाडौँको बसन्तपुरदेखि टुँडिखेलसम्म र्‍यालीकाे समेत आयाेजना गरेका थिए।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात माघी पर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ। थारुहरूले बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन्। यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन्।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ। तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने मान्यता छ।

प्रकाशित: १ माघ २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =