देवघाटमा लिंगो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ

हिमाल प्रेस ३० पुष २०७९ १६:१८
10
SHARES
देवघाटमा लिंगो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ

चितवन– पवित्र तीर्थस्थल देवघाटको बेनीमा शनिबार बिहान बाँसको लिंगो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको छ। गलेश्वर आश्रम, हरिहर आश्रम, महेश सन्यास आश्रमका पीठाधीशसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिंगो ठड्याइएको हो।

यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिंगोसहित शोभायात्रा बेनीमा पुगेको थियो। सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाललगायत उपस्थित थिए।

यससँगै चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला सुरु भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ।

‘विगत तीन वर्ष कोभिडका कारण रोकिएको मेला पुनः सुरु गर्न लागिएको हो,’ उनले भने। मेला भर्न ५ लाख भक्तजन आउने समितिको आकलन छ। मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ। मेलाको तयारी तीव्र पारिएको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे संक्रान्ति मेलाको अवसरमा आज र भोलि नारायणगढ मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिए। पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले पुस ५ गतेदेखि दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो। संक्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो।

प्रकाशित: ३० पुष २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 4 =