जाडोमा पनि चलायमान फिल्म छायाँकन

हिमाल प्रेस २९ पुष २०८० १०:२२
6
SHARES
जाडोमा पनि चलायमान फिल्म छायाँकन

काठमाडौँ- अन्य महिनाको तुलनामा पुसमा संख्यात्मकरूपमा कम फिल्म छायाँकन हुने गरेको पाइन्छ।

विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाँकनका लागि उपयुक्त मानिँदैन। किनकि दृश्यांकन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ। यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार फिल्मको छायाँकन भइरहेको छ।

काठमाडौँका विभिन्न स्थानमा छायाँकन भइरहेको फिल्म हो, ‘११ः५५’। केशव पाण्डेको कथा र निर्देशनमा छायाँकन भइरहेको उक्त फिल्ममा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहेका छन्।

अपराध, थ्रिलर, सस्पेन्स विधामा रहेर फिल्म तयार गरिएकाले सोही सन्दर्भसँग मिल्दो नाम राखिएको निर्देशक पाण्डेले जानकारी दिए। ‘हाम्रो विषयअनुसार बढी छायाँकन रातमा गरिरहेका छौँ। हामीले रातकै दृश्य खिच्नुपर्ने भएकाले यही समय रोजेका हौँ’, उनले भने। यसको अन्तिम चरणको काम भइरहेको उनले जानकारी दिए। यस फिल्मको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन्।

यस्तै फिल्म ‘मनसरा’को पनि काठमाडौँमा छायाँकन भइरहेको छ। उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको उक्त फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहनुभएको छ । यसको छायाँकन काठमाडौँ आसपासमा भइरहेको छ । यसको शीर्ष भूमिकामा अभिनेत्री मगर छन्।

रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को दोस्रो चरणको छायाँकन ओखलढुंगास्थित रुम्जाटारमा भइरहेको छ। फिल्ममा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिरहेका छन्।

यसको छायाँकन सकाएपछि अभिनेता राईले फिल्म ‘मनसरा’ सुरु गर्नेछन्। शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई फिल्मको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिए।

विसं २०८१ वैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि सो फिल्म छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ।

फिल्म ‘फर्की फर्की’को पहिलो चरण पोखरामा छायाँकन सकिएको र काठमाडौँसँगै बाँकी काम छिट्टै सुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिए। सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको सो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरिरहेका छन्।

यो फिल्म २०८१ को जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिए।

प्रकाशित: २९ पुष २०८० १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =