इटहरी उपमहानगरपालिकामा ३६ जना नगर प्रहरी दीक्षित

हिमाल प्रेस १७ पुष २०८० १५:०२
8
SHARES
इटहरी उपमहानगरपालिकामा ३६ जना नगर प्रहरी दीक्षित

इटहरी- इटहरी उप महानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन्। आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरूलाई मंगलबार (आज) दीक्षित गरिएको हो। उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इटहरीका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी लकेस तुम्हाङ्फेलगायतले दीक्षित गरेका हुन्।

३५ दिनसम्म चलेको तालिममा रामतपेश्वर यादब लगायतका टोलीले प्रशिक्षण गरेका थिए। तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम, दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भीड व्यवस्थापन र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्रदर्शन गरे। उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताले शपथ गराएका छन्।

नगर प्रहरीलाई दीक्षान्त समाहारोमा दर्ज्यानी चिह्नसमेत प्रदान गरिएको छ। इटहरीका प्रमुख पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए। जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र इटहरीको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बजार व्यवस्थापनमा नगर प्रहरीको भूमिका अझ सशक्त बनाएर लैजान उनले निर्देश समेत दिए। नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार नगर प्रहरीका बिभिन्न पदमा सेवा करारका लागि उपमहानगरपालिकाले गत २०७९ असोज २१ गते इन्स्पेक्टरसहित दुइ सई, ३ जना असई , ४ जना हवल्दारसहित २७ जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो।

दरखास्त अनुसार छनौट भई ३५ दिनको आधारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरू दीक्षान्त पश्चात् कार्यक्षेत्रमा खटिने छन्।

नगर प्रहरीलाई उपमहानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन्।

सोही कार्यक्रमको अवसर पारेर रितु चौधरी, विक्रम चौधरी, निता राई, नीमा तामाङ र पुष्कर निरौला पुरस्कृत भएका छन्।

प्रकाशित: १७ पुष २०८० १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =