१० किलोमिटर दौड प्रतियोगितामा एक हजार बढी धावक

हिमाल प्रेस २६ फागुन २०८० १८:२१
10
SHARES
१० किलोमिटर दौड प्रतियोगितामा एक हजार बढी धावक

इटहरी- इटहरी-२० तरहरामा १० किलोमिटर दौड प्रतियोगितामा एक हजार सात सय धावक सहभागी भएका छन्। सात विधामा आयोजित प्रतियोगितामा विधागत विजेताहरूलाई पुरस्कृत गरिएको छ। प्रतियोगितामा १६ देखि ३९ वर्ष उमेर समूहका धावकले सबैभन्दा छिटो १० किलोमिटर दूरी पार गरेर प्रथम, द्वितीय र तृतीय भए। उनीहरूलाई जनही ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल प्रदान गरेर पुरस्कृत गरिएको छ।

यसैगरी ४० देखि माथिका (भेट्रान) लाई पनि १० किलोमिटर दौडमा सहभागी गराइएको थियो। प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई नगद १० हजार, सात हजार र पाँच हजारसहित पुरस्कृत गरिएको थियो। यसैगरी १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले १० किलोमिटर दौडमा सहभागी भए। उनीहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पनि नगद १० हजार, सात हजार र पाँच हजार प्रदान गरिएको छ।

प्रतियोगितामा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो। जसमा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई जनही पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल प्रदान गरिएको छ। यसैगरी ह्विल चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। जसमा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल प्रदान गरिएको छ।

सबै विधामा पुरुष र महिलाहरूलाई पुरस्कृत गरिएको छ। यस्तै सपरिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहेको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हरेक मानिस जीवनमा दौडिनुपर्ने बताए। ‘आज गाउँको वास्तविक अवस्था हेर्न पाइयो। धेरै मानिस गाउँ फर्किरहेका छैनन्,’ उनले भने, ‘ हरेक मानिस जिन्दगीमा दौडिनुपर्छ। जिन्दगी भनेकै दौड पनि हो।’

उनले जीवनमा दौडेर थाक्न नहुने बताए। योग्य र दक्ष जनशक्ति निर्माणका निम्ति उपमहानगरले बजेट विनियोजन गरेको उनको भनाइ छ। इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले दौडले स्वास्थ्यप्रति चेतना फैलाएको बताए। ‘आगामी वर्षमा हुने कार्यक्रममा वडाबाट बजेट विनियोजन हुनेछ,’ उनले भने, ‘स्वास्थ्य रहनुपर्छ भनेर दौड आयोजना गरिँदा सकारात्मक सन्देश दिएको छ।’

भारतको दार्जिलिङबाट आएका प्रिमुस भुटियाले आफू हार्न, जित्नका लागि नभइ स्वास्थ्यका लागि दौडेको बताए। ‘मात्नुभन्दा सुत्नु राम्रो, सुत्नुभन्दा कुद्नु राम्रो,’उनले भने, ‘मलाई कुद्दा जिस्काउँछन्, तिमी जित्छौ भन्छन्। म जित्नका लागि होइन, स्वास्थ्यका लागि कुदेको हुँ।’ तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार स्थानीय ठाउँलाई चिनाउन र पर्यटन प्रवर्द्धन गर्नका निम्ति उक्त रन कार्यक्रमको आयोजना गरिएको हो। पहिलोपटक तरहरामा यो किसिमको रन कार्यक्रम अयोजना गरिएको र अर्को वर्ष पनि आयोजना गरिने बताए।

प्रकाशित: २६ फागुन २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =