इटहरीका विद्यालयमा एउटै पोसाक लागू, टाइको सट्टा अब भादगाउँले टोपी!

हिमाल प्रेस २५ माघ २०८० २०:४६
40
SHARES
इटहरीका विद्यालयमा एउटै पोसाक लागू, टाइको सट्टा अब भादगाउँले टोपी!

इटहरी- विद्यार्थीबीच बढ्दै गएको असमानतालाई मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन्। अब ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताए। उनका अनुसार नगर शिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो।

‘इटहरीभित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकै खालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी पौडेलले भने। उनले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरेको समेत बताए। छात्रहरूले टोपी लगाउनुपर्ने भनिए पनि छात्राहरूले भने टाइ र टोपी लगाउने छैनन्।

‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनुन् भन्ने उद्देश्य पनि हो,’ पौडेलले भने। निजी स्कुलहरूले ड्रेस पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेको तथ्यसमेत बाहिरिएपछि बिचौलिया प्रवृत्ति रोक्नका निम्ति यो काम गरिएको मेयर पौडेलले बताए। साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरिएको उनले बताए।

विद्यालय मातहतमा कुनै स्टेशनरीका सामाग्री बेच्न नपाइने र भर्ना शुल्कबापत एकपटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थीबापत पटकपटक कक्षा वृद्धि हुँदै जाँदा भर्ना शुल्क लिन नपाइने बताइएको छ।

विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरपालिकाले विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णय गरेको मेयर पौडेलले बताए। विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री वितरण गर्न रोक लगाइएको हो।

प्रकाशित: २५ माघ २०८० २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =