बागलुङका चार विद्यालय गाभिँदा ३१ विद्यालय घटुवा

हिमाल प्रेस ८ वैशाख २०८१ १५:४७
666
SHARES
बागलुङका चार विद्यालय गाभिँदा ३१ विद्यालय घटुवा प्रतिनिधिमूलक विद्यालय

बागलुङ- नयाँ शैक्षिक सत्रको सुरुआतसँगै सदरमुकामका संस्थागत विद्यालयले उच्च प्राथमिकताका साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन्। अभिभावकको घर पुग्नेदेखि सामुदायिक विद्यालयका विद्यार्थी प्रेरित गर्ने अभियान चलिरहेको छ।

सदरमुकामकै केही सामुदायिक विद्यालयमा पनि यो अभियान चलिरहेको छ। तर सबै सामुदायिकमा त्यो जाँगर देखिँदैन। घट्दो विद्यार्थी संख्या, संस्थागत विद्यालयमै अभिभावकको जोडबल र फितलो व्यवस्थापनले दुब्लाउँदै गएका सामुदायिक विद्यालयको व्यवस्थापनमा चुनौती छ।

नयाँ शैक्षिक सत्रको सुरुआतसँगै बागलुङ नगरपालिकाले विद्यालय स्थगन र समायोजन गर्‍यो। यसले सामुदायिक विद्यालयमा सबै पक्षको चासो र मेहनत कम छ भन्ने संकेत गर्छ।

नगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या न्यून भएका चार विद्यालय स्थगन र ३१ विद्यालय समायोजन गरेको छ। शुक्रबार बसेको नगर कार्यपालिका बैठकले केही विद्यालय स्थगन गर्ने र केही विद्यालय घटुवा गर्ने निर्णय गरेको हो।

बैठकले आधारभूत तहका चार विद्यालय नजिकका विद्यालयमा पूर्णरूपमा गाभ्ने निर्णय गरेको छ। वडा नं ९ का रानीभुमे र सरस्वती सामुदायिक प्रावि, वडा नं १२ को कालीगण्डकी र वडा नं १३ को लक्ष्मीनारायण संस्कृत पाठशाला स्थगन गर्ने निर्णय भएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

त्यस्तै आठवटा विद्यालयमा बालविकास केन्द्र मात्रै सञ्चालन गर्ने, ११ विद्यालयमा बालविकास केन्द्र र कक्षा १ मात्रै सञ्चालन गर्ने, एउटा विद्यालयमा कक्षा १ मात्रै, पाँच विद्यालयमा कक्षा १ देखि ३ सम्म सञ्चालन गर्ने, दुई विद्यालयमा कक्षा ४ र चार विद्यालयमा कक्षा ६ सम्म कक्षा सञ्चालन गर्नेगरी ३१ विद्यालयमा तह मिलान गरिएको हो।

बागलुङ बजारको मुटुमा रहेको बालमन्दिर आधारभूत विद्यालयदेखि भौगोलिक हिसाबले दूरदराजमा पर्ने ओख्ले प्राविसम्मका विद्यालय घटुवामा परेका छन्। नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यविधिअनुसार विद्यार्थी संख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गरिएको उनले बताए।

नगरप्रमुख श्रेष्ठले विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको बताए। सामुदायिक विद्यालयमा नयाँ प्रविधिको प्रयोगसँगै अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए। शैक्षिक सुधारका लागि नगरपालिकाले विद्यालयको अवस्था बुझेर प्रतिवेदन तयार गर्न समिति बनाएको थियो।

नगर शिक्षा समिति, अनुगमन तथा सिफारिस समिति र नगरसभा तथा कार्यपालिकामा भएका छलफलका आधारमा विद्यालय स्थगन तथा घटुवाको निर्णयमा पुगेको नगर प्रमुख श्रेष्ठ बताउँछन्। नगरको यो निर्णयबाट प्रभावित हुने शिक्षक विद्यार्थीको व्यवस्थापनका लागि उपयुक्त कदम चालिने उनले बताए।

कक्षा १ देखि ३ सम्म २१ जना, ४ देखि ५ सम्म १४ जना, ६ देखि ८ सम्म २७ जना, ९ देखि १० सम्म ३० जना र ११ देखि १२ सम्म ३० जना विद्यार्थी हुनुपर्ने अनिवार्य मापदण्डलाई प्रमुख आधार बनाएर विद्यालय स्थगन तथा समायोजन भएका हुन्। घटुवा हुने विद्यालयमा वडा नं २ को बालमन्दिर आवासीय विद्यालय, वडा नं ३ को वसुन्धरा प्रावि, वडा नं ४ का देउराली प्रावि र उपल्लाचौर आवासीय विद्यालय, वडा नं ५ का मालिका आवासीय र कृष्ण आवासीय विद्यालय , वडा नं ६ का सदाशिवा प्रावि, आधारभूत प्रावि र भगवती प्रावि रहेका छन्।

त्यस्तै वडा नं.७ का जनचेतना प्रावि र ज्योतिपुञ्ज प्रावि, वडा नं ८ का भैण्डाँडा आवि र भगवती प्रावि, वडा न ९ का सरस्वती प्रावि, जनसेवा प्रावि, तित्याङ प्रावि, इन्द्र प्रावि, कृष्ण प्रावि, वडा नं १० का सरस्वती प्रावि र बराहा प्रावि, वडा नं ११ का सरस्वती प्रावि, ओख्ले प्रावि, सिद्ध प्रावि र सहीद स्मृति प्रावि, वडा नं १२ का सरस्वती प्रावि, बुद्धिदात्री प्रावि, भैरव प्रावि र जगन्नाथ प्रावि, वडा नं १३ का दुर्गा भवानी प्रावि, सरस्वती प्रावि र वडा नं १४ को आधारभूत आवि रहेका छन्।

स्थगन भएका विद्यालय विद्यार्थी संख्या पुगेका बेला जुनसुकै समयमा सञ्चालन गर्न सकिने गरी भौतिक संरचना संरक्षणको जिम्मेवारी दिने निर्णयसमेत बैठकले गरेको छ। सम्बन्धित वडाका वडाअध्यक्ष, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहेको समितिले खाली भएका संरचनाको व्यवस्थापन सहजीकरण गर्नेछन्।

पुस्तकालय, सिकाइ केन्द्र, प्रशिक्षण केन्द्र तथा सामुदायिक भवनका रुपमा प्रयोग गर्न भवनको उपयोग गरिने नगर उपप्रमुख राजु खड्काले बताए। स्थगन र घटुवा हुँदा मौजुदा शिक्षक बच्ने भएकाले सोही वडाको अर्को विद्यालयमा व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ। रासस

प्रकाशित: ८ वैशाख २०८१ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =