काठमाडौँका यी ठाउँमा पार्किङ गर्दा पैसा लाग्दैन

हिमाल प्रेस १५ माघ २०८० २०:३१ | Monday, January 29, 2024
काठमाडौँका यी ठाउँमा पार्किङ गर्दा पैसा लाग्दैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले २ हजार २ सयवटा दुईपाङ्ग्रे र ३ सय वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको छ। काठमाडौँको न्युरोड जाने सवारी धनीहरूका लागि पार्किङ उपलब्ध गराइएको हो।

महानगरपालिकाका अनुसार यो संख्या न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङको संख्याभन्दा धेरै हो। अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र पनि १ हजार ५ सय २ पाङ्ग्रे सवारी साधन अट्ने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए।

‘यससँगै काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा ७ सय वटा २ पाङ्ग्रे र ३ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ। यो निःशुल्क पार्किङ् सेवा हो,’ उनले भने, ‘यसबाहेक न्युरोडमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनहरू छन्। ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ।’

पाण्डेका अनुसार आज (सोमबार) धरहराको पार्किङ भवनमा करिब ९ सय जना सवारी चालकले निःशुल्क पार्किङको सेवा लिएका छन्।

कालोपत्रे सडकलाई सवारी आवागमनका लागि मात्र प्रयोगमा ल्याउन महानगरपालिकाले यस्ता ठाउँलाई पार्किङ निषेध गरिरहेको छ। माघ ९ गतेदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ। यस्तै बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ।

प्रकाशित: १५ माघ २०८० २०:३१ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast