शुभकामनामा मुख्यमन्त्रीले किन लेखेनन् प्रदेशको नाम?

हिमाल प्रेस १५ पुष २०८० १२:५०
20
SHARES
शुभकामनामा मुख्यमन्त्रीले किन लेखेनन् प्रदेशको नाम?

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना दिँदा प्रदेशको नाम (कोशी प्रदेश) को नाम नलेखेको विषय अहिले सामाजिक सन्जालमा चर्चामा छ। शुभकामनामा प्रदेशको नाम नलेखेको भन्दै आलोचना भइरहेको छ।

उनले दिएको शुभकामनामा लेटरहेडको दायाँतिर विराटनगर नेपाल लेखिएको छ। लेडरहेडको बायाँतिर निशाना छाप र मुख्यमन्त्री लेखिएको छ। शुभकामनाको तलतिर मुख्यमन्त्री केदार कार्की लेखिएको छ। तर कार्की कुन प्रदेशका मुख्यमन्त्री खुलाइएको छैन।

कोशीका मुख्यमन्त्रीले शुभकामना दिँदा शुभकामनाको माथिपट्टि नै प्रदेशको नाम खुलाइएको हुन्थ्यो।

यो शुभकामना मुख्यमन्त्रीको आधिकारिक पेजबाटै सार्वजनिक गरिएको छ। जहाँ ‘तमु ल्होसारको शुभकामना अवसरमा मुख्यमन्त्रीज्युले जारी गर्नुभएको शुभकामना सन्देश’ लेखिएको छ। तर शुभकामना केही समयपछि डिलिट गरिएको छ।

योसँगै पेजमा फेरि शुभकामना सन्देश दिइएको छ। शुभकामना सन्देश हुबहु छ तर माथिपट्टि कोशी प्रदेश लेखिएको छ। जहाँ ‘कोशी प्रदेश छुट्न गएकोमा सच्याइएको’ भनिएको छ। प्रदेशको सचिवालयले गल्तीले छुट्न गएको भनेको छ।

लेटरहेडमा सच्याइएको भनिए पनि सामाजिक सन्जालमा मुख्यमन्त्रीको आलोचना भइरहेको छ। कोशीमा प्रदेश नाममा अहिले पनि विवाद छ। पहिचानपक्षधरले कोशी नाम बहिस्कार गरिरहेका छन्।

मुख्यमन्त्री कार्कीलाई समर्थन गरेको दल नेकपा माओवादी केन्द्र पनि अहिले पहिचानको पक्षमा छ। यही कारण मुख्यमन्त्रीले प्रदेशको नाम नखुलाएको सामाजिक सन्जालमा चर्चा भइरहेको छ। यता सचिवालयले भने यसबारे जानकारी दिन चाहेको छैन।

यता पहिचान पक्षधर भने मुख्यमन्त्रीको शुभकामनालाई लिएर आफ्नो कार्यक्रमले मुख्यमन्त्रीलाई दबाबमा पारेको बताइरहेका छन्।

लामो विवादपछि प्रदेश १ को नाम कोशी राखिएको थियो। तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेस, एमाले र माओवादीसँग सहकार्य गर्दै गत फागुन १७ मा कोशी नाम राखेका थिए। नामकरणलाई लिएर प्रदेशमा विभिन्न आन्दोलन भए।

 

प्रकाशित: १५ पुष २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =