बालकुमारी घटना : गृह मन्त्रालय तानिए ललितपुरका सीडीओ पण्डित

हिमाल प्रेस १४ पुष २०८० १८:०४
84
SHARES
बालकुमारी घटना : गृह मन्त्रालय तानिए ललितपुरका सीडीओ पण्डित

काठमाडौँ- बालकुमारी घटनाका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित गृह मन्त्रालय र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन्।

बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्कोअगाडि शुक्रबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु घटनामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्रालयले सीडीओ पण्डित र एसएसपी शाहको सरुवा गरेको हो।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ।’

शुक्रबार दिउँसो बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएपछि घटेको घटनाका कारण प्रहरीको गोली लागेर दुईजना युवाको मृत्यु भएको थियो।

घटनामा परी अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो।

उक्त घटनाको छानबिन गर्न सरकारले छानबिन समितिसमेत बनाएको छ। आजै बसेको मन्त्रिपरिषद् बैठकले मृतक दुई युवाका परिवारलाई राहतस्वरूप १० १० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ।

मन्त्रालयले छानबिन समितिले काम गरिरहेको हुँदा समितिको प्रतिवेदन प्राप्त भएपछि सो बमोजिम कार्यान्वयन गरिने भएकोले छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसो) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको पनि जनाएको छ।

यस्तै कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई पनि निलम्बन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

ललितपुरका सीडीओ पण्डित र एसएसपी शाहसहित पाँचजनाको जिम्मेवारी खोसुवा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =