बालकुमारी घटना

ललितपुरका सीडीओ पण्डित र एसएसपी शाहसहित पाँचजनाको जिम्मेवारी खोसुवा

हिमाल प्रेस १४ पुष २०८० १५:११
1.7k
SHARES
ललितपुरका सीडीओ पण्डित र एसएसपी शाहसहित पाँचजनाको जिम्मेवारी खोसुवा

काठमाडौँ- गृह मन्त्रालयले बालकुमारी क्षेत्रमा शुक्रबार भएको घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै ललितपुरका सुरक्षा अधिकारीहरूसहित सम्बद्ध सरकारी अधिकारीको जिम्मेवारी खोसेको छ। मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पाँच जनाको जिम्मेवारी खोसेको हो।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा अधिकारीहरूबीच शनिबार भएको छलफलले उक्त निर्णय गरेको हो। गृहमन्त्री श्रेष्ठले ललितपुरका ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा तान्ने निर्णय भएको जानकारी दिए। यसैगरी ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तान्ने निर्णय भएको छ।

प्रदर्शनको सुरक्षामा खटिएका डीएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ भने मन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका पीएसओ बोधराज दनुवार पनि निलम्बनमा परेका छन्। यसैगरी ईपीएस शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई सरुवा गर्ने निर्णय बैठकले गरेको छ।

बालकुमारी क्षेत्रमा मन्त्री ज्वाला चढेको गाडीमा आगजनी भएपछि प्रदर्शनले हिंसात्मक रूप लिएको थियो। त्यस क्रममा दुई युवाको ज्यान गएको थियो। गृह मन्त्रालयले पीएसओ नेतृत्व गर्ने निकायमाथि छानिबन गर्ने भएको छ। गृहमन्त्री श्रेष्ठले भने, ‘घटनाबारे सरकार गम्भीर छ। हामीले छानिबन समिति गठन गरिसकेका छौँ। समितिले दिएको सिफारिसका आधारमा हामी अघि बढ्नेछौँ।’

शुक्रबार भएको प्रदर्शनमा दैलेखको महाबु गाउँपालिका–६ रानीवनका २३ वर्षीय सुजन राउत र अछामको चौरपाटी गाउँपालिका-१ सिउँडीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। उनीहरू दुवै कोरियन भाषा अध्ययन गरिरहेका थिए।

सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र उनीहरूको शव परिवारले भनेकै ठाउँमा पुर्‍याउने तयारी सरकारको छ।

प्रकाशित: १४ पुष २०८० १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =