जोखिममा कुतियाकबर वस्ती, जोगबुढा नदीमा समाहित हुने त्रास

हिमाल प्रेस १० पुष २०८० २१:४२
4
SHARES
जोखिममा कुतियाकबर वस्ती, जोगबुढा नदीमा समाहित हुने त्रास

कञ्चनपुर- कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-१० सीमा वस्ती कुतियाकबरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ। तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ।

महाकाली र जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकबर वस्ती दुवै तर्फबाट जोखिममा छ। वस्ती जोगाउन दुई सय मिटर तटबन्ध निर्माणको योजना अघि बढाइएको थियो। सो कार्यको जिम्मा लिएको महेन्द्रनगरस्थित जोशी निर्माणले काम गर्न ढिलाइ गरेको छ।

कुतियाकबरका स्थानीयवासीले हिउँदमा जसरी पनि तटबन्ध निर्माण गर्न आग्रह गर्दै आएका छन्। ‘अहिले नदीमा पानी घटेकाले निर्माण गर्न सहज हुन्छ, बर्खामा काम गर्न सकिन्न,’ स्थानीय बहादुरसिंह सुनारले भने, ‘नदीले बर्सेनी बर्खामा खेतीयोग्य जमिन कटान गर्दै आएको छ।’

२०२० मा बसेको सीमा बस्ती बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सयभन्दा बढी परिवार विस्थापित भइसकेको उनले बताए।

बाढीले जग्गा कटान गर्दा बस्ती पातलिँदै गएको छ। अब यहाँ ४२ परिवारको मात्रै बसोबास छ। बर्खामा नदीको भ‌ंगालो गाउँ पस्दा जमिन बालुवाले भरिएको छ। बालुवाका कारण उब्जनी घट्दै गएको छ।

जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरका प्रमुख श्रीप्रसाद यादवले महाकाली नदीको झोलुंगे पुलदेखि दक्षिण कुतियाकबरसम्म महाकालीको तटबन्ध मर्मत र कुतियाकबरमा दुई सय मिटर तटबन्ध निर्माणको सम्झौता भएको बताए।

कुतियाकबरमा एक किलोमिटरभन्दा बढी लम्बाइको तटबन्ध निर्माण भए मात्रै जमिन जोगिने अवस्था रहेको प्रमुख यादवले बताए। कुतियाकबर बस्ती जोगाउन आवश्यक पर्ने तटबन्ध निर्माणका लागि बजेट अभाव भएको उनको भनाइ छ। कुतियाकबर सीमावस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गत वर्ष १६ करोड ८५ लाखमा ठेक्का दिइएको थियो।

दोधारा चादँनी नगरपालिका-१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले वर्षातअघि तटबन्ध निर्माण नभए बस्तीसँगै सीमा नै जोगबुढा नदीमा समाहित हुने अवस्था रहेको बताए।  ‘कुतियाकबर बगे नेपाल-भारत सीमा नै जोगबुढा नदीमा परिणत हुन्छ,’ उनले भने। निर्माण अघि पारी कुतियाकबर जान जोगबुढामा अस्थायी बाटो बनाउनुपर्ने वडाध्यक्ष सिंहको भनाइ छ। रासस

प्रकाशित: १० पुष २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =