कार्यसूचीमै प्रवेश नभएर स्थगित भयो कानुन समितिको बैठक

हिमाल प्रेस ८ पुष २०८० २०:३४
8
SHARES
कार्यसूचीमै प्रवेश नभएर स्थगित भयो कानुन समितिको बैठक

काठमाडौँ- कानुन, न्याय तथा मानवअधिकार समितिको आज (आइतबार) को बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम थियो।

सबै संशोधनकर्ता सदस्यलाई आगामी एउटै बैठकमा बोलाएर सम्पूर्णको भावना सुन्नुपर्छ भन्नेमा मतैक्यता भएपछि बैठक स्थगित भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘संशोधनकर्ता सदस्यको भावना बुझ्दा सबै संशोधनकर्तालाई एकैपटक बोलाएर विचार सुन्नुपर्छ भनेपछि सोहीअनुरुप गर्ने भन्ने भएको छ,’ उनले भने। विगतमा थोरै संशोधन परेकामा व्यक्ति विशेषलाई र धेरै संशोधन रहेकामा समूहगतरूपमा संशोधनबारे छलफल गर्ने अभ्यास रहिआएको छ।

समूहगतरूपमै छलफल गराउने विषयमा सबै दलका नेताबीच पनि बैठकमा सहमति भएको थियो। सोअनुरूप समितिको यही पुस १६ गते बस्ने बैठकमा सबै संशोधनकर्ता सदस्यलाई आमन्त्रण गर्ने निर्णय भएको छ।

आगामी बैठकमा हुने छलफलका आधारमा आगामी बैठकमा कसरी प्रस्तुत हुँदा उपयुक्त हुन्छ भन्ने निक्र्योल गर्ने प्रमुख सचेतक लेखकले बताए।

उक्त विधेयकमाथि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका ६२ जना सदस्यको संशोधन परेको छ। नेकपा ९एमाले०का पोलिटब्युरो सदस्य रघुजी पन्तले समितिले बैठक बोलाएको प्रक्रिया नै नमिलेको प्रतिक्रिया दिए।

‘सशोधनकर्तामध्ये केहीलाई मात्र बोलाइयो, नियमावली र विगतको प्रचलन संशोधनकर्ता सबैलाई बोलाइनुपर्छ। सांसदले एकअर्काको कुरा सुन्नुपर्छ। फरकफरक विषयमा जानकार हुन सक्छ, आफूले राखेको संशोधनमा अर्काको कुरा सुनेपछि चित्तबुझ्न सक्छ र फिर्ता लिने वातावरण बन्छ,’ उनले भने। नेता पन्तले सबैलाई एकै ठाउँमा राखेर छलफल गराएपछि मात्रै साझा निष्कर्षमा पुगेर बनाएको कानुन पूर्ण हुने बताए।

सोही दलकी रणकुमारी बलम्पाकीले यही १६ गते बस्ने बैठकमा सबै संशोधनकर्तालाई आमन्त्रण गरी समूहगतरुपमा छलफल गर्ने निधो भएको बताए। समितिले बैठकमा २०र२० जना बोलाएर छलफल गर्ने कार्यतालिका बनाएको थियो।

प्रकाशित: ८ पुष २०८० २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =