आफूमाथि प्रहार भएको खोया सजाएर राख्ने रास्वपा अध्यक्ष लामिछानेको प्रतिबद्धता

हिमाल प्रेस ७ पुष २०८० २०:४७
26
SHARES
आफूमाथि प्रहार भएको खोया सजाएर राख्ने रास्वपा अध्यक्ष लामिछानेको प्रतिबद्धता

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा आयोजित सभामा मकैको खोया प्रहार भएको छ। अमरसिंहचौरस्थित खुला सभालाई शनिबार दिउँसो सम्बोधन गरिरहेका बेला उनीमाथि एक दर्शकले खोया प्रहार गरेका हुन्।

उक्त कार्यमा संलग्न लमजुङ घर बताउने २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर थापाले ती युवकसँग सोधपुछ भइरहेको बताए। उनका अनुसार प्रारम्भिक सोधपुछमा ती युवकले ‘एक्सिडेन्टल्ली’ हो ‘इन्टेनसन्ल्ली’ होइन भने पनि घटना शंकास्पद रहेको बताए।

ती युवक सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितमध्ये एक बचतकर्ता हुन सक्ने सम्भावना रहे पनि उनको परिचय खुल्ने कागजात नभएको एसपी थापाले बताए।

यसैबीच रास्वपा सभापति लामिछानेले उक्त घटनालाई आफ्नो जीवनकै स्मरणीय क्षण भएको प्रतिक्रिया दिएका छन्। उनले मकैको खोया हान्ने कार्यलाई ‘सकारात्मक’ मान्दै उक्त खोया आफ्नो बाचा पूरा नभएसम्म जोगाएर राख्ने बताए। उनले भने, ‘जबसम्म तपाईं र मैले देखेको सपना जबसम्म पूरा हुँदैन, तबसम्म सजाएर राख्नेछु। मैले जति काम गरेँ, त्यसको मूल्यांकन तपाईंले गर्नुहोला। मैले गरेको हिसाबको प्रतिफल पाएको छु।’

‘आजको दिन मेरा लागि स्मरणीय हुनेछ। सञ्चारकर्मी भएर गरेको सेवा, अनवरत नेपालीलाई गरेको सेवा, चाहे भूकम्प जाओस्, विदेशमा बेचिएका नारीको उद्धार होस्, बाढीपीडितको उद्धार होस्, अस्पताल बनाएको होस्, कोरोनाको बेला बिरामीलाई अक्सिजन उपलब्ध गराएको होस् को जवाफ मैले पाएको छु, त्यसको फल म पाएको छु,’ उनले भने, ‘मुटुको अन्तरकुनामा जोगाएर राख्नेछु। सिँचाइ, सडक, पूर्वाधार, रोजगारी सिर्जना, व्यापारव्यवसाय फस्टाएसम्म, पर्यटनले आकाश नछोडएसम्म मनमा सजाएर राखेछु। कर्मको माध्यमबाट जवाफ दिनेछु।’

सम्बोधनका क्रममा उनले यो देशमा राम्रा नीतिहरू बनाएर, ती नीति पालना गर्ने नेतृत्वलाई लिएर समाधान गर्नुबाहेक आफूहरूसँग कुनै पनि उपाय नभएको बताए। उनले हरेक विषयमा अब्बल र जानेका मानिस लिएर अगाडि जानुको विकल्प नभएको उनको जोड थियो।

‘निर्वाचनका बेला मैले भनेको कुरा, टेलिभिजनमा बोलेका कुरा र यहाँ भनेका कुरामा मुद्दा एउटै हो, केही फरक छैन,’ उनले भने, ‘ती सबै आमजनताका मुद्दा हुन्, हरेक गरिब नेपालीको मुद्दा, चुलोका मुद्दा हुन्। ती मुद्दा पूरा गर्न हामी राजनीतिमा आएका हौँ।’ नयाँ उदाएको दल रास्वपालाई पनि विश्वास गर्न अनुरोध गरे।

लामिछानेले देशका गलत नीति संशोधन गरेर नयाँ नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘संविधानमा अनेक प्रश्न छन्। ती प्रश्न यथावत् राखेर हामी जनताको मुद्दामा केन्द्रित छौँ। हाम्रो कुरा भनेको तपाईँ बिरामी पर्दा रोगको उपचार गर्न पाउने कि नपाउने भन्नेमा केन्द्रित भएर हिँडिरहेका छौँ।’

लामिछानेले पोखरामा सूर्यदर्शन तथा इमेज सहकारीका बचतकर्ताले बचत रकम फिर्ता नपाएको विषय उल्लेख गर्दै पीडितले आफ्नो पसिना बगाएर आर्जेको रकम जबसम्म फिर्ता आउँदैन, तबसम्म आफू अग्रपंक्तिमा रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले भने, ‘ती पीडितको नामको अग्रपंक्तिमा मेरो नाम लेख्नुहोला, तपाईंले साथ छोडे पनि म साथ छोड्नेवाला छैन।’

आफू पनि सूर्यदर्शनमा जोडिएको भन्ने विषयमा उनले प्रस्ट पार्दै भने, ‘म तपाईंलाई साक्षी राखेर भन्छु, मैले कुनै पनि अपचलनमा आफूलाई सहभागी गराएका छैन। कुनै अपचलन गरेको छैन। जनताको रकम अपचलन गर्ने कार्यमा सहभागी छैन। कुनै दिन भेटेछ भने हातमा हत्कडी लगाउनू।’

लामिछानेले सहकारी पीडितको आन्दोलनमा सबैभन्दा बढी सदन र सडकमा आवाज उठाउने रास्वपा नै भएको दाबी गरे। उनले भने, ‘नेपालका लघुवित्त र सहकारी पीडितका पक्षमा सबैभन्दा दह्रिलो आवाज उठाउने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो।’

उनले चुनाव हुनुभन्दा पाँच महिना पहिले दर्ता भएको पार्टीले २०/२१ सिट ल्याउँछ भने यो देशमा परिवर्तन सम्भव छ भन्ने पुष्टि भएको बताए। जनतलो दिएको आँट र ऊर्जा लिएर आफूहरू अघि बढ्ने प्रतिबद्धता जनाउँदै लामिछानेले भने, ‘राजनीतिमा आइसकेपछि कहिले हजारौँको भीड हुन्छ, केही एक्लै भइन्छ। तर लक्ष्य चुम्न अनवरत हिँडिरहनुपर्छ।’

प्रकाशित: ७ पुष २०८० २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =