कवितामार्फत महानगरको सुन्दर सपनामा डुबेका शिक्षक

हिमाल प्रेस २५ मंसिर २०८० १३:५३
702
SHARES
कवितामार्फत महानगरको सुन्दर सपनामा डुबेका शिक्षक

काठमाडौँ- बालबालिकालाई विभिन्न प्रतिस्पर्धामा सहभागी गराएर कहिले निर्णायक त कहिले कार्यक्रम सञ्चालक हुँदै आएका शिक्षक फरक भूमिकामा देखिएका छन्। काठमाडौँ महानगरपालिकाभित्रका शिक्षकहरू आफैँ प्रतिस्पर्धीका रूपमा प्रस्तुत भएका हुन्। सन्दर्भ हो, काठमाडौँ महानगरपालिका स्थापना दिवसका अवसरमा महानगरपालिकाको शिक्षा विभागको समन्वयमा भएको विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आयोजित कविता प्रतियोगिता।

शीर्षक थियो, ‘मेरो सपनाको महानगर।’ सोही शीर्षकमा आधारित भएर ३२ जना शिक्षक कविहरूले आफूले देख्न चाहेको महानगरको परिकल्पना गरेका छन्।

निजी र सामुदायिक अनि जुनसुकै तहका शिक्षकले पनि भाग लिन पाउने व्यवस्था गरिएको कविता प्रतियोगितामा भर्खरै सेवा प्रवेश गरेका शिक्षकदेखि अवकाश हुनै लागेका शिक्षकले महानगरबारे आफ्नो सपना व्यक्त गर्दा दर्शकदीर्घामा रहेका विद्यार्थी उत्साहित भएर थपडी बजाइरहेका थिए। केही विद्यालयका प्रधानाध्यापक प्रतिस्पर्धामा सहभागी भएर कवितावाचन गर्दा कार्यक्रम थप आकर्षक बनेको थियो।

महानगरपालिकाले १५० शब्दमा नबढाई लेख्न निर्देशन भए पनि अधिकांश शिक्षकले त्यसको पालना गरेका थिएनन्। कतिपय शिक्षकले छन्दमा कविता लेख्न प्रयास गरेका थिए। तर छन्दमा लेख्न नजान्दा कविता अकविता बनेका थिए। विज्ञ मूल्यांकनकर्ताबाट छनोट भएका कविता मात्रै वाचन गर्ने भनेर पूर्वजानकारी गराए पनि पेस भएका सबै कविता प्रतिस्पर्धामा सहभागी गराइएको थियो।

अर्कोतिर निर्णायकले छन्दका कवितालाई बढी प्राथमिकता दिँदा गद्यमा लेखिएका स्तरीय कविता प्रतिस्पर्धामा अगाडि आउन नसकेको गुनासो केही प्रतिस्पर्धीको थियो। नेपाली कविता छन्दको घेराबाट उहिल्यै बाहिर आइसकेको विषयमा निर्णायकले चासो नदिएको उनीहरूको टिप्पणी छ। यद्यपि शास्त्रीय छन्दमा लेखिएका कविताको विशेष ओज हुनेमा सबैको एकमत छ।

अधिकांश शिक्षकले स्मार्ट सहर, कलासंस्कृतिका साथै ज्ञानविज्ञानको धनी र आदर्श सहरको सपना देखेका थिए। उनीहरूका कवितामा महानगरको वैभवपूर्ण इतिहास, यहाँको संस्कृति, खानपान, नृत्य, मठमन्दिर, गुम्बा आदिको परिचयात्मक प्रस्तुति पाइन्थ्यो। शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक विकासका पक्षमा अघि बढ्नुपर्ने आवाज उनीहरूले कवितामार्फत मुखरित गरे। लाखे, धिमे, गाईजात्रा, इन्द्रजात्रा, जीवित देवी कुमारी, वसन्तपुर, स्वयम्भू, बौद्धनाथ, नारायणहिटीसहितका सम्पदा संरक्षण गरेमा पर्यटक भित्र्याई विदेशी पैसा आर्जन गर्न सकिनेमा सबैको समान भावना थियो।

महानगरको सभ्यता, संस्कृति, मौलिकता जोगाएर राख्नुपर्ने उनीहरूको चाहना छ। वातावरण र पर्यटनमा क्षेत्रको विकास भएमा महानगरको भविष्य उज्यालो रहेको उनीहरूले औँल्याए। इन्धनमा बिजुलीको मात्र प्रयोग, व्यस्त क्षेत्रमा फ्लाई ओभर, मेट्रो रेल आदिको परिकल्पना उनीहरूले गरेका छन्। यसका लागि स्थायी सरकार, दूरदृष्टि भएको नेतृत्व र भ्रष्टाचाररहित प्रशासन संयन्त्र हुनुपर्ने आवाज उनीहरूका कवितामा व्यक्त भएका छन्।

संस्कृत माविका माधव लामिछानेले सीपयुक्त शिक्षक र योग्य नेतृत्व भएमा महानगर विश्वको नमुना बन्न सक्ने भावना व्यक्त गरे। जनजागृति माविकी चन्द्रकुमारी चौलागाई ‘शारदा’ ले भोकमरी, महँगी र कालोबजारी अन्त्य भई समानता मौलाएको महानगर परिकल्पना गरिन्।

बाँसबारी माविका बैकुण्ठ पौडेलले नेवारी तिथि र उत्सवले महानगरलाई विश्वमै चिनाएको सन्दर्भ जोड्दै सारा भूगोलका यात्रालाई पर्यटक बनाएर भित्र्याउन सके महानगर समृद्ध हुने सपना देखेका छन्।

अरुणोदय आधारभूत विद्यालयकी विमला पाण्डेले महानगरमा रातलाई दिनजस्तै बनाउने सपना कोरिन्। गगनचुम्बी महलको चाहना नभएमा भूकम्पको जोखिम नहुने उनको अभिव्यक्ति छ।

शारदा आधारभूत विद्यालयकी मुना थापाले आफूले स्वर्गको माथ नै झुक्ने खालको महानगरको रूप देखेकाले विपनामा पनि त्यस्तै बनाउन सबैले कम्मर कस्नुपर्नेमा जोड दिइन्।

 

प्रभात माविका माधव घिमिरे ‘अटल’ ले समतामूलक महानगरको सपना देखेका छन्। अर्की प्रतियोगी नवजागृति माविकी विनिता गौतम धुवाँधुलो र फोहरमैलारहित महानगर भए मात्र विदेशी पर्यटक लोभिन सक्ने पक्षमा देखिइन्। मठमन्दिरमा देशीविदेशी पर्यटकको घुइँचो होस् भन्न कामना उनको थियो।

रत्नराज्य माविकी शारदाकुमारी रेग्मीले भाषासंस्कृतिको बोट लटरम्म फलिरहोस् भनेर कामना गरिन्। उनले हावापानी, आकाश र ध्वनि पवित्र भएमा मात्रै गौरवमय इतिहास बोकेको काठमाडौँको भव्यता विश्वभर फैलन सक्ने धारणा व्यक्त गरिन्।

हिमालय माविका शेषकान्त घिमिरेले प्राचीन महानगरलाई भव्य बनाउन भौतिक विकास, सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार गरी विदेशी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए। आफूले महानगर वैभवशाली बनेको सपना देखे पनि नेतृत्वमा खराब व्यक्तित्व पुग्दा त्यो पूरा गर्न कठिन रहेको गुनासो उनको छ।

नन्दी माविका परशुराम लामिछानेले चोरी, तस्करीको कुरा सुन्नै नपर्ने अवस्था आउनुपर्ने भाव व्यक्त गरे। उनले विश्व मानचित्रमा काठमाडौँ प्रख्यात होस् भनेर कामना पनि गरे।

संस्कृत माविका लेखबहादुर विकले नगरवासी कहिल्यै अभावमा बस्न नपरोस् भनेर आफूले देख्दै आएको सपना अब उच्च पदस्थहरूले देख्नुपर्ने अभिव्यक्ति कवितामार्फत व्यक्त गरे।

सहयोगी विद्यालयका भूपालबहादुर रामले महानगरमा मानवीयता भएका मान्छेको बसोबास होस्, हुँदा खाने र हुने खानेबीचको विभेद अन्त्य होस् भन्ने कामना गर्दै आफूले आन्दोलन र धुवाँका मुस्लोरहित सहरको परिकल्पना गरेको औँल्याए।

भ्याली भ्यु स्कुलका योगराज पौडेलले कलकलाउँदो संस्कृतिको गाथा गाए। उनले कवितामार्फत सिंगो नेपालको कान्ति काठमाडौँ महानगरमा अटाएको चर्चा गरे। सिद्धेश्वर माविकी पार्वतीदेवी अधिकारीले कुनै मन्दिरमा घाँस नउम्रने र ढुंगेधाराको अस्तित्व नाश होस् भन्ने सपना देखेको सन्दर्भ जोडिन्।

सेवा सदन स्कुलकी शर्मिला तिमल्सिनाले न्यूनतम मानवीय आवश्यकता खाना र नानाको अभावले कसैले दुःख भोग्न नपरोस् भन्ने कामना गरिन्।

कुलेश्वर माविका भानुभक्त बिष्टले तारहरूको गुजुल्टो जसरी आफूले देखेको महानगरको सपना नगुल्टियोस् भनेर नेतृत्वलाई खबरदारी गरे। आफ्नो सपना दारीवाल मान्छेको चश्माको चमक नभएर मखमली स्याउजसरी मुस्कुराइरहेको भनाइ उनको थियो।

विजय स्मारकका वीरेन्द्र नेपालले यातायात, गासबास, शिक्षा, सुसभ्य जनता, स्वच्छ हावा भएमा महानगरको जीवन सुन्दर हुने र चन्द्रसूर्यजस्तै बनेर महानगर चम्किइरहने सपना देखे।

विजय स्मारककै सुस्मिता राज्यलक्ष्मीदेवी हमालले संसारले एकपल्ट नियाल्न बाध्य हुने गरी समृद्धिको ढोका खोल्न ढिलाइ भइसकेको भन्दै नेतृत्वलाई झकझक्याइन्। साथै उनले धिमे, ढोलक र बाँसुरीले राष्ट्रियताको गाथा गाइदिऊन् भन्ने कामना गरिन्।

जनविकास माविकी सरिता आचार्य अकेलीले जताततै हराभरा भएको, विकास लहरमा उडान भएको महानगरको सपना कोरिन् भने अहिंसा, शान्ति, मानवताजस्ता बुद्धका मूलमन्त्रलाई अवलम्बन गर्ने समाज आवश्यक रहेकोमा जोड दिइन्।

प्रतिपर्स्धामा पहिलो भएको कविता।

ज्ञानोदय माविका प्रकाश काफ्लेले चौँडा सडक, सुन्दर बगैँचा र स्वच्छ हावासहित महानगरको सपना देखे। विकृति अन्त्य भई वाह!वाह! महानगर भन्न सक्ने खालको सहर हुनुपर्नेमा उनले जोड दिए। सम्पदा जोगाउन देवदूत बनेर वरदान देऊन् भन्ने कामना पनि उनको छ।

ज्ञानोदय माविकै शकुन्तला महर्जनले सांस्कृतिक वैभव, विदेशी पर्यटकको आगमन, मौलिक संस्कृति, खुला अनि फराकिला मार्गहरू भएको महानगरको सपना देखेकी छन्।

शारदा आधारभूत विद्यालयका शम्भु थपलियाले चोकचोकमा हरिया उद्यान बनेको, हिन्दू, बौद्ध, इसाई र किरातबीच सहिष्णुता कायम भएको महानगरको परिकल्पना गरे।

सरस्वती निकेतन माविकी माधवी सापकोटाले सीपयुक्त शिक्षाले युक्त कक्षाकोठा, प्रविधिमा रमेर समाजको सार बनेको शिक्षक र युवा सीप स्वदेशमै चलेमा महानगर समृद्ध हुने सपना कोरेकी थिइन्। साथै उनले स्वास्थ्य संस्था बिरामी कुरुवा नै बिरामी बन्ने अवस्थाको नहोस्, विश्व बजारमा हाम्रै कलाको बासना पुगोस् र भ्रष्टाचार उखेलियोस् भन्ने कामना गरिन्।

एपेक्स लाइफ स्कुलकी रिमा केसीले सफा बागमतीमा माछाहरू उफ्रियून्, घरघरमा पानीको पहुँच पर्याप्त रहोस् र फराकिला एक्सप्रेस सडक बनेको महानगरको सपना प्रस्तुत गरिन्। मेट्रो ट्रेनमा विद्यालय र कार्यालय आउजाउ गरिरहेका मानिस, शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच पुगेको सहर, लुटतन्त्र अन्त्य भएको विश्वमै उदाहरणीय महानगरको परिकल्पना उनको छ।

बालविकास आधारभूत विद्यालयका रुद्रप्रसाद पोखरेलले महानगर महानगर बनेको सपना देखे। उनको बुझाइमा स्वाधीनता र स्वाभिमान अग्रस्थानमा रहेको, आत्मनिर्भर, शिक्षा, स्वास्थ्य निःशुल्क अनि रानीपोखरीजस्तै निर्मल र सफा महानगर भएमा समृद्धिको ढोका खुल्नेछ।

पुशपति मित्र माविका चन्द्रकान्त पण्डितले सडकका किनारमा फूलहरू फुलेर ढकमक्क बनेको, भुस्याहा कुकुर र कोलाहल अन्त्य भएको, रोजगारीका लागि विदेशीले लक्ष्य बोकेर आएको महानगरको सपना प्रस्तुत गरे। उनले प्रशासनमा ढिलासुस्ती नभएमा महानगरले उन्नतिको यात्रा तय गर्न सक्ने भावना व्यक्त गरेका थिए। शान्ति विद्यागृह माविकी रीता पुडासैनीले सहरको कुनाकुनाबाट दरिद्रता हटोस् र काल भैरवले जीवनका कैयौँ संकट नास गरिदिऊन् भनेर कामना गरिन्।

जनकल्याण माविकी रमा घिमिरेले विभिन्न धर्म, सम्प्रदाय र चाडपर्वको मौलिकता कायम भएमा र सुशासनले सजिएमा महानगर महानगरजस्तै हुने बताइन्। संस्कृत माविका निश्चल अधिकारीले धर्तीकै अनुपम कला काठमाडौँलाई मुलुकभरिकै उम्दा पालिका भन्ने गरी विकास भएको सपना देखे। उनले सम्पदाको खानी महानगरमा चिल्ला सडक अझ सुन्दर बनाएको देखे भने ती सडकवरिपरि वृक्षरोपण भएको र कोलाहल भागेको शान्त सहरको परिकल्पना गरे।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय माधव पोखरेलले महानगरलाई सुन्दर बगैँचाका रूपमा चित्रित गरेका छन्। मंगलादेवी माविका मधुसूदन ढुंगेलले हिन्दू बौद्ध र आस्थाको केन्द्रलाई संरक्षण गर्न नगर सफा गरेको, सम्पदा संरक्षणमा सबै जागरूक भएको अनि रमझमपूर्ण बनेर अतिथि देवो भवको संस्कृति ब्युँझिएको देखे।

शिवपुरी माविका दामोदर शर्माले गीतमार्फत काठमाडौँ महानगरलाई स्वर्गको टुक्रासँग तुलना गरेका छन्। हराएको सभ्यतामा मुना पलाएको उनको अभिव्यक्ति छ।

प्रतिस्पर्धामा योगराज पौडेल पहिलो, रमा घिमिरे दोस्रो र माधव लामिछाने तेस्रो भए भने भूपालबहादुर रामले सान्त्वना पुरस्कार पाए। उनीहरूले प्रमाणपत्रसहित पुरस्कारस्वरूप क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार नगद पाएका छन्।

प्रकाशित: २५ मंसिर २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =