नयाँ गाडीका लागि अर्थ मन्त्रालय धाउँदै पौड्याल

हिमाल प्रेस २४ मंसिर २०८० १६:१५
304
SHARES
नयाँ गाडीका लागि अर्थ मन्त्रालय धाउँदै पौड्याल

काठमाडौँ– क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालले टोरन्टो जानुअघि सरकारसँग नयाँ गाडी माग गरेका छन्। परराष्ट्र सचिवबाट सेवानिवृत्त भएका पौड्याल अग्रिमा आएलगत्तै नियुक्ति लिएर क्यानाडा जाने तयारीमा छन्। उनको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भइसकेको छ।

अरू चढेको गाडी चढ्दिनँ भन्दै उनले अर्थ सचिव कृष्णहरि पुष्करलाई नयाँ किनिदिन दबाब दिइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए। यसका लागि पौड्यालले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग सम्बन्धलाई पनि उपयोग गरेका छन्।

क्यानडास्थित दूतावासमा २०१४ मा खरिद भएको गाडी पुरानो भएको भनेर पौड्याल अर्थ मन्त्रालय धाइरहेको ती अधिकारीले बताए। तर कतिपय मिसनमा २००६ कै गाडी गुडिरहेका छन्। गाडीका सौखिन पौड्यालले सचिव रहँदा पनि घरमै दुई गाडी राखेका थिए। त्यतिबेला उनको सरकारी प्लेट र निजी प्लेटको अनि घरमा अर्को निजी प्लेटको गाडी थियो। क्यानडा मिसनले गाडी नयाँ रहेको जानकारी दिइरहँदा पनि पौड्यालले अर्थसचिवमाथि दबाब दिइरहेको ती अधिकारीले बताए।

उता पौड्यालको सेवा निवृत्तपछि परराष्ट्र कर्मचारीमा खुसीयाली छाएको छ। मन्त्रालयका एक कर्मचारीले भने, ‘विरलै मात्र हास्ने, कर्मचारीलाई घरको कामदारजस्तो ठान्ने, नागरिकलाई रैती सम्झने स्वभावका पौडेलको अवकाशपछि कर्मचारीमा उत्साह थपिएको छ।’

राजदूतमा सिफारिस पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट ज्ञानेन्द्रबहादुर कार्कीको जोडबलमा अनुमोदन भएको छ। छोरीलाई स्विजरल्यान्ड पढ्न सरकारी कोटा दुरुपयोग गरेको उजुरीमा गम्भीर भएर उत्तर दिएपछि कार्की पौड्यालसँग प्रभावित भएका थिए। राजनीतिक दलका नेताहरूसँग न्युयोर्कस्थित स्थायी नियोगमा जान लबिइङ गर्दै आएका पौड्याल त्यहाँ नपाएपछि कांग्रेस कोटामा रहेको क्यानडा जान लागेका हुन्।

‘पौड्यालले पछिल्लो समय सत्तामा बसेका धेरै मानिसलाई खुसी पारेर त्यो पद हात पारेका हुन्,’ परराष्ट्रका एक अधिकारीले भने, ‘मन्त्रालयमा दूतावास खोल्न सहमति दिने, नेतृत्वले भनेपछि कुनै पनि कुरा नकाट्ने चरित्र उहाँको छ।’ एकजना कर्मचारीले त उनको व्यवहारबाट असह्य भएपछि कार्यालयमा हातपातसमेत गर्न थालेको घटनाका प्रत्यक्षदर्शी परराष्ट्रका सहसचिव धनबहादुर ओली हुन्। ओली थाइल्यान्डका लागि राजदूत सिफारिस भएका छन्।

अन्य मुलुकमा भने सचिव भएकामा विशेष क्षमता छ भने मात्र राजदूतका लागि पठाउने गरिन्छ। अर्का एक परराष्ट्र अधिकारी भन्छन्, ‘राजनीतिक नेतृत्वलाई खुसी पारेपछि पहिला काम नलाग्ने भन्ने व्यक्ति पनि राजदूत हुन्छन्।’

कर्मचारीप्रति पौड्यालको व्यवहार जस्तोसुकै भए पनि उनलाई राजदूत नियुक्तिमा सिफारिस गर्न केही कर्मचारीको पनि भूमिका रहेको ती अधिकारीले बताए। उनका अनुसार परराष्ट्र कर्मचारीले परराष्ट्र सचिव त्यत्तिकै अवकाश हुन मिल्दैन भन्दै पौड्याललाई राजदूत बन्न आग्रह गर्दै आएका थिए। आफ्नो कार्यकालमा परराष्ट्रमा उपलब्धिमूलक काम नगरेको र उल्टै कर्मचारीमा अविश्वास पैदा गरेको आरोप उनीमाथि लाग्दै आएको छ। विदेश भ्रमण गरिरहने, कार्यसम्पादनमा शून्य नतिजा हासिल गर्ने र दूतावासलाई दुःख दिने जस्ता टिप्पणी उनकै सहकर्मीको छ।

पौड्यालका एकजना पूर्वसहकर्मी भन्छन्, ‘स्याङ्जामा विद्यालय शिक्षा सकेर हुलाक सेवामा काम गर्दै परराष्ट्रमा उपसचिव भएका पौड्यालले कूटनीतिक मामिला अध्ययन प्रतिष्ठानलाई नेतृत्वविहीन बनाउने काममात्र गरेनन् उनकै कार्यकालमा एउटा पुस्तकलाई १४ लाख रुपैयाँमा प्रकाशन गर्ने निर्णय मन्त्रीबाट गराइदिए। आफू जोगिने ढंगले अर्का पुराना सचिवलाई सहयोग गरिदिए।’ प्रतिष्ठानले चार कूटनीतिज्ञहरू रामप्रसाद मानन्धर, शोभागज‌ग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंहको कूटनीतिक जीवन र उनीहरूको योगदान समेटेर पुस्तक प्रकाशन गरेको छ। उक्त पुस्तकका लेखक पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराई हुन्।

३७ वर्ष लामो निजामती सेवाबाट अवकाश लिएपछि पौड्यालले सामाजिक सञ्जालमा लामै कथा लेखेका छन्। यस अवधिमा प्राप्त सहयोग र सद्भावका लागि सबै आदरणीयजन, मित्रजन, सहकर्मी, शुभेच्छुक एवं नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता प्रकट पनि गरेका छन्।

‘केही सिकियो, मुलुक र मुलुकवासीको हितमा केही योगदान गरियो, जानीबुझी गलत काम गर्न अभिप्रेरित भइएन,’ उनले लेखेका छन्, ‘जिम्मेवारीजन्य सीमाका कारण कुनै कमी भएको भए त्यसलाई यहीँ विश्राम दिएर सकारात्मक र सुखद अनुभूति लिँदै अबको बाटो रेखांकन गरेको छु’, उनले लेखेका छन्।

उनले नेपाल सरकारबाट प्राप्त नयाँ जिम्मेवारीका लागि तयारी गर्दै गर्दा सबैबाट निरन्तर सद्भाव र सहयोगको अपेक्षा  पनि गरेका छन्।

प्रकाशित: २४ मंसिर २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =