नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता दुईपक्षीय र बीबीआईएनमा केन्द्रित

हिमाल प्रेस १ फागुन २०७९ १८:१२
6
SHARES
नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता दुईपक्षीय र बीबीआईएनमा केन्द्रित परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग भेटवार्ता गर्दै भारतका परराष्ट्र सचिव विनयमोहन क्वात्रा। तस्बिर : रासस

काठमाडौँ– नेपाल र भारतका परराष्ट्र सचिवबीच दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल एवं समीक्षा भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच दुईपक्षीय सहकार्यका साथै बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीचको उपक्षेत्रीय सहकार्यमा छलफल भएको हो।

बीबीआईएनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागीले जानकारी दिए। बीबीआईएन उपक्षेत्रीय पहल भनिने उक्त मञ्चले सडक, हवाई र जलसम्पर्कका साथै विद्युत् व्यापार र आर्थिक क्षेत्रको सहकार्यमा जोड दिने भनिएको छ। बीबीआईएन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्रको एक उपक्षेत्रीय सहकार्य हो।

सार्क अघि बढाउन नसकिरहेको अवस्थामा भारतले यसमार्फत फरक सहकार्यको पहल गरिरहेको छ। नेपाल सार्क अध्यक्ष भएर पनि सार्कका विषयमा अडान राख्न सकेको छैन।

परराष्ट्र मन्त्रालयले नेपाल र भारतका परराष्ट्र सचिवबीचको नियमित बैठकमा सडक, जल, रेल र हवाई सञ्जाल, व्यापार एवं पारवहन, जलविद्युत्, शिक्षा, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा भएका कामको समीक्षा भएको नाएको छ। उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूत रहेको संयन्त्रले गरेको कार्यमा पनि छलफल भएको थियो।

छलफलपछि नेपाल र भारतका प्रतिनिधिमण्डलले वार्ता समग्र सम्बन्ध उचाइमा लैजान सहयोगी रहेको बताए। ‘दुई मुलुकका समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहकार्यलाई थप सुदृढ गर्न दुवै पक्ष सहमत भएका छन्,’ भारतीय दूतावासका एक अधिकारीले भने।

काठमाडौँको एकतारे होटलमा भएको दुई सचिवस्तरको वार्तामा दुवै मुलुकका सात सात सदस्य थिए। परराष्ट्रका अधिकारीहरू दुई सचिवबीचको वार्ता बहाना मात्र रहेको बताउँछन्। क्वात्राले आजै वार्ता सकाएका छन्।

परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका परराष्ट्र सचिव विनयमोहन क्वात्रा सोमबार काठमाडौँमा भेटवार्ता गर्दै। तस्बिर : रासस

उनले मंगलबार बिहानदेखि राजनीतिक भेटघाट गर्नेछन्। कतिपयलाई भेट्न जाने कार्यक्रम छ भने उनले केहीलाई आफैँ बसेको स्थानमा बोलाउने तयारी गरेका छन्। क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई सोमबारै भेटेका छन् भने अब प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटने कार्यक्रम छ। प्रचण्डलाई भेटेलगत्तै उनी शीतल निवास पुग्नेछन्। नेताहरूसँग भेटघाट गरेर उनले यहाँको पछिल्लो राजनीति घटनाक्रम थप नजिकबाट नियाल्नेछन्।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ। सचिव क्वात्रा मधेश केन्द्रित दलका नेताहरूलाई भेटेर दुईपक्षीय वार्ताको विज्ञप्ति जारी गर्दै मंगलबार स्वदेश फर्कनेछन्। उनी भारतीय वायुसेनाको निजी विमानमा नेपाल आएका हुन्।

सचिव क्वात्राले आफूलाई नेपालमा निमन्त्रणा दिएर यहाँको पछिल्लो राजनीतिक अवस्था बुझ्न सहज भएको बताए। नेपालका लागि राजदूत रहिसकेको क्वात्रा केही महिनाअघि भारतको परराष्ट्र सचिव भएका हुन्। उनी परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका हुन्। सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =