युद्धग्रस्त इजरायलमा ‘नेपाली कामदार पठाउने गिरोह सक्रिय’

रमेश भारती २१ मंसिर २०८० १७:०८
90
SHARES
युद्धग्रस्त इजरायलमा ‘नेपाली कामदार पठाउने गिरोह सक्रिय’ फाइल तस्बिर

काठमाडौँ- मानव तस्करहरूले वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली कामदारलाई युद्धग्रस्त इजरायल पठाउन थालेको पाइएको छ। रोजगारीका लागि भन्दै नेपाली युवालाई भारत, श्रीलंका र थाइल्यान्ड हुँदै इजरायल पठाउन थालेको सूचना आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्।

नेपालले तत्कालका लागि इजरायलमा रोजगारीका लागि स्वीकृति बन्द गरेको छ। मन्त्रालयको कल सेन्टरमा बुधबार एक जना नेपाली इजरायल भारत हुँदै वैदेशिक रोजगारीमा जान्न मिल्छ भनेर जिज्ञासा राखेका थिए। उनले इजरायल रोजगारीमा श्रीलंका हुँदै जान लागेको र केही समस्या पर्छ कि पर्दैन भनेर सोधेका थिए।

कल सेन्टरका कर्मचारीले ती व्यक्तिलाई नेपालले तत्काल इजरायलको श्रम स्वीकृति बन्द गरेको र त्यहाँ रोजगारीमा रोक लगाइएको जानकारी गराएका थिए। ती व्यक्तिले आफूसँग अन्य १० जना नेपाली इजरायल हिँडेको जानकारी गराएका थिए। तस्करहरूको संलग्नताबिना श्रीलंका हुँदै इजरायल कामदार पठाउन असम्भव रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले पनि युद्धग्रस्त देश इजरायल, रुस र युक्रेनमा अवैध बाटो भएर नेपाली कामदार पठाउने गिरोह सक्रिय भएको सूचना आइरहेको जानकारी दिए। सामाजिक सञ्जालमा विज्ञापन गरी तस्करले नेपाली कामदारलाई युद्धग्रस्त देश पठाइरहेको विषयमा सरकारले गम्भीर भएर अनुसन्धान गरिरहेको उनले बताए।

दाहालले भने, ‘तस्करीको सञ्जाल कहाँ र कस्तो छ भनेर प्रहरीको सहयोगमा खोजी भइरहेको छ। अहिलेको मुख्य समस्या भनेको युद्धग्रस्त देशमा तस्करमार्फत गइरहेका कामदार रोक्नु हो।’

इजरायल सरकारले युद्धका कारणले आप्रवासी कामदार फिर्ता भएपछि त्यहाँको निजी क्षेत्रलाई ९० दिनभित्र विदेशी कामदार ल्याउन सहुलियत दिएको छ। यसपछि भारत, श्रीलंका, थाइल्यान्ड र भियतनामले इजरायलमा कामदार पठाइरहेका छन्। सोही कारण तस्करहरूले भारत र श्रीलंकाको बाटो रोजेको हुन सक्ने दाहालको शंका छ।

प्रहरीले नेपाली युवालाई रुसी सेनामा भर्ती गराउन सेटिङमार्फत पठाएको आरोपमा १२ जना तस्करलाई बुधबार पक्राउ गरेको थियो। यस्तै गिरोहले इजरायल पनि रोजगारीको प्रलोभन देखाएर नेपाली पठाइरहेको हुन सक्ने प्रहरीको शंका छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार नेपालीलाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको थियो। पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रोजगारीमा जान पाइने भएपछि नेपाली युवा युद्धग्रस्त देशमा समेत जोखिम मोलेर जाने गरेको दाहाल बताउँछन्। इजरायलस्थित नेपाली दूतावासले भने नेपाली युवा अवैध बाटो भएर रोजगारीका लागि आएको सूचना नपाएको जनाएको छ। यस विषयमा अध्ययन गर्ने दूतावासका अधिकारीहरू बताउँछन्।

गत असोजमा प्यालेस्टिनी विद्रोही समूह हमासको आतंकवादी आक्रमणमा परी इजरायलमा रहेका १० जना नेपालीको मृत्यु भएको थियो। उनीहरू अध्ययनका लागि इजरायल पुगेका थिए। एक जना नेपाली विपन जोशी प्यालेस्टिनी विद्रोहीको कब्जा छन्। उनको उद्धारका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

इजरायलमा ७ हजारभन्दा नेपाली रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले हमासको आक्रमणपछि बन्द गरेको इजरायलको श्रम स्वीकृति खुलाएको छैन। श्रम स्वीकृति नखुल्दा नयाँसहित बिदामा घर आएका कामदार जान पाएका छैनन्। तत्काल श्रम स्वीकृति खुल्ने अवस्था नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक दाहाल बताउँछन्।

दुई महिनाअघि हमासले आक्रमण गरेपछि इजरायल–हमास युद्ध सुरु भएको थियो। जारी युद्धमा एक हजारभन्दा बढीको मृत्यु भएको छ।

प्रकाशित: २१ मंसिर २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =