इजरायल सरकारको निर्णय : हमास आक्रमणमा ज्यान गुमाएका नेपालीको परिवारलाई मासिक ५५ हजार भत्ता

हिमाल प्रेस २ चैत २०८० १४:१२
60
SHARES
इजरायल सरकारको निर्णय : हमास आक्रमणमा ज्यान गुमाएका नेपालीको परिवारलाई मासिक ५५ हजार भत्ता फाइल तस्बिर

काठमाडौँ- इजरायलले हमासको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीका परिवारलाई जीवनभर आश्रित भत्ता दिने भएको छ। गत वर्षको अक्टोबर ७ मा हमासका लडाकुको आक्रमणमा मृत्यु भएका नेपालीका परिवारलाई इजरायल सरकारको सुरक्षा परिषद्को बैठकले आश्रित आजीवन भत्ता दिने निर्णय अक्टोबरमै भएको थियो।

इजरायल सरकारकै निर्णयअनुसार मृतक १० जनाका परिवारले पहिलो चरणमा आश्रित आजीवन भत्ता पाइसकेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ। अक्टोबर ७ मा हमासका लडाकुको आक्रमणमा लेकम-५ दार्चुलाका दीपेशराज बिष्ट, सपही-६ धनुषाका आनन्द साह, मधुवन-१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली-३ डोटीका राजन फुलारा, लमिखल-८ डोटीका पदम थापा, शारदा-३ सल्यानका प्रवेश भण्डारी र मल्लिकार्जुन-४ दार्चुलाका लोकेन्द्रसिंह धामीको मृत्यु भएको थियो।

उक्त आक्रमणमा घोडाघोडी-४ बर्दियाका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बौनिया-३ कैलालीका आशिष चौधरीको समेत मृत्यु भएको थियो। उनीहरू अध्ययनका लागि इजरायल गएका थिए।

विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिइने इजरायल सरकारले निर्णय गरेको थियो। उनका परिवारले इजरायल सरकारबाट सुरक्षा भत्ता पनि पाउँदै आएका छन्। इजरायल सरकारले हमास आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई अश्रित भत्ता र अपहरणमा परेका एक जना नेपालीका परिवारलाई  सुरक्षा भत्ता दिइरहेको नेपालका लागि इजरायली राजदूत हनान गोडेरले हिमालप्रेसलाई जानकारी दिए।

घरमा आएको पाहुनालाई आतंककारी समूहले आक्रमण गरेर ज्यान दिएपछि उनीहरूका परिवारलाई अश्रित भत्ता दिइएको उनले बताए। ‘इजरायलमा अक्टोजरमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीको परिवारलाई अश्रित भत्ता दिइरहेका छौँ’, उनले भने, ‘इजरायल सरकारको सुरक्षा परिषद् बैठकले अक्टोबरमै मृतक नेपालीका परिवारलाई भत्ता दिने निर्णय गरेको थियो। त्यहीअनुरूप अहिले पनि मृतक परिवारका सदस्यले भत्ता पाइरहेका छन्।’

इजरायलमा हमास आक्रमणमा मृत्यु भएका नेपालीका परिवारलाई इजरायलकै आमा-बुबा र दाजुभाइ सम्झिएर सहयोग गरिएको हो। इजरायलमा अध्ययन, रोजगारी र घुम्न गएका विदेशी नागरिक इजरायलका पाहुना हुन्। उनीहरूलाई इजरायलको कानुनले त्यहाँका नागरिकजस्तो सुविधा दिने कानुनी व्यवस्था भएको राजदूतले जानकारी दिए।

वैदेशिक रोजगार विभागको इजरायल शाखाका अनुसार मृतक १० जना नेपालीका परिवारले मासिक ५५ हजार रुपैयाँभन्दा बढी अश्रित भत्ता पाइरहेका छन् भने अपहरणमा परेका जोशीको परिवारले ७० हजारभन्दा बढी भत्ता पाइरहेका छन्।

प्रकाशित: २ चैत २०८० १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =