इजरायलमाथि इरानको आक्रमण, खाडीमा नयाँ युद्धको सम्भावना

हिमाल प्रेस २ वैशाख २०८१ ९:२०
10
SHARES
इजरायलमाथि इरानको आक्रमण, खाडीमा नयाँ युद्धको सम्भावना इजरायलमाथि इरानले ड्रोन र क्षेप्यास्त्रबाट प्रहार गर्दाको दृश्य, PHOTO : REUTERS

काठमाडौँ- इरानको इस्लामिक रेभोल्युसनरी गार्डले इजरायलमाथि आक्रमण गरेको छ। इजरायलमाथि शनिबार राति इरानी भूमिबाट ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरिएको हो। यसैबीच खाडी क्षेत्रमा हुनसक्ने नयाँ सैन्य घम्साघम्सीमा अमेरिकाले इजरायललाई साथ दिने स्पष्ट पारेको छ।

उता इजरायली सेनाले करिब एक सय ड्रोन इजरायली भूमितर्फ पठाइएको बताएको छ। र यी सबै ड्रोन इजरायल पुग्न अझैँ केही घण्टा लाग्ने बताइएको छ। यद्यपि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इरानबाट प्रहार गरिएका कयौँ ड्रोनलाई भने इजरायल पुग्नुअगावै नष्ट गरिएको लेखेका छन्।

इजरायलको च्यानल १२ नाम गरेको टेलिभिजन च्यानलले केही इरानी ड्रोनलाई सिरिया र जोर्डनको आकाशमाथि नष्ट गरिएको दाबी गरेको छ। कतारी टेलिभिजन च्यानल अल जजिराले पनि इजरायली आकाशमा पुगेका इरानी ड्रोनलाई त्यहाँको ‘एन्टी मिसाइल डिफेन्स सिस्टमले’ नस्ट गर्दै गरेको भिडियो प्रशारण गरेको छ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोनलाई बाटोमै नस्ट गरेको उल्लेख गरेको छ। ती ड्रोनलाई ठ्याक्कै कहाँ नस्ट गरिएको हो भन्नेबारे केही सूचना दिइएको छैन।

इरानको सरकारी समाचार एजेन्सीले ड्रोन मात्र होइन, क्षेप्यास्त्र पनि प्रहार गरिएको बताएको छ। र ती क्षेप्यास्त्र कति समयमा इजरायल पुग्छन्, टुंगो छैन।

गत अप्रिल १ मा लेबनानको दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा आक्रमण भएको थियो। जसमा इस्लामिक रेभोल्युस्नरी गार्डका केही वरिष्ठ अधिकारी मारिएका थिए। यो आक्रमणको इजरायलले गरेको र यसको जवाफ दिइने इरानले बताउँदै आएको थियो। हालको ड्रोन आक्रमणलाई इरानले जवाफी कारबाही बताएको छ।

इजायलमाथि ड्रोन आक्रमण गरेपछि इरानले अमेरिकालाई समेत चेतावनी दिएको छ। दुई देशबीचको द्धन्द्धमा नपर्न इरानले अमेरिकालाई चेतावनी दिएको हो। इरानले के पनि भनेको छ भने, ड्रोन आक्रमणपछि इजरायलमाथिको जवाफी कारबाही समाप्त भएको छ।

गत शुक्रबार इरानलाई इजायलमाथि कुनै प्रकारको आक्रमण नगर्न चेतावनी दिएका अमेरिकी राष्ट्रपति जो बाइडन ह्वाइट हाउसमा आफ्ना सल्लाहकारहरुसँगको बैठकमा जुटेका छन्। उनी छोटो बिदाका लागि डेलावरस्थित निवास पुगेका थिए। तर इरानी आक्रमणसँगै उनी ह्वाइट हाउस फर्किएका हुन्।

प्रकाशित: २ वैशाख २०८१ ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =