तिहारको मुखमा आँसु झार्दै परदेशतिर

रमेश भारती २६ कार्तिक २०८० १५:०८
28
SHARES
तिहारको मुखमा आँसु झार्दै परदेशतिर वैदेशिक रोजगारीका लागि विदेश जान हिँडेका नेपाली त्रिभुवन विमानस्थलमा आफन्तसँग। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- पोखराकी सविता अधिकारी केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारसँग बिदा हुँदै थिइन्। वैदेशिक रोजगारीमा रोमनिया जान फूलमाला लगाएर बिदा हुँदै गर्दा उनको आँखा रसाइरहेका थिए। बीबीएस उत्तीर्ण २३ वर्षीया अधिकारीले स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जानुपरेको बाध्यता सुनाइन्। उनले भनिन्, ‘भिसा पनि तिहारको मुखैमा लाग्यो। तिहारमा दाजुभाइलाई टीका नलगाई विदेश जान त मन थिएन। तर के गर्नु? यही बेला भिसा आयो। त्यही भएर माइतीको निधार खाली राखेर बिदेसिनुपर्‍यो।’

तिहारको मुखमा बिदेसिनुपर्दा धेरै पीडा भएको उनले बताइन्। उनले भनिन्, ‘स्वदेशमा अवसर छैन। त्यही भएर चाडपर्वका मुखमा पनि वैदेशिक रोजगारीमा जानुपर्छ। यो नेपालीको बाध्यताजस्तै भयो। स्वदेशमा कामा पाए यसरी रुँदै बिदेसिनु पर्दैन थियो।’ परिवारले आफ्नो पढाइमा गरेको ऋण तिर्ने भए पनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

अधिकारीजस्तै दक्षिण कोरिया वैदेशिक रोजगारीमा हिँडेका ताप्लेजुङका महेन्द्र लिम्बू पनि विमानस्थलमा परिवारसँग बिदा हुँदै थिए। उनी विमानस्थलको प्रस्थान गेट नजिक परिवार र साथीसँग बिदाइको तस्बिर खिच्न व्यस्त थिए। २४ वर्षीय लिम्बूले कोरियन भाषा उत्तीर्ण गरेको ६ महिनापछि भिसा आएको थियो। दुई वर्ष कोरियन भाषा अध्ययन गरेर कोरिया रोजगारीमा जाने बाटो खुलेको लिम्बूले बताए।

‘सरकार रोजगारी दिन्छु मात्र भन्छ तर काम पाइँदैन। तिहारको मुख परिवारबाट टाढिएर वैदेशिक रोजगारीमा जानुपर्दा कस्तो होला? तपाईँ आफैँ कल्पना गनुहोस् त।  नेपालमा के गर्न सकिन्छ? केही अवस्था पनि छैन। यहाँ आस गरेर बस्नुभन्दा वैदेशिक रोजगारीमा जानु राम्रो हो’, लिम्बूले भने।

सरकारको रोजगार नीति प्रस्ट नहुँदा राम्रो नहुँदा दैनिक हजारौँ नेपाली वैदेशिक रोजगारीमा जानुपरेको उनको गुनासो छ। नेपालमा राजनीति गर्नेका लागि सबैथोक भए पनि सर्वसाधारणका लागि अवसर नभएको उनी बताउँछन्।

विमानस्थल प्रस्थान गेटबाहिर तिहारको भाइटीकाको मुखमा बिदेसिन लागेका धरानका ओमप्रसाद कार्की फोनमा ‘परदेशी जीवन राम्ररी चाडपर्व मनाओ है’ भनेर श्रीमतीसँग बिदा माग्दै थिए। उनलाई पनि परिवारसँग बसेर तिहार मनाउने इच्छा नभएको होइन। तर यूएईको सुरक्षा गार्डका लागि भिसा आएपछि जान लागेको कार्कीले बताए।

‘दसैँतिहार मात्र होइन सधैँभरि परिवारसँग बसेर काम गर्ने मन थियो। राम्रो रोजगारीका लागि अवसर नपाएका कारण टीका नलगाई जान लागेको हुँ। के गर्नु? भाग्यमै अरूको देशमा पसिना बगाउन लेखेको रहेछ’, उनले भने, ‘तिहारका बेला बिदेसिँदा खाली निधार भयो। मजस्ता कति विदेशमा बसेका नेपालीको पीडा हो यो। पेट पाल्न विदेश जानेका लागि दसैँतिहार नआएकै राम्रो।’

विमानस्थमा भेटिएका उनीहरू प्रतिनिधि पात्र हुन्। दैनिक १५  सय नेपाली परिवारबाट टाढिँदै वैदेशिक रोजगारीमा दैनिक जाने गरेका छन्। चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जान दैनिक ८ देखि ९ सयले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

म्यानपावर कम्पनीहरूले चाडपर्वमा नेपाली कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने गरी केही दिन बिदाको व्यवस्था गर्नुपर्ने माग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग गर्दै आएका छन्। चाडबाडका बेला धेरैको भिसा लागेका कारण वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था भएको म्यानपावर सञ्चालक बताउँछन्।

रोजगारदाता कम्पनीलाई यस्तै समयमा धेरै कामदार चाहिने भएकाले पठाउनुपर्ने बाध्यता हुने गरेको वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए।

प्रकाशित: २६ कार्तिक २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =