विद्युत् महसुल नतिर्नेको लाइन काटेर ५० करोड रुपैयाँ बक्यौता असुल

हिमाल प्रेस २२ कार्तिक २०८० १८:५६
6
SHARES
विद्युत् महसुल नतिर्नेको लाइन काटेर ५० करोड रुपैयाँ बक्यौता असुल

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ। प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाएको छ। विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए। असूल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन्।

विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर लाग्ने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ।

मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।

प्रकाशित: २२ कार्तिक २०८० १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =