९८ प्रतिशत जनतामा विद्युत् पहुँच, बाँकी घरमा दुई वर्षभित्र

हिमाल प्रेस १ भदौ २०८० १२:४६
2
SHARE
९८ प्रतिशत जनतामा विद्युत् पहुँच, बाँकी घरमा दुई वर्षभित्र

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ९८ प्रतिशत जनताले विद्युत् सेवा उपभोग गरिरहेको विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार राष्ट्रिय ग्रिडबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत् आयोजना एवं सौर्य प्रणालीबाट ३ प्रतिशत गरी कुल ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेका छन्।

आगामी दुई वर्षभित्र सम्पूर्ण नेपालीमा विद्युत्‌को पहुँच पुर्‍याउने गरी वितरण प्रणाली निर्माण अगाडि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

प्राधिकरणले मुगु र हुम्लामा मात्रै केन्द्रीय प्रणाली जोड्न बाँकी रहेको बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन दातृ निकायको सहयोगमा ५० अर्ब रुपैयाँ बराबरकोे लगानी सुनिश्चित गरिएको घिसिङले जानकारी गराए।

प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभर ४७ लाख ७० हजार ग्राहक थिए। गत आव २०७९/८० मा ७.७ प्रतिशतले बढ्दै ५१ लाख ३० हजार पुगेका छन्।

सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहकसहित राष्ट्रिय ग्रीडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहकको संख्या ५६ लाख ४० हजार पुगेको हो।

आफ्नै तथा सहायक कम्पनी एवं संयुक्त लगानीका कम्पनीमार्फत जलविद्युत् आयोजना निर्माण गर्ने कार्यलाई पनि तिव्रता दिइएको घिसिङले बताए। ‘६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको अन्तिम चरणमा छ। यसलाई चालु आवमा नै निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

प्राधिकरणका अनुसार १०६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा लगानीका लागि विश्व बैंकलगायतका दातृ निकायले चासो व्यक्त गरेका छन्। प्राधिकरणले २१० मेगावाट क्षमताको चैनपुर सेती, ९९ मेगावाटको तामाकोसी पाँचौँ र ६० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य राखेको छ।

यस्तै अरुण–४ जलविद्युत् आयोजना सतलज जलविद्युत् निगम लिमिटेडसँग संयुक्तरूपमा निर्माण गर्ने काम अघि बढाइएको छ। नेपाल र बंगलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भएअनुरूप ६३८ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने प्रक्रिया अघि बढाइएको घिसिङले बताए।

प्रकाशित: १ भदौ २०८० १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =