विपन्नलाई किरिया खर्च र सुत्केरी खर्च बाँड्दै काठमाडौँ महानगर

हिमाल प्रेस २० कार्तिक २०८० ११:५२
4
SHARES
विपन्नलाई किरिया खर्च र सुत्केरी खर्च बाँड्दै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले साथी महानगर स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिन यस्तो कार्यक्रम ल्याएको महानगर प्रमुख बालेन शाहले बताएका छन्।

उनले भनेका छन्,’सुत्केरी महिलालाई पोसिलो खानेकुरा अभाव नहोस्। किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्। जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् भनेर कार्यक्रम सञ्चालनमा ल्याएका हौँ।’

विपन्न नागरिकलाई किरिया खर्च आवश्यक छ भने महानगरले २० हजार रुपैयाँसम्म खर्च उपलब्ध गराउने प्रमुख शाहले जनाएका छन्। तर यस्तो रकम लिन वडा कार्यालयकाे सिफारिस लिनुपर्नेछ।

विपन्नअन्तर्गत घरजग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत एक वर्षभित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपांगता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको परिवार पर्नेछ।

यस्तै घरजग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्षभित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजारसम्म किरिया खर्च उपलब्ध गराउनेछ।

शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपांगता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौँ महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्ने प्रमुख शाहले जनाएका छन्।

४२ दिनभित्रको सुत्केरी, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराउने भएको छ।

महानगरवासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको शाहको भनाइ छ। उनले भनेका छन्,’तपाईँ काठमाडौँ महानगरवासीमा यस्तो अवस्था छ भने तपाईँ बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्नुहोला।’

यसरी सम्पर्क गर्न जाँदा कस्तो र केका लागि सहयोग चाहिएको हो व्यहोरा खुलेको निवेदन दिनुपर्नेछ। निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौँ महानगरपालिकावासी भएको र सहयोग आवश्यक भएको वडाको सिफारिस पनि समावेश गर्नुपर्नेछ।

प्रकाशित: २० कार्तिक २०८० ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =