इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव ल्याइयो

हिमाल प्रेस १८ कार्तिक २०८० ६:५७
इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव ल्याइयो फाइल तस्बिर

काठमाडौँ- दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ।
फ्लाई दुबईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली-३ का राजन फुलाराको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए।

उनका अनुसार फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको राति र शाहको शव शनिबार बिहान नेपाल आइपुगेको हो।

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। हमास समूहको आक्रमणमा परी मृत्यु भएकामध्ये आठ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शाह र स्वर्णकारको शव सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टोरमार्फत पठाइने तयारी छ।

हालसम्म बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए। उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा डोटी लामीखाल-८ का पदम थापा र सल्यान शारदा-३ का प्रवेश भण्डारी छन्।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो।
रासस

प्रकाशित: १८ कार्तिक २०८० ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =