उद्धारमा खटियो नेपाली सेना र सशस्त्र प्रहरी

हिमाल प्रेस १८ कार्तिक २०८० ८:२७
4
SHARES
उद्धारमा खटियो नेपाली सेना र सशस्त्र प्रहरी जाजरकोटमा शुक्रबार रातिको भूकम्पले १८२५ सालमा निर्माण भएको जाजरकोट दरबारमा भएको क्षति। तस्बिर : रासस

काठमाडौँ- भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन भएका छन्। जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

यसैगरी सशस्त्र प्रहरी बलको टोली पनि उद्धारमा खटिएको छ। भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ।

रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरीका वरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोटमा खटिएको छ। नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको थापाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक थापाका अनुसार नं २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ। बाँकेस्थित न। ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ।

नेपाल एपीएफ अस्पताल बलम्बुबाट डा. रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काई ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यसैगरी नेपाल प्रहरीले रुकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा ३२० जना परिचाल भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटबाट पनि प्रहरी नायब उपरीक्षकको कमान्डमा ४५० जना परिचालित भएका छन्।

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जनाको प्रहरी टोली जाजरकोटका लागि हिँडेको छ भने चौरजहारी बेस क्याम्पबाट १० जनाको टोली रुकुम पश्चिमका लागि खटिएको कार्यालयले जनाएको छ।

साथै चौरजहारी बेस क्याम्पबाट १० जनाको टोली जाजरकोटका लागि खटिएको छ। यसैगरी डीआईजी डा गोपेश ठाकुरको कमान्डमा ११ जनाको मेडिकल टोली र नेपाली सेनाका लेफ्टिनेन्टको कमान्डमा ११ जनाको उद्धार टोली परिचालन भएका छन्। साथै नेपाली सेनाको उद्धार टोली पनि एमआई १७ हेलिकप्टरसहित जाजरकोट पुगेको छ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएको विवरण प्राप्त भएको छ। जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले क्षतिको विस्तृत विवरण आउने क्रम जारी रहेको जनाएको छ। शाखाले राहत तथा उद्धारका लागि सुरक्षा निकायको टोली परिचालन भएको जनाएको हो। शाखाका अनुसार राहत सामाग्रीका लागि प्रदेश, जिल्ला र स्थानिय तहसँग समन्वय भइरहेको छ। यसैगरी अन्य जिल्लामा भएको क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रकाशित: १८ कार्तिक २०८० ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =