दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

हिमाल प्रेस १७ कार्तिक २०८० १५:४२
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन फाइल तस्बिर

काठमाडौँ– नेपाल–जर्मनी आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी क्षमताका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन गरिएको छ।

जर्मनी सरकारद्वारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको उद्घाटन गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बंगलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल हेलिस्टनले संयुक्त रूपमा रातामाटे सबस्टेसन उद्घाटन गरेका हुन्।

यसैगरी प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले कालिकास्थान सबस्टेसनको उद्घाटन गरेका थिए। उक्त सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति दिइएको छ।

जर्मनी सरकारले केएफडब्लू विकास बैंकमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरण प्रणाली सञ्जाल पुनर्निर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो (करिब ७० करोड रुपैयाँ) अनुदान रकम दिएको थियो।

उक्त अनुदान रकमबाट दुईवटा वितरण सवस्टेसन, ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको छ। यसबाट दुई जिल्लाका एक हजार दुई सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने छन्।

कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजना निर्माणमा केएफडब्लूको ठूलो सहयोग रहेको उल्लेख गर्दै सबस्टेसन निर्माणबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाइरहेको बताए।

केएफडब्लूका हेलिस्टर्न र क्रिगरले नेपाल र जर्मनीबीचको सम्बन्ध ६० वर्षभन्दा बढी पुरानो रहेको ऊर्जा क्षेत्रमा ४० वर्षदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अब विद्युत् प्रसारण र वितरणतर्फ सहयोग गर्ने बताए।

प्रकाशित: १७ कार्तिक २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =