नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा, सरप्राइज प्याकेज घोषणा गरिने

हिमाल प्रेस १६ कार्तिक २०८० १६:५३
30
SHARES
नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा, सरप्राइज प्याकेज घोषणा गरिने

काठमाडौँ- मंसिर ९ गते शनिबार आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्ष म्याराथनको नगद पुरस्कार राशिमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ। केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ। म्याराथनमा नगद पुरस्कारसम्बन्धी विस्तृत जानकारी चाँडै जानकारी गराइने आयोजकले जनाएको छ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा ९ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ। सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आइएको छ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला गरी जारी राखिएको छ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो। जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए। यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने अपेक्षा छ। एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ। एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ।

नेपालगन्ज म्याराथनको वेबसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ। यस वर्ष अघिल्लो वर्षमा चार विधा थप गरी विभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ। स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष/महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ।

स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ। त्यसै गरी बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५ किमी) सञ्चालन गरिनेछ।

नेपालगन्ज म्याराथनको स्टार्ट/फिनिसिङ गेट उपमहानगरपालिका कार्यालय अगाडि रहनेछ। त्यहाँबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पूरा हुन्छ।

प्रकाशित: १६ कार्तिक २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =