‘राज्यले नेपालगन्ज म्याराथनको अपनत्व लिनुपर्छ’

हिमाल प्रेस ९ फागुन २०७९ १४:५४
44
SHARES
‘राज्यले नेपालगन्ज म्याराथनको अपनत्व लिनुपर्छ’

काठमाडौँ- नेपालगन्ज म्याराथनलाई राज्यले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिइएको छ। काठमाडौँमा मंगलबार भएको एक कार्यक्रमका सहभागीले नेपालगन्ज म्याराथनलाई राज्यको अपनत्वको खाँचो भएको बताएका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव युवराज लामाले नेपालगन्ज म्याराथनले राष्ट्रियस्तरमै आफ्नो छबि कायम गर्न सफल भएकाले यसलाई राज्यले संरक्षण गर्नुपर्ने बताए। उनले राखेप सदस्य सचिव टंक घिसिङसँग पनि नेपालगन्ज म्याराथनलाई अपनत्व ग्रहण गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी सशस्त्र प्रहरी बलका पूर्वआईजीपी शैलेन्द्र श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी दीपकराज जोशी, कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टलगायतले खेललाई पर्यटनसँग जोड्नुपर्ने बताए। उनीहरूले पनि राज्यले म्याराथनलाई अपनत्व ग्रहण गर्दै यसको विकासमा पहल गर्नुपर्ने धारणा राखेका थिए।

सदस्य सचिव घिसिङले नेपालगन्ज म्याराथनलाई अपनत्व ग्रहण गर्ने विषयमा आफू सकारात्मक रहेको बताए। आफू खेलकुदकै विकास गर्नका लागि आएको भन्दै उनले म्याराथनलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपालगन्ज म्याराथन अध्यक्ष टीएस ठकुरीले हरेक खेलमा दौड अनिवार्य हुने भएकाले यो खेलहरूको पनि मातृखेल जस्तै भएको बताए। त्यसैले यसको विकासका लागि लागिपरेको उनको भनाइ छ।

यसैबीच नेपालगञ्ज म्याराथनसँग सम्बन्धित लेखहरू समेटिएको ‘नेपाल रनिङ’ विशेषांकको विमोचन गरिएको छ। सो विशेषांकमा लेखहरू नेपाली र अंग्रेजी दुवै भाषामा राखिएको छ।

साथै जापानको ओसाकामा हुने एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)काे २३ औँ विश्व सम्मेलनमा भाग लिन जान लागेका नेपालगञ्ज म्याराथन अध्यक्ष ठकुरीलाई बिदाइ पनि गरिएको थियो। यो सहभागिता नेपालबाट पहिलोपटक हाे। एम्समा विश्वभरका १२० देशका ४५० म्याराथन आयाेजक सदस्य छन्।

‘कुनै पनि विश्व सम्मेलनमा जाँदा यसरी विशेषांक प्रकाशन गरेर लैजान लागेको सम्भवतः पहिलो अभ्यास हो,’ ठकुरीले भने, ‘नेपालगन्ज म्याराथन एम्सको पहिलो सदस्य हो नेपालबाट। म्याराथन पर्यटन पनि हाे, विश्व पर्यटनलाई आकर्षित गर्न पनि नेपाल रनिङ प्रकाशन गरिएको हाे।’

नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ। यस वर्ष भने आम निर्वाचनका कारण नेपालगञ्ज म्याराथनको आठौँ संस्करण तीन साता पछाडि अर्थात् मंसिर २४ गते गरिएको थियो।

नेपालगन्ज म्याराथनमा पहिलोपटक ‘इलेक्ट्रोनिक डिभाइस’ प्रयोग गरिएको थियो।

प्रकाशित: ९ फागुन २०७९ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =