लुम्बिनीबारे राष्ट्रसंघका महासचिव, कसले के सन्देश दिए?

विनोद परियार १५ कार्तिक २०८० १५:४०
90
SHARES
लुम्बिनीबारे राष्ट्रसंघका महासचिव, कसले के सन्देश दिए? माथि (दायाँ) बाट क्रमशः ड्याग ह्यामरसोल्ड, ऊ थान्त, कर्ट वाल्डहाइम, ह्याभियर पेरिज द कोयर, बान की मुन र एन्टोनियो गुटेरेस।

लुम्बिनी- गौतम बुद्धको जन्मस्थल नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण सम्पदा हो। बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी भ्रमण गर्ने चाहना जोकोहीको पनि हुन्छ। तर सबैले त्यो अवसर पाएका हुँदैनन्। बेलाबखत विभिन्न देशका नेताहरू लुम्बिनी भ्रमणमा पुगेर त्यहाँ सम्पदा अवलोकन गर्छन्। यस्तै विश्वका प्रतिष्ठित संस्थाका प्रमुखले लुम्बिनी भ्रमण गर्दा त्यहाँका बारेमा थप प्रचार हुँदै आएको छ। संयुक्त राष्ट्रसंघका अधिकांश महासचिवको भ्रमण सूचीमा पनि लुम्बिनी पर्दै आएको छ।

हालसम्म संयुक्त राष्ट्रसंघको महासचिव पदमा नौ जनाले जिम्मेवारी सम्हालेका छन्। एन्टोनियो गुटेरेससमेत संयुक्त राष्ट्रसंघका ६ जना महासचिवले लुम्बिनी भ्रमण गरिसकेका छन्।

लुम्बिनी भ्रमण गर्ने महासचिवहरूले लुम्बिनीका विषयमा आफ्ना धारणाहरू राख्ने गरेका छन्। उनीहरूमध्ये कोहीले आगन्तुक पुस्तिकामा सन्देश लेख्ने गरेका छन् भने केहीले सम्बोधनमार्फत आफ्ना धारणा राख्दै आएका छन्। लुम्बिनी भ्रमण नगरेका कतिपय महासचिवहरूले पनि सन्देश पठाएर लुम्बिनीको विश्वव्यापी प्रचारमा विशेष योगदान दिएका छन्।

यहाँ लुम्बिनी विकास कोषको अभिलेखमा सुरक्षित रहेका राष्ट्रसंघका महासचिवहरूले लुम्बिनीबारे व्यक्त गरेका सन्देश प्रस्तुत गरिएको छ। उनीहरूले अंग्रेजीमा व्यक्त गरेका ती सन्देश नेपालीमा यस प्रकार छ :

ड्याग ह्यामरसोल्ड

राष्ट्रसंघका दोस्रा महासचिव ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेका थिए। लुम्बिनीबारे उनको अभिव्यक्ति काव्यात्मक छ। उनको सन्देश यस्तो थियो–

चम्किलो सूर्यकिरण जस्तै बाँसुरीका धुनहरू जन्मजात देवताहरू रम्ने साना गुफा (देवस्थल) सम्म पुग्छन्।

ऊ थान्त

लुम्बिनी भ्रमण गर्ने दोस्रा महासचिव हुन् ऊ थान्त। उनी सन् १९६७ मा लुम्बिनी आएका थिए। उनले भनेका थिए-

लुम्बिनी भ्रमण मेरो जीवनको एक तर सबैभन्दा महत्त्वपूर्ण दिन थियो। सन् १९६८ को सुरुदेखि नै नेपाल सरकार र संयुक्त राष्ट्रसंघका संस्थाहरूअन्तर्गत रहेका विकास कार्यक्रमका विभिन्न चरणमार्फत कार्य सम्पन्न भएका छन्।

परियोजना अहिले यस्तो चरणमा पुगेको छ जहाँ स्वेच्छिक योगदानबाट यसको विकासका लागि आर्थिक सहयोग आवश्यक पर्नेछ। यो तीर्थस्थलको विकासमा नेपाल सरकारले गरेका पहलकदमीका लागि म प्रशंसा व्यक्त गर्न चाहन्छु र राष्ट्रसंघको सहयोगको पनि पहलकदमी लिनेछु।

मैले सबैभन्दा योग्य परियोजना ठानेको योजनालाई कार्यान्वयन गर्न इच्छुक सरकार, व्यक्ति र निजी समूह सबैले नगद वा अन्य प्रकारले उदार योगदान दिनुहुनेछ भन्ने आशा पनि व्यक्त गर्दछु।

कर्ट वाल्डहाइम

सन् १९८१ मा कर्ट वाल्डहाइमले लुम्बिनी भ्रमण गरेका थिए। उनी लुम्बिनी भ्रमण गर्ने तेस्रा महासचिव हुन्। लुम्बिनीबारे उनको सन्देश :

नेपाल सरकारको प्रयास र यूएनडीपीको आर्थिक सहयोगमा जापानी वास्तुविद् केन्जो टाङ्गेको गुरुयोजना सम्पन्न भएको छ। तर यी योजनालाई अझै सान्दर्भिक बनाउन आवश्यक छ। मलाई आशा छ- सरकार, निजी क्षेत्र र निकायले यो सबैभन्दा पुरानो स्मरणलाई साझा र ताजा गर्न आवश्यक छ।

ह्याभियर पेरिज द कोयर

राष्ट्रसंघको महासचिवका रूपमा लुम्बिनी भ्रमण गर्ने अर्का व्यक्तित्व हुन् ह्याभियर पेरिज द कोयर। उनले सन् १९८९ मा लुम्बिनीको भ्रमण गरेका थिए। उनको सन्देश यस प्रकार छ :

मानवताको सेवामा गौतम बुद्धको करुणा र भक्तिको सन्देश विगतको कुनै समयभन्दा वर्तमान समयमा बढी सान्दर्भिक छ। यतिबेला हामी आणविक युगमा छौँ। जसले गर्दा असुरक्षित महसुस भइरहेको छ।

शान्ति, समझदारी र विशुद्ध राष्ट्रिय सीमाहरू पार गर्ने बुद्धको दर्शन अहिले अनिवार्य बनेको छ। राष्ट्रसंघले यस परियोजनालाई यसको स्थापनादेखि नै पूर्ण हृदयले समर्थन गरेको छ।

म यस अवसरमा थप बताउन चाहन्छु- यसले मानवताको आध्यात्मिक र सांस्कृतिक सम्पदासँग सबैभन्दा नजिकको सम्बन्ध राखेको छ। यही उपक्रमको समर्थनमा हामीले आफ्नो भूमिका निरन्तर खेल्न आवश्यक छ।

बान की मुन

महासचिव बान की मुनले सन् २००८ मा लुम्बिनी भ्रमण गरेका थिए। उनको धारणा यस्तो थियो-

शाक्यमुनि बुद्धको जन्मस्थल, अनि यस्तो पवित्र स्थलको सुन्दरता र गहिरो महत्त्व देखेर म छक्क परेको छु। म एक राजकुमारको जीवनबाट निकै उत्प्रेरित छु। सुखसयलमा बसेको मानिस जीवनको कठिन वास्तविकताको सामना गर्न सबै सहज परिस्थिति छाडेर पछि सबैभन्दा ठूलो धर्मको संस्थापक बन्यो।

राष्ट्रसंघको महासचिवका हैसियतमा शाक्यमुनि बुद्धको जीवनदर्शन र उपदेशले विभिन्न धार्मिक आस्था, संस्कृति र सम्प्रदायका मानिसबीच शान्ति, सद्भाव र मेलमिलापलाई प्रवर्द्धन गर्न मार्गदर्शन गर्नेमा म पूर्ण आशा गर्दछु।

ट्रिग्वे ली, बुद्रोस बुद्रोस घाली र कोफी अन्नान भने लुम्बिनीको भ्रमण नगर्ने संयुक्त राष्ट्रसंघका महासचिव हुन्। लीले कुनै सन्देश पठाएको पाइँदैन। घाली र अन्नानले भने आफ्नो सन्देशमार्फत लुम्बिनीको प्रचारप्रसारमा योगदान दिएका छन्।

बुत्रोस बुत्रोस घाली

घाली राष्ट्रसंघका छैटौँ महासचिव हुन्। उनी १९९२ देखि १९९६ सम्म महासचिव भएका थिए। लुम्बिनीबारे उनको सन्देश :

लुम्बिनी गुरुयोजना कार्यान्वयनको काम अझै जारी छ। तसर्थ मानवताको सेवामा करुणा र समर्पणमा बुद्धको परम्पराको संरक्षणका लागि म अन्तर्राष्ट्रिय समुदाय, सरकार, निजी संघसंस्था र व्यक्तिहरूलाई यहाँ थप योगदान गर्न र यो विचारलाई समर्थन गर्न आह्वान गर्दछु।

कोफी अन्नान

अन्नान १९९७ देखि २००६ सम्म राष्ट्रसंघका महासचिव भएका थिए। उनले आफ्नो सन्देशमा भनेका थिए-

लुम्बिनी विश्वका बौद्ध धर्मावलम्बीका लागि सबैभन्दा पवित्र तीर्थस्थलका रूपमा छ। यसले सीमारहित विश्वको उजागर गर्दै सबै मानिसको अन्तरसम्बन्धको अर्को दृष्टान्त प्रदान गर्दछ।

युनेस्कोको विश्व सम्पदा सूचीका रूपमा रहेको लुम्बिनीले हामीलाई विश्वका धर्म, बौद्ध र गैरबौद्धमार्गी वा कुनै पनि धर्मका विश्वासीहरू त्यहाँ समान रूपमा पुग्न सक्छ भन्दै सन्देश दिएको छ। यसलाई सामान्य रूपमा लिइँदैन। त्यो चचकता साँच्चै लोभलाग्दो देखिन्छ।

आधिकारिक रूपमा हिन्दू राष्ट्रमा बौद्ध शिखर सम्मेलन गर्न अनुमति दिने सहिष्णुताप्रतिको प्रतिबद्धताको प्रशंसा पनि गरौँ। विश्वले धार्मिक सद्भावका यस्ता धेरै उदाहरण प्रयोग गर्दै विश्वशान्तिमा थप पहलकदमी लिन सक्छ।

एन्टोनियो गुटेरेस

गुटेरेस राष्ट्रसंघका वर्तमान महासचिव हुन्। उनले मंगलबार लुम्बिनी भम्रणका क्रममा व्यक्त गरेको धारणाको नेपाली अनुवाद:

आध्यात्मिक र शान्तिको भूमि लुम्बिनीमा आउन पाउनु मेरा लागि सम्मानको कुरा हो।  लुम्बिनी आएर र भगवान् बुद्धप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि निमन्त्रणा पाउँदा नै म अत्यन्तै उत्साहित थिएँ।

भगवान् बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने स्थान हो लुम्बिनी। वर्तमान समस्याग्रस्त संसारमा शान्ति, अन्तरनिर्भरता र करुणाको सन्देश साच्चै विचार गर्न आवश्यक छ।
मानव जीवन यतिबेला प्रकृति र आफैँसँग युद्धमा छ।

पश्चिम एसिया, युक्रेन, दी सहेल, सुडान र विश्वका अन्य धेरै स्थानमा द्वन्द्व चर्किरहेको छ। मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन कुल्चिएका छन्। विश्वव्यापी नियम र संस्थाहरूलाई पनि कमजोर बनाइँदैछ।

सर्वसाधारण, बालबालिका, महिला र पुरुषले यतिबेला भयावह जीवन र मानवीय पीडाको सबैभन्दा ठूलो मूल्य चुकाउनुपरेको छ। हिंसा, द्वन्द्व र उत्पीडनबाट बच्नका लागि कैयौँ मानिस आफ्नो घर छोडेर भाग्न बाध्य छन्। अनि गरिबी र असमानता व्याप्त छ।

पछिल्लो समय जलवायु संकटको प्रभाव बढ्दै गएको छ- बाढी, आगलागी र खडेरीले नेपाललगायत विश्वभरका मानवको जीवन लिइरहेको छ र जीविकोपार्जनलाई नष्ट गरिरहेको छ, जुन मैले आज र हिजोको मेरा दुई भ्रमणहरूमा देख्न सक्छु।

यस दु:खद घडीमा लुम्बिनीको शान्त बगैँचाबाट संसारलाई मेरो सरल सन्देश छ:  मानवताको विकल्प छ, शान्तिको बाटो हामीले नै लिएका हौँ।

यो सधैँ सजिलो हुँदैन। चुनौतीहरू कहाँकहाँबाट देखिन सक्छन्। समस्याले भारी महसुस पनि होला।

तर भगवान् बुद्धको कलातीत उदाहरणद्वारा निर्देशित भएर म विश्वास गर्छु कि यो एक दर्शन हो। जसलाई हामीले कार्यमार्फत वास्तविक बनाउन सक्छौँ,
सबैको अधिकार र मर्यादाको रक्षा गर्ने कार्य; निको पार्ने कार्य, विभाजनहरू खाडल पुर्ने, विश्वास र समझदारी निर्माण गर्दै दिगो विकास लक्ष्यहरू वास्तविकता बनाउन आवश्यक छ। हामीले मूलत: सबैभन्दा कमजोरको फाइदाका लागि काम गर्नुपर्छ। र, हरितगृह ग्यासहरूको उत्सर्जन द्रुत रूपमा घटाएर र जैविक विविधता पुनर्स्थापना गरेर हामी बस्ने ग्रहमा हुने भयावह आक्रमण अन्त्य गर्नुपर्छ।

युगौँदेखि भगवान् बुद्धको करुणा, अहिंसा र अन्तरनिर्भरताको सन्देशले हामी सबैलाई आह्वान गर्दछ, र हामी सबैलाई प्रेरणा दिन्छ- हामीलाई हाम्रो साझा मानवता र सबै चिजहरूको सन्तुष्टिको सम्झना गराउँछ।

प्यारा साथीहरू,

शान्ति एक महान् दृष्टिभन्दा बढी छ, यो एक मासको चीत्कार हो र यो मैले आज गरेको सच्चा आग्रह हो।
यी पवित्र बगैंचाबाट, म विश्वलाई शान्तिको लागि सधैँ तत्पर हुन आह्वान गर्दछु।
र, म तपाईंलाई धन्यवाद दिन्छु।

प्रकाशित: १५ कार्तिक २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =