भैरहवा विमानस्थल सञ्चालन नभएपछि विमानको आकृति राखेर विरोध

हिमाल प्रेस ६ मंसिर २०८० ९:०५
10
SHARES
भैरहवा विमानस्थल सञ्चालन नभएपछि विमानको आकृति राखेर विरोध

लुम्बिनी- भैरहवामा हुन लागेको महोत्सवको प्रवेशद्वारमा हवाईजहाजको स्वरूप राखिएको छ। उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन नारासहित भैरहवामा बुधबार (आज) देखि छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० हुँदैछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि दबाब दिने उद्देश्यले महोत्सवको प्रवेशद्वारमा विमानको आकृति बनाएर राखिएको आयोजकले जनाएको छ।

उनीहरूका अनुसार लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै अर्बौँ रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल व्यवसाय धराशयी भएका बेला सरकारलाई दबाब दिने गरी विमानको आकृति र स्थल बनाएर विरोध देखाउन खोजिएको हो।

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मंसिर ६ देखि १८ गतेसम्म महोत्सव हुनेछ। संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भारतबाट कालिगढ ल्याएर करिब पाँच लाख रुपैयाँमा  विमानस्थलको स्वरूप निर्माण गरिएको बताए।

महोत्सवमा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र सीमा क्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्यसमेत मेलाले लिएको छ। मेला उद्घाटनअघि बुधबार बिहान जनचेतनामूलक र्‍याली निकालिनेछ। कार्यक्रम उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट हुनेछ।

तीन लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य छ। करिब एक करोड २० लाख खर्च हुने अनुमान रहेको महोत्सवमा ३५० स्टल राखिनेछन्। महोत्सवमा राष्ट्रिय, स्थानीय साथै भारतीय चर्चित भोजपुरी कलाकार पुनम पाण्डे, नेपालका उमेश पटेल लगायत कलाकारको प्रस्तुति रहनेछ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। अर्बौँ लगानीमा तयार भएको विमानस्थल सञ्चालन नहुँदा मुलुकले ठूलो घाटा व्यहोर्न लागेको भन्दै सञ्चालनका लागि दबाब दिइँदै आएको छ।

प्रकाशित: ६ मंसिर २०८० ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =