हाम्रो आन्दोलन प्रसाईविरुद्ध नभएर लोकतन्त्र जोगाउन हो : युवा संघ अध्यक्ष थेबे [अन्तर्वार्ता]

रमेश भारती ५ मंसिर २०८० १६:५३
174
SHARES
हाम्रो आन्दोलन प्रसाईविरुद्ध नभएर लोकतन्त्र जोगाउन हो : युवा संघ अध्यक्ष थेबे [अन्तर्वार्ता]

यतिबेला नेकपा एमाले र मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई बढी चर्चामा छन्। एमालेको भ्रातृ संगठन युवा संघ र प्रसाई समूहले मंसिर ७ मा एकै दिन राजधानीमा गर्न लागेको सरकारविरोधी प्रदर्शनबारे सर्वत्र चासोको देखिएको हो। प्रदर्शनमै केन्द्रित भएर नेकपा एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेत तथा प्रसाई एकअर्काविरुद्ध सार्वजनिक रूपमै विषवमन गरिरहेका छन्।

राज्यको ध्यान पनि जाजरकोट भूकम्पले नागरिकलाई दिएको पीडा र आर्थिक मन्दीको मारमा परेका नागरिकका समस्या सम्बोधनभन्दा एमालेसँगै प्रसाईको आन्दोलन व्यवस्थापनमा केन्द्रित छ। गृह प्रशासन यही विषयमा दिनहुँ बैठक र छलफलमा छ। यस्ता गतिविधिले नागरिकमा युवा संघ र प्रसाई समूहले किन एकै दिन कार्यक्रम राखे? के उनीहरूले राजधानीमा एकअर्काविरुद्ध प्रतिकार गर्न खोजेका हुन्? सिंगो पार्टी नै एकजना अभियन्ता/व्यसायीविरुद्ध किन उत्रँदैछ? जस्ता जिज्ञासा उत्पन्न भएका छन्। युवा संघको आन्दोलनको स्वरूप र उद्देश्यका विषयमा संघका अध्यक्ष क्षितिज थेबेसँग हिमाल प्रेसका रमेश भारतीले गरेको कुराकानी :

युवा संघको आन्दोलन किन?

नेपालमा अब राजतन्त्र र हिन्दू राज्य स्थापना हुने सम्भावना छैन। राजतन्त्र र हिन्दू राज्यको सपना बाँडेर जनता झुक्याउने काम भइरहेको छ। यस विषयमा सरकारले वास्ता नगरेपछि बाध्य भएर युवा संघ आन्दोलनमा उत्रिएको हो। कार्यक्रम मूलभूत रूपमा सरकारलाई सच्चिन दबाब दिने उद्देश्यले आयोजना गरिएको हो। तर सामाजिक सञ्जालमा दुष्प्रचार भइरहेको छ। त्यो  कार्यक्रमले धेरै अराजकतावादीको मुखुण्डो खुल्नेछ।

अहिलेको अवस्थामा आन्दोलन गर्नुपर्ने बाध्यता के आइलाग्यो?

सरकारले गरेका गलत क्रियाकलाप नङ्ग्याउने, उजागर गर्ने र सरकारलाई सच्याउने हाम्रो पहिलो प्राथमिकता हो। यदि सकिएन भने यो सरकार फेर्ने एमालेको दोस्रो प्राथमिकता छ। सरकार अहिलेका जल्दाबल्दा समस्या समाधान गर्न असक्षम देखियो। योभन्दा फरक ढंगले जाने हाम्रो उद्देश्य होइन।

सोसल मिडियामा केही अराजकतावादी र नियन्त्रित बौद्धिकता अपनाएर सोसल मिडियामा भाइरल हुने समूह राजतन्त्रको नारा लगाएर कमाइखाने काम गरिरहेका छन्। यो लोकतन्त्रका लागि ठूलो चुनौती हो। यस्ता समस्यामा सरकारले चुप बसेपछि युवा संघले नेतृत्व लिएको हो।

देशमा महँगी, भ्रष्टाचार, अनियमितता र तस्करी बढिरहेको छ। सहकारी क्षेत्रका सम बग्रेल्ती छन्।  वैदेशिक रोजगारीका समस्या उस्तै छ। औद्योगिक क्षेत्र नचल्ने अवस्थामा पुगेको छ। यस्ता विषयमा सरकारलाई केही चिन्ता छैन। हामीले विगतमा पनि सरकारविरोधी प्रदर्शन गरेकै हौँ। उदाहरणका लागि  सेयर मार्केटका समस्यासँगै आमजनताका समस्याबारे युवा संघले आवाज उठाउँदै आएको छ। अहिलेको आन्दोलन शक्ति प्रदर्शन पनि होइन। सरकारविरुद्ध सामान्य कार्यक्रम हो।

मंसिर ७ मै आन्दोलनका कार्यक्रम किन जुधाएको?  अघिपछि पनि गर्दा हुन्थ्यो नि?

युवा संघको कार्यक्रम मंसिर ७ मै तय भयो। हामीलाई प्रसाईको कार्यक्रम कहिले थियो भन्ने थाहा थिएन। फेरि प्रसाईको कार्यक्रमसँग युवा संघले किन आन्दोलन जुधाउनु र? यो त संयोग मात्र हो।

देश आर्थिक मन्दीसँगै भूकम्पको चेपटामा फसेको अवस्थामा युवा संघ ती सबै काम छाडेर एउटा व्यवसायीको पछि किन लागेको हो?

एमालेनिकट युवा संघ एउटा व्यक्तिसँग भिड्दैन। सामाजिक सञ्जालमा यसको जबरजस्त प्रचार भएको मात्र हो। गम्भीर कुरा के हो भने दुर्गा प्रसाईजस्ता कमजोर धरातल भएका व्यक्ति लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध राजतन्त्र ल्याउने ढंगले अघि बढे। उनीहरूलाई रवीन्द्र मिश्रजस्ता मान्छेले साथ दिइरहेका छन्। राप्रपाले पनि अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ। दुर्गा प्रसाईका नाममा अनेक खालका अराजक र आपराधिक गतिविधि भइरहेका छन्। यस्ता गतिविधि लोकतन्त्रका लागि चुनौती हुन्छ। त्यही भएर युवा संघले आन्दोलन गर्नुपरेको हो। युवा संघको उद्देश्य लोकतन्त्र जोगाउनका लागि हो, प्रसाईविरुद्ध होइन।

लोकतन्त्रमा कसरी प्रहार भइरहेको छ र?

पछिल्लो समय लोकतन्त्रमाथि प्रहार हुँदैछ। सिंगो कोशी प्रदेशलाई यसको इपिसेन्टरका रूपमा विकास गरिँदैछ। त्यही भएर त्यहाँ पहिचानका नाममा अराजकता देखिएको छ। पहिचानवादीका नाममा लोकतान्त्रिक शक्तिमा प्रहार भइरहे पनि सरकार मौन छ। कोशीमा सबैभन्दा बढी एमालेमाथि आक्रमण भइरहेको छ। यो विषयमा सरकार बेवास्ता गर्छ। हिन्दूवादीहरू देशविदेशबाट परिचालित भएर धार्मिक सहिष्णुता बिथोलेर सामाजिक सद्भाव भाँड्ने काम पनि भइरहेको छ।

प्रसाईसँग भिड्न त युवा संघले असोज २२ मा कालोमोसो छ्यापेर सुरु गरेको हो नि?

दुर्गा प्रसाईलाई हामीले नै कालोमोसो छ्यापेको भन्ने प्रमाण छैन। उनले विभिन्न समूहमाथि आक्रामक ढंगले बोल्दै हिँडेका कारण कसैले कालोमोसो छ्यापेको होला। तर प्रसाईकै समूहले झापामा भएको युवा संघको कार्यक्रममा पहिचानवादीका नाममा आक्रमण गर्‍यो। त्यसपछि युवा संघले प्रसाईविरुद्ध केही कार्यक्रम गर्‍यो।

एमाले र युवा संघले प्रसाईको घर घेर्नसमेत कार्यकर्ता पठाएको हैन?

एमालेले प्रसाईको घर घेर्न कार्यकर्ता पठाएको भन्ने झुटो आरोप हो। प्रसाईले चाहिँ केके गरे? त्यो विषयमा युवा संघले मंसिर ७ मा खण्डन गर्नेछ।

तपाईँलाई एमाले नेता महेश बस्नेतले प्रसाईविरुद्ध प्रयोग गरे भन्ने आरोप छ नि?

प्रसाईले एमाले अध्यक्ष केपी ओली र एमाले नेता महेश बस्नेतविरुद्ध जथाभाबी अभिव्यक्ति दिँदै हिँडेका छन्। उनले एमालेविरुद्ध निकै गिरेर बोले। सामाजिक सञ्जालमा त्यसको दुष्प्रसार भयो । त्यसको खण्डन पार्टीका अध्यक्षले नै गुर्नपर्‍यो। त्यो भन्दा अरु केही होइन। एमाले लोकतन्त्र मान्ने पार्टी हो। हामी एउटा व्यक्ति र समूहको पछि लागेर समय खेर फाल्दैनौँ। युवाको नेतृत्व गरेको मलाई कसरी पार्टीका नेताले प्रयोग गर्नुहुन्छ?

माइतीघरमा तपाईंहरूको प्रदर्शन रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गर्‍यो। त्यसपछि कार्यक्रम तीनकुनेमा सार्नुभयो। त्यहाँ पनि निषेधित क्षेत्र घोषणा भयो भने कार्यक्रम कहाँ गर्नुहुन्छ?

युवा संघ उपत्यकाभित्र जहाँ र जस्तो स्थानमा पनि कार्यक्रम गर्न तयार छ। हामीलाई सरकारले निषेध गरेर केही हुँदैन। लोकतन्त्रमा जनतालाई आफूले चाहेको बोल्न र सभा गर्न अधिकार छ। त्यो पनि संविधानको दायरामा बसेर। अहिले युवा संघले जनताका पक्षमा आन्दोलन गरेको हो। कुनै अपराध गरेको होइन।

‘भीड उचाल्ने’ प्रसाईसँग किन जुध्न खोज्दैछन् एमाले अध्यक्ष ओली?

प्रकाशित: ५ मंसिर २०८० १६:५३

प्रतिक्रिया

One thought on “हाम्रो आन्दोलन प्रसाईविरुद्ध नभएर लोकतन्त्र जोगाउन हो : युवा संघ अध्यक्ष थेबे [अन्तर्वार्ता]

  1. यो लोकतन्त्र भ्रष्ट, तस्कर, दलाल र अपराधीहरुका लागि मात्रै भयो । वास्तविक नागरिकले देश छोडिरहेका छन् । गाउँ वृद्धाश्रम बनिसक्यो, शहर बन्ने क्रममा छ । लोकतन्त्रका नाममा यो अवस्था सिर्जना गर्नेहरुलाई जिउँदै खाल्टोमा पुरे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =