‘भीड उचाल्ने’ प्रसाईसँग किन जुध्न खोज्दैछन् एमाले अध्यक्ष ओली?

हिमाल प्रेस ४ मंसिर २०८० १५:५३
468
SHARES
‘भीड उचाल्ने’ प्रसाईसँग किन जुध्न खोज्दैछन् एमाले अध्यक्ष ओली?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मुलुकको समसामयिक जल्दाबल्दा विषय लत्याउँदै एकजना व्यवसायीको विरुद्धमा केन्द्रित भएको छ। बढ्दो महँगी नियन्त्रण र भूकम्प पुनर्निर्माणमा भइरहेको ढिलाइमा सरकारमाथि दबाब दिनुको सट्टा एमाले संगठित रूपमै व्यवसायी दुर्गा प्रसाईसँग प्रतिवाद गर्ने रणनीतिमा लागेको हो।

प्रसाईले ७ मंसिरमा राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन्। प्रसाई नागरिक बचाउ महाअभियान लिएर प्रदर्शनमा उत्रन लागेका हुन्। सोही दिन एमाले भ्रातृ संगठन युवा संघ नेपालले पनि राजधानीमै कार्यक्रम राखेको छ।

प्रसाईको प्रदर्शन महँगी नियन्त्रण, बैंक ब्याज मिनाहालगायतका विषयमा केन्द्रित रहेको दाबी गरिएको छ। उनले एक वर्षयता बैंकहरूको चर्को ब्याज कम गर्न, मेडिकल शिक्षा सुधार, वैदेशिक रोजगारी, जनताले गरिखाने वातावरण बनाउन सरकारसँग माग गर्दै आएका छन्। यिनै माग पूरा गराउनका लागि सरकारमाथि दबाब दिन काठमाडौँमा जनप्रदर्शन गर्न लागिएको प्रसाई बताउँछन्।

एमालेको २३ वटा जनसंगठनका पदाधिकारी र सम्पर्क समन्वय समितिका सदस्यको विशेष भेलाले सबै शक्ति ७ मंसिरको प्रदर्शनमा केन्द्रित गर्ने घोषणा गरेको छ। त्यसमा  एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आड दिएका छन्। यद्यपि संघका नेताहरू प्रसाईको गतिविधि बिथोल्न कार्यक्रम आयोजना नगरिएको बताउँछन्। भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध जनप्रदर्शन गर्न लागिएको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

उनले यस्तो भने पनि अध्यक्ष ओली र नेता महेश बस्नेतको पछिल्ला अभिव्यक्ति प्रसाईविरुद्ध केन्द्रित छन्। अध्यक्ष ओलीले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै प्रसाईको गतिविधिमाथि प्रतिकार गर्न निर्देशन दिएका छन्। एमाले मुख्यालय च्यासलमा शनिबार भएको कार्यक्रममा ओलीले प्रसाईको नाम नलिई भने, ‘प्रतिक्रियावादीहरू कसैकसैलाई देखाएर देशभरबाट मान्छे ल्याएर प्रदर्शनका नाममा देखावटी गर्नतिर लागेका छन्। तयारी अवस्थामा रहनुहोला।’

अध्यक्ष ओलीले माइतीघरमा सरकारले कार्यक्रम गर्न नदिन सक्ने पनि बताएका छन्। उनले भनेका छन्, ‘७ मंसिरमा माइतीघर मण्डलामा कार्यक्रम राखिएको छ। कार्यक्रमस्थल परिवर्तन पनि हुन सक्छ। सरकारले निषेधित क्षेत्र बनाउन पनि सक्छ।’ सरकारले कुनै ठाउँ तोकिदियो भने त्यही स्थलमा केन्द्रित हुनुपर्ने ओलीले बताएका छन्। उनले भनेका छन्, ‘जुन रुट सरकारले भन्छ त्यो रुटमा हामी चल्न सक्छौँ।’

अध्यक्ष ओलीले मैदानमा नउत्रिने हो भने युवा संघको औचित्य नरहने बताएका छन्। उनले भनेका छन्, ‘जनवर्गीय संगठनका सदस्यहरू घरै बस्ने हो भने संगठन केका लागि? ७ मंसिरमा जसरी मैदानमा उत्रिनुपर्छ।’ अध्यक्ष ओलीले प्रदर्शनमा कसैप्रति जाइ नलाग्न र संयमित बन्न निर्देशन दिएका छन्। उनले भनेका छन्, ‘सकेसम्म राता टोपी र हरेकले झन्डा लिएर सहभागी हुनुहोला।’

प्रसाईले भने महाअभियानमा चामल र गुन्द्रुक लिएर काठमाडौँ आउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘एमाले मविरुद्ध लागेको छ। पार्टीले मंसिर ७ मा यसको मूल्य चुकाउनुपर्नेछ। शक्ति प्रदर्शन देखेर ओली ‘साइज’ मा आउने र अन्य नेताहरू झस्किनेछन्।’

प्रसाई पूर्वमाओवादी हुन्। माओवादीमा लागेका बेला उनलाई २०६० साल माघमा तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको थियो। शान्तिप्रक्रियापछि एमालेमा संलग्न भएका उनी अहिले राजावादी बनेका छन्। उनलाई गत फागुन १३ गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो।

प्रसाईमाथि भीड उचालेको आरोप लाग्दै आएको छ। सोही क्रममा उनले बैंक तथा वित्तीय संस्थाको ऋण तथा ब्याज नतिर्नका लागि अभियान चलाउँदै आएका छन्। उनले विगतमा चिकित्सा शिक्षालाई व्यापार बनाउन गरेको प्रयास विफल भएको थियो। यसै क्रममा उनले प्रचण्ड र ओलीलाई सँगै राखेर मार्सी चामलको भात खुवाएको विषय पनि चर्चामा रहँदै आएको छ।

एउटा व्यापारीले आयोजना गरेका कार्यक्रमको प्रतिकारमा पार्टी पंक्तिलाई परिचालन गर्ने ओलीको गतिविधिप्रति एमालेभित्रै असन्तुष्टि छ। प्रसाईविरुद्ध लाग्दा व्यक्तिमाथि राजनीति भएको आरोप लाग्ने भन्दै नेताहरू असन्तुष्ट बनेका हुन्। तत्काल पार्टी अध्यक्ष ओली र नेता बस्नेतको निर्णयविरुद्ध बोल्न सक्ने अवस्था नभएको एमालेका एक नेताले बताए। प्रसाईले भीड उचालेर अराजकता मात्रै देखाउन खाेजेकाले त्यसविरुद्ध पार्टी संगठन लाग्नुको औचित्य नभएको ती नेताको भनाइ छ। उनी भन्छन्, ‘महेश बस्नेतको योजनालाई ओलीले साथ दिएपछि यस्तो अवस्था आयो। यसले पार्टीलाई भविष्यमा समस्या ल्याउन सक्नेछ। भीड उचाल्नेको पछाडि पार्टी लाग्नु दु:खद हो।’

केही व्यापारी र नेताले गलत काम गरेकाले पनि प्रसाईको पछाडि भीड लागेको ती नेता बताउँछन्। प्रसाईले भाषण गर्ने ठाउँमा मानिसको भीड मात्रै लाग्दैन। उनले बोल्न थालेपछि हुटिङ सुरु हुन्छ। प्रसाई आफ्ना भाषणमा केही नेता र व्यापारीको नाम तोकेर तल्लो स्तरमा उत्रिँदै आएका छन्।

२०७५ सालयता ओली र प्रसाईबीच सम्बन्ध सुमधुर थियो। उनले ओलीको सचिवालय स्तरमै बसेर काम गरेका थिए। दुवै जना झापाकै हुन्। प्रसाईले ओलीलाई ‘हजुरबा’ भनेर सम्बोधन गर्दै आएका छन्। झापाका नरेश खरेलहरू केन्द्रीय सदस्यमा नअटाउँदा प्रसाईलाई ओलीले काखी च्यापेका थिए। ओलीका धेरै भित्री गतिविधिबारे प्रसाई जानकार रहेको एमाले नेताहरूको बुझाइ छ। त्यसैले पनि प्रसाईका गतिविधिलाई ओलीले बढी महत्त्व दिएको एमालेका ती नेता बताउँछन्।

२२ असोज जमलस्थित होटेल एलो प्यागोडामा प्रसाईलाई युवा संघले कालोमोसो छ्यापेका थिए। त्यसपछि प्रसाई ओली र बस्नेतविरुद्ध खनिन थालेका हुन्। असोज २५ मा झापा भएको युवा संघको कार्यक्रममा पहिचानविरोधीले केही गाडी तोडफोड गरेका थिए। उक्त कार्यक्रममा एमाले नेता बस्नेत पनि सहभागी थिए। युवा संघले उक्त तोडफोडमा प्रसाईका समर्थक सलंग्न रहेको आरोप लगाउँदै आएका छन्।

दसैँअघि प्रसाईले एक पत्रकार सम्मेलनमा कम्बोडियाको टेलिकममा एमाले अध्यक्ष ओलीको ३० अर्ब लगानी रहेको बताएका थिए। ओलीले भने सार्वजनिक रूपमै प्रसाईको अभिव्यक्तिको खण्डन गरेका थिए।

प्रसाई र युवा संघको पूर्वघोषित कार्यक्रम सरकारका लागि पनि टाउको दुखाइ बनेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ मा दुवै समूहलाई माइतीघरमा कार्यक्रम गर्न अनुमति नदिने भएको छ। शान्तिसुरक्षाको अवस्था दृष्टिगत गरेर दुवै पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्।

प्रशासनले एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम गर्न नदिने निर्णय गरेको हो। दुवै पक्षलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: ४ मंसिर २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =