दुर्गा प्रसाईका एजेन्डामा संवाद गर्न सरकारले बनायो सहसचिवको नेतृत्वमा वार्ता टोली

हिमाल प्रेस २ भदौ २०८३ ७:०० | Tuesday, August 18, 2026
8
SHARES
दुर्गा प्रसाईका एजेन्डामा संवाद गर्न सरकारले बनायो सहसचिवको नेतृत्वमा वार्ता टोली

काठमाडौँ- सरकारले दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले उठाएका मागका सम्बन्धमा छलफल गर्न वार्ता टोली गठन गरेको छ।

सोमबार दिनभर भएको छलफलपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले जानकारी दिए।

महाअभियानले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा विभिन्न माग पेस गरेको थियो। सोही मागका सम्बन्धमा वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न वार्ता टोली गठन गरिएको प्रवक्ता अर्यालले जानकारी दिए।

सरकारी वार्ता टोलीको सदस्यहरुमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी छन्।

यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानको मागका विषयमा सम्बद्ध पक्षसँग छलफल भएको थियो।

महाअभियानको मागबमोजिम सरकारको तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो।

सरकारले गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि प्राप्त भएको पत्रसमेत ग्रहण गरेका थिए। छलफलमा महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापाको उपस्थिति थियो।

प्रकाशित: २ भदौ २०८३ ७:०० | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast