बैटारीमा अकबरेको व्यावसायिक खेती

हिमाल प्रेस ५ मंसिर २०८० ८:२१
2
SHARE
बैटारीमा अकबरेको व्यावसायिक खेती

गोरखा- गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुवात गरिएको छ। स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेको हो।

अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए। वार्षिकरूपमा एक लाख ५० हजार रुपैयाँमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको उनको भनाइ छ।

यसका लागि उनले कालिका कृषक समूह फार्म दर्ता समेत गरेको छ। ‘अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएको छ, आफँैले नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ’, उनले भने।

करिब चार लाख रुपैयाँ लगानीमा सुरु गरेको अकबरे खुर्सानी खेतीबाट वार्षिक ३७ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान रहेको उनले बताए। ‘बेर्ना लगाएको पाँच महिनामा खुर्सानीको राम्रो उत्पादन सुरु हुन्छ’, उनले भने, ‘उत्पादन सुरु भएपछि एउटै बोटले तीन वर्ष राम्रोसँग उत्पादन दिन्छ।’ उनले चार जनालाई फार्ममा रोजगारीसमेत दिएको छ।

उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उनले बताए। ‘प्रतिकिलो बजारमा न्यूनतम दुई सय ५० रुपैयाँमा सजिलै बिक्री हुन्छ’, उनले भने, ‘रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ।’

किसान भट्टले आफूले उत्पादन गरेको खुर्सानी चितवनस्थित अचार उद्योगहरूमा धेरै बिक्री हुने बताए। त्यसबाहेक जिल्लाभित्रका गोरखा सदरमुकाम, काठमाडौँको कालिमाटी, तनहुँको खैरेनीटार, पोखरा,लगायतका क्षेत्रमा पनि बिक्री हुने गर्दछ।

उनले कृषि ज्ञान केन्द्र गोरखाबाट प्राविधिक ल्याएर माटो परीक्षण गरी उक्त ठाउँमा अकबरे खुर्सानीको खेती सुरु गरेको हो।

प्रकाशित: ५ मंसिर २०८० ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =