नेपाल ज्येष्ठ नागरिकको देश बन्ने खतरा : शेखर कोइराला

हिमाल प्रेस २ मंसिर २०८० २०:१८
6
SHARES
नेपाल ज्येष्ठ नागरिकको देश बन्ने खतरा : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा रहेको औँल्याएका छन्।

विराटनगरमा शनिबार पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’ लघुकथासंग्रहको विमोचन समारोहमा उनले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरूमात्रै रहने खतरा रहेको बताए।

‘युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढ्यौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,’ उनले भने, ‘राजनैतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ। स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ।’

पछिल्लो समय जनतामा चरम निराशा देखिएको उनले बताए। त्यही निराशाको परिणामस्वरुप युवाहरू विदेश पलायन भएको नेता कोइरालाको भनाइ थियो।

‘अलि हुनेखानेहरू अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन्। आर्थिक रूपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,’ उनले भने।

उर्बर जमिनहरू बाँझो हुँदै गएकोमा कोइरालाले चिन्ता व्यक्त गरे। कोइरालाले रेमिट्यान्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको जिकिर गरे। कोभिड–१९, रुस–युक्रेन युद्ध र इजरायल–हमासबीचको युद्धले रेमिट्यान्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको भनाइ थियो। कोइरालाले मुलुकको शिक्षा नीतिमा परिवर्तन जरुरी रहेको पनि बताए।

प्रकाशित: २ मंसिर २०८० २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =