देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबीच तादाम्य मिलेको छैन : शेखर कोइराला

हिमाल प्रेस ६ फागुन २०८० १६:०२
12
SHARES
देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबीच तादाम्य मिलेको छैन : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबीच तादाम्यता कायम हुन नसकेको बताएका छन्।

सोमबारदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति बीपी अध्ययन प्रतिष्ठानले गरेको चियापान कार्यक्रममा नेता कोइरालले संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली आपसमा नमिल्दो भएको बताएका हुन्।

‘एकातिर संसदीय प्रणाली छ, अर्कातिर बहुमतको सरकार बन्ने स्थिति नै छैन,’ आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘कतै हाम्रो निर्वाचन प्रणालीमै समस्या त होइन ? कांग्रेसले अब पहल गर्नुपर्छ। सबै दलसँग बसेर छलफल गर्नुपर्‍यो। निर्वाचन प्रणाली बदल्नुपर्छ।’

उनले संसदीय प्रणाली भनेकै बहुमतले शासन गर्ने भएको उल्लेख गरे। कुनै पनि दलको बहुमत आउने अवस्था नहुँदा कांग्रेसले आफ्नो मौलिकता नै गुमाउने अवस्था देखिएको उनको भनाइ छ।

उनले अहिले महासमिति बैठकमा प्रस्तुत गरिने कतिपय प्रस्तावमा समेत गठबन्धनको छाया परेको बताए।

नेता कोइरालाले महासमिति बैठकबाट कांग्रेसको मौलिकता जोगाउन सक्नुपर्ने बताए। कांग्रेसले आफ्नो मौलिकता गुमाउँदा विगत निर्वाचनमा सात प्रतिशतभन्दा बढी मत गुमेको भन्दै उनले महासमिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।

‘कांग्रेसको मौलिकतामा आँच नआउने गरी महासमितिका प्रस्तावहरू परिमार्जन गरिनुपर्छ। गत निर्वाचनमा कांग्रेसको सात प्रतिशतभन्दा बढी मत गुम्यो,’ कोइरालाले भने, ‘यसको कारणबारे महासमितिमा छलफल गर्नुपर्‍यो।’

महासमिति बैठकमा प्रस्तुत गरिने प्रस्तावहरू समेत आपसमा विवादित देखिएको भन्दै उनले समन्वयमा प्रतिवेदन तयार नपारिएको सुनाए। आर्थिक सूचकांक देखाएर प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार भएको दाबी गरे पनि जनताले त्यस्तो महसुस गर्न नपाएको उनको भनाइ थियो।

प्रकाशित: ६ फागुन २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =