उद्धार गर्न माग गर्दै विपीनका आमाबुवाले भेटे परराष्ट्रमन्त्री

हिमाल प्रेस २ मंसिर २०८० १५:११
8
SHARES
उद्धार गर्न माग गर्दै विपीनका आमाबुवाले भेटे परराष्ट्रमन्त्री

महेन्द्रनगर- विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपीन जोशीलाई छुटाउन आवश्यक पहल गर्न उनका आमाबुवाले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेका छन्।

विपीनलाई छुटाउनका लागि आवश्यक पहल गरिदिन उनका आमाबुवाले परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएका हुन्। सो क्रममा मन्त्री साउदले विपीनको रिहाइका लागि सरकार गम्भीरतापूर्वक लागेको बताए।

शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरिएको बताए।

‘जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ,’ मन्त्री साउदले भने, ‘सुरक्षामा गम्भीर रूपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ।’

साथै कूटनीतिक रूपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको उनको भनाइ छ। ‘बन्धक रहेका जोशीलाई छुटाउन आज बिहानमात्रै कतारका राजदूतसित छलफल भएको छ, मन्त्री साउदले भने, ‘हमासको आक्रमणबाट सुदूरपश्चिमले बढी क्षति ब्यहोरेको अवस्था छ।’

कूटनीतिक पहल गरेर छुटाउने प्रक्रियामा रहेको बताउँदै उनले विश्वस्त रहन सबैलाई आग्रहसमेत गरे। मन्त्री साउदसँग शनिबार बिहान जोशीका बुबाआमा र दाजुले भेट गरेका थिए। रासस

प्रकाशित: २ मंसिर २०८० १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =