‘विश्वकपमा बाबरले गल्ती गर्नु अपराध होइन’

हिमाल प्रेस २६ कार्तिक २०८० १९:१३
24
SHARES
‘विश्वकपमा बाबरले गल्ती गर्नु अपराध होइन’

काठमाडौँ- विश्वकप समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तान ९३ रनले पराजित भयो। शनिबारको यो हारसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भयो। समूह चरणबाटै घर फर्कंनु पर्ने भएपछि कप्तान बाबर आजम निराश हुने भइहाले। उनको आलोचना पनि त्यत्तिकै भइरहेको छ।

सन् १९९२ को विजेता पाकिस्तान लगातार दोस्रो पटक सेमिफाइनल पुग्नबाट वञ्चित भएको हो। जबकि पाकिस्तानको प्रतिद्वन्द्वी भारत भने लगातार आठ जित हात पारेर अन्तिम चारमा पुगिसक्यो। आफ्नै भूमिमा जारी विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो टिम नै भारत थियो।

यसपालिको विश्वकपमा हालसम्मको प्रदर्शन हेर्दा भारत सर्वाधिक बलियो टिम हो। यो टिमसँग पाकिस्तान सजिलै पराजित भयो। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा पाकिस्तान सात विकेटले हारेको थियो। विश्वकपमा पाकिस्तानले भारतलाई अहिलेसम्म हराउन सकेको छैन। यी दुईबीच भएका आठ खेलमध्ये सबैमा भारत नै विजयी भएको छ।

अहिलेसम्मको तथ्यांक जे जे भए पनि भारतसँगको हार पाकिस्तानका लागि कहिल्यै पाच्य हुँदैन। तर यसपल्ट पाकिस्तानका लागि सबैभन्दा लज्जास्पद हार अर्को थियो, अफगानिस्तानविरुद्ध। एकदिवसीय क्रिकेटमा पाकिस्तान अफगानिस्तानसँग पहिलो पटक हारेको हो।

कप्तान आजममाथि पाकिस्तानले ठूलो अपेक्षा गरेको थियो। एकदिवसीय वरीयताको शीर्ष स्थानहरूमा रहँदै आएका आजममाथि अपेक्षा गरिनु गलत थिएन। अहिले पनि उनी वरीयताको दोस्रो स्थानमा छन्।

विश्वकपमा आजमले कुल ३२० रन बनाए। जसमा पाँच अर्धशतक सम्मिलित छन्। उनले बनाएको रनको औसत हो, ४०। अन्तर्राष्ट्रिय क्रिकेटमा झन्डै १३ हजार रन बनाएका उनले यो विश्वकपमा आफ्नो स्तरको ब्याटिङ गरे? यो बहसको विषय हो।

हाल उनको ब्याटिङभन्दा कप्तानीमाथि प्रश्न उठिरहेको छ। विशेषगरी फिल्डिङमा पाकिस्तान नराम्रोसँग चुकेको र यसको कारण आजमले गर्ने निर्णय रहको आरोप लागिरहेको छ।

हालका दिनमा पाकिस्तानी सञ्चारमाध्यमहरूमा पाकिस्तानी टिम र प्रदर्शनको स्वाभाविक आलोचना भइरहेको छ। त्यहाँ के पनि भनिँदैछ भने, टिम छनोट गर्दा आजम पूर्वाग्रह राख्छन्। आफ्ना नजिकका साथीहरूलाई टिममा मौका दिन्छन्।

आजमका विषयमा पक्ष र विपक्षमा बहस भइरहेको छ। उनको बचाउ र आलोचना गर्नेको संख्या लगभग उत्तिकै छ। आजमको पक्षमा पाकिस्तानी क्रिकेटका निर्देशक मिकी आर्थर पनि छन्। ‘म बाबरको पक्षमा छु। उनी र मबीच सम्बन्ध राम्रो छ। हामीले के भुल्नु हुँदैन भने बाबर कलिलै छन्। उनले लामो यत्रा तय गर्न बाँकी छ। पाकिस्तानी क्रिकेटको यात्रामा उनी छुट्नु हुँदैन,’ आर्थरले भनेका छन्।

आजम सन् २०२० मा पाकिस्तानको टेस्ट र एकदिवसीय कप्तान बनेका थिए। ‘उनी सिकिरहेका छन्। ब्याट्सम्यानका रुपमा उनी उम्दा छन्। कप्तानीको सिकाइ जारी छ। सिकाइका लागि पर्याप्त समय दिइनु पर्छ,’ आर्थर भन्छन्, ‘सिकाइको चरणमा गल्ती हुन्छन्। उनलाई गल्ती गर्न पनि दिनुपर्छ। गल्ती गर्नु अपराध होइन, यदि गल्तीबाट सिकिन्छ भने।’

पाकिस्तानले यसपल्टको विश्वकपमा लगभग समर्थकबिना खेल्यो। पाकिस्तानलाई समर्थन गर्न थोरै समर्थक मात्र भारत पुग्नसके। ती समर्थक पाकिस्तानी मूलका विदेशी थिए। पाकिस्तानबाट भारत जान चाहनेले भिसा नै पाएनन्।

क्रिकेट खेल्न पाकिस्तान सात वर्षपछि भारत गएको हो। खेल र अभ्यासबाहेकको समयमा पाकिस्तानी खेलाडीको होटलमै सीमित भए। होटल बाहिर निस्किहाले उनीहरुसँग ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी हुन्थे। यो परिस्थिति कोभिड महामारीका बेला खेल्दाको जस्तै रहेको आर्थरको भनाइ छ।

पाकिस्तानी क्रिकेट संघ (पीसीबी) का पूर्वअध्यक्ष रमिज राजा आजमका विषयमा चिन्ता व्यक्त गर्छन्। पाकिस्तानी क्रिकेटमा लगातार लडाइँ चलिरहेको र यसको पहिलो पीडित आजम हुनसक्ने उनको शंका छ।

‘उनीमाथि अत्यधिक दबाब छ। यसकारण उनले जिम्मेवारी त्याग्न सक्छन्। विश्वकपको प्रदर्शनलाई लिएर पाकिस्तानमा आक्रोश छ। सञ्चारमाध्यमहरुले पनि केही खेलाडीको चर्को आलोचना गरिरहेका छन्। त्यसरी आलोचित हुने खेलाडीमध्ये अग्रपंक्तिमा बाबर छन्,’ राजाले बीबीसीसँग भनेका छन्।

‘विश्वकपमा खराब प्रदर्शन भएपछि आलोचना भइहाल्छ। यो स्वाभाविक हो। सत्य यो पनि हो, पाकिस्तानी टिम आधुनिक क्रिकेट खेल्न सक्षम छ। तर भारतमा यो टिमले खुलेर खेल्न सकेन,’ राजाले थपे।

प्रकाशित: २६ कार्तिक २०८० १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =