कोहलपुरमा आधुनिक बसपार्क सञ्चालन

हिमाल प्रेस २५ कार्तिक २०८० २०:२०
18
SHARES
कोहलपुरमा आधुनिक बसपार्क सञ्चालन

राँझा (बाँके)- बाँकेको कोहलपुरमा पुग्ने हरेक यात्री अत्याधुनिक बसपार्क देखेर मक्ख पर्छन्। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे अनि साँघुरो बसबिसौनीबाट हैरानी बेहोर्दै आएका यात्री हिजोआज यसको फेरिएको संरचनाका कारण मक्ख परेका हुन्।

अहिले कोहलपुरको पहिचान नै बनेको छ नयाँ बसबिसौनी। यसको समग्र व्यवस्थापनको जिम्मा लिएको बागीश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्य पूर्वपश्चिम राजमार्गको छेउमै देखिने सेतो भवन र आसपासमा बनेका चिटिक्क परेका अन्य संरचनाले यात्रीको ध्यान खिच्ने गरेको बताउँछन्।

कोहलपुर चौराहमा फलफूलको व्यापार गर्दै आएका खड्कबहादुर थापा भन्छन्, ‘पहिलापहिला यहाँ आउने हरेक मान्छेले के बन्न लागेको भनेर सोधेर हैरान पार्थे। आजभोलि धेरै उतै जान्छन्, फोटो खिचाउँछन्, फलफूल किन्न आउने मान्छेको नजर त्यता जान्छ कति राम्रो बसपार्क भन्छन्।’ नयाँ बसबिसौनी आकर्षणको केन्द्र बनेको उनको भनाइ छ।

पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्गको मिलनबिन्दु कोहलपुर चौराह नजिकै पाँच बिघा १६ कठ्ठा जमिनमा अत्याधुनिक बसपार्क निर्माण भएको छ। यो बसपार्क नेपालभरिमै आधुनिक हुनुका साथै यात्रु र यातायात व्यवसायीका लागि सबै प्रकारका सुविधा उपलब्ध रहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास प्रमुख इञ्जिनियर बालकृष्ण महताराले बताए।

इञ्जिनियर महताराका अनुसार बस चल्ने दूरीका हिसाबले बसपार्कलाई तीन भागमा विभाजन गरेर पार्किङको व्यवस्था गरिएको छ। बाहिर निस्कन बेग्लै ढोका छन्। बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि सटर राखिएका छन्। उत्तरतर्फ भण्डारणसहितका २९ वटा ठूला सटर छन्। दक्षिणतर्फ भण्डारणबिनाका ३० वटा सटर छन्।

बसपार्कभित्रै निर्माण गरिएका ५९ वटै सटरमा व्यवसाय सञ्चालन भइसकेको छ। व्यापारिक भवनसँगै जोडिएका १० कोठामा २० वटा टिकट काउन्टर छन्। सुरक्षाकर्मीका लागि पनि भवन बनेको छ।

बसपार्कभित्र विद्युतीय गाडी प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु एक करोडको लागतमा नेपाल विद्युत् प्राधिकरणले दुई वटा चार्जिङ स्टेशन पनि बनाएको छ। यहाँ मेडिकल काउन्टर पनि बनाइएको छ।

टर्मिनल भवनमा यात्रु प्रतिक्षालय छ, स्तनपान कक्ष पनि अलग्गै छ। बसपार्कका शौचालय सुविधायुक्त छन्। बसपार्कभित्र जहाँसुकै धूमपान गर्न पाइँदैन। निर्धारित ठाउँमात्र त्यसो गर्न पाइन्छ। यहाँ तीन थान हाइमास्ट लाइट राखिएका कारण राति पनि झलमल्ल हुने गरेको छ।

बसपार्कमा एकपटकमा लामो र मध्यम दूरीका कम्तीमा ५० वटा ठूला तथा छोटो दूरीका कम्तीमा २० वटा बस अटाउने क्षमता छ। भदौ १ गतेदेखि यो बसपार्कबाट लामो दूरीका बस र छोटो दूरीका बस सञ्चालनमा भएका छन्। टिकट काट्ने र यात्रुलाई सहजताका लागि सबै सुविधाको व्यवस्थापन गरेर बसपार्कभित्र ठूला तथा साना बस छुट्ने र पार्किङ गर्ने स्थान फरकफरक व्यवस्था गरिएको छ।

बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ नगरपालिकालाई तिर्ने गरी बागीश्वरी यातायात व्यवसायी प्रालिले सम्झौता गरेको छ। नेपालकै अत्याधुनिक दाबी गरिएको यो बसपार्क ३० करोड ६२ लाख सात हजार सात सयको लागतमा निर्माण गरिएको हो। रासस

प्रकाशित: २५ कार्तिक २०८० २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =